२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बजेटका प्राथमिकता प्रस्तुत

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आव ०७६/७७ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

उनले स्वरोजगार सिर्जना, कृषिमा आत्मनिर्भर बनाउने योजनालाई पनि प्राथमिकता दिइने जनाए ।


नीति तथा प्राथमिकता समेटिएको विनियोजन विधेयक २०७६ प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी बजेटमा यातायात, खानेपानी र विद्युतीकरणलगायत आधारभुत विकासको पहुँचलाई प्राथमिकता दिने बताइएको छ ।


उच्च शिक्षा, स्वास्थ्य, मानव विकासलगायत सूचाकंमा पछाडी परेका बाजुरा, बझाङ, दार्चुला र अछामलाई प्राथमिकतामा राख्ने मन्त्री बोहराले उल्लेख गरेका छन् । यी जिल्लाहरूमा रहेका छाउपडी प्रथा, जातीय छुवाछुतगायत सामाजिक कुरीतिहरूविरुद्ध आवश्यक अभियान सञ्चालन गरिने विधेयकको प्राथमिकतामा उल्लेख गरिएको छ ।


गरिबीको रेखामुनि रहेका नागरिकहरू तथा गरिब घरपरिवार पहिचान गरी गरिबीसँग सम्बन्धित साना तथा कार्यक्रमहरू ल्याइने निती लिइएको छ । प्रदेशको तथ्यांकलाई अद्यावधिक गरी उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रदेश सरकारले प्रस्तुत गरेको नीतिमा उल्लेख छ ।


यसअघि संचालित गरिबी निवारणसंग सम्बन्धित कार्याहरूको पूरक कार्यक्रमहरूसमेत आगामी वर्षको बजेटमा समेट्ने मन्त्री बोहराले बताए । प्रदेश सरकारको अधिकार क्षेत्रमा रहेका सडक संजालको आवश्यकता पहिचान गरी आवश्यक मर्मत सम्भार, नयाँ लोकमार्गहरूको निर्माण योजनामा आगामी बजेटमा समेटिने उल्लेख छ ।


वैकल्पिक ऊर्जा र लघु जलविद्यत्का कार्यक्रममार्फत ग्रामीण विधुतिकरण गर्ने नीति अवलम्बन गरिने विधेयकमा उल्लेख छ । स्वच्छ खानेपानी तथा सरसफाईको सुविधा उपलब्ध गराउने कार्यक्रम तथा योजनाहरू आगामी बजेटमा समेटिने उल्लेख गरिएको छ । प्रदेशका सबै जिल्लाको सन्‍तुलित विकास गर्ने नीति अवलम्बन गरिने सरकारको तयारी छ ।


सबै स्थानीय तहमा बैंक तथा बीमा कम्पनीको शाखा स्थापना गरी वित्तिय पहुँच तथा वित्तिय सचेतना बढाउने नीति अवलम्बन गरिने मन्त्री बोहराले प्रस्तुत गरेको विनियोजन विधेयकमा उल्ल्खे छ । विधेयकमाथि आउदो सोमबारदेखि छलफल हुने भएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?