मुक्त हलिया वन उपभोगबाट वञ्चित

कान्तिपुर संवाददाता

कञ्चनपुर — बेदकोट नगरपालिका ८ को गणेश सामुदायिक वन छेवैमा घर भएकी लक्ष्मी विक मुक्त हलिया हुन् । वनछेवैमा बसोवास भए पनि उनको परिवार त्यहाँको काठदाउरा र अन्य स्रोतको प्रयोग गर्न भने पाउदैन । वन उपभोक्ता सदस्य हुन नसकेकै कारण उनलाई उक्त सुविधाबाट वञ्चित गरिएको छ । 

भीमदत्त नगरपालिका १ बारकुण्डाको मुक्त हलिाय बस्ती । तस्बिर : कान्तिपुर

उपभोक्ता सदस्य हुन लाग्ने चर्काे शुल्क तिर्न नसक्दा लक्ष्मीले सामुदायिक वनको सदस्यता पाउन सकिनन् । उनीसँगै यहाँ बसोवास गर्ने अन्य परिवारले पनि सामुदायिक वनको सदस्यता पाएका छैनन् । 'सामुदायिक वनमा उपभोक्ता हुन ५ हजार शुल्क तोकिएको छ । हामी मुक्त हलिया परिवारले त्यत्रो शुल्क कहाँबाट तिर्न सक्छांै,' लक्ष्मीले भनिन्, 'अरुले सजिलै सदस्यता पाउँछन् ।'

मुक्त हलियाका अगुवा कालुराम भुलकाअनुसार ब्रह्मदेवमा १ सय २५ परिवार मुक्त हलियाको बसोबास छ । सबैको बसोबास सामुदायिक वन छेउमै भएपनि एक/दुई जनाले मात्रै सदस्यता पाएका छन् । जनचेतनाको कमी, चर्काे शुल्क र सदस्यता दिँदा जग्गाधनी पुर्जाको प्रतिलिपी आवश्यक पर्ने हुँदा उनीहरूलाई सदस्यता लिन समस्या भएको हो ।
लामो समयदेखि उपभोक्ता रहेका स्थानीयले मुक्त हलियालाई सहजै सदस्यता दिनु हुदैन भन्ने मानसिकता राखेकोले यो समस्या आएको पीडित परिवारहरू बताउँछन् । 'मुक्त हलियालाई सजिलै सदस्यता दिनु हुँदैन भन्ने मानसिकता देखिएको छ,' कालुरामले भने, 'केहि सामुदायिक वनले श्रमदान गराएर पनि सदस्यता दिने तयारी गरेका छन् ।' यतिबेला मुक्त हलिया पुनः स्थापना कार्यक्रमअन्तर्गत मुक्त उनीहरूका घरहरू निमर्ाणाधीन अवस्थामा छन् । घर निर्माणका क्रममा काठ आवश्यक पर्ने हुँदा पनि उनीहरूलाई सामुदायिक वनमा सदस्यताको आवश्यकता देखिएको हो ।

मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार जिल्लाको बेदकोट र भीमदत्त नगरपालिकामा मात्रै चुरे फेदीका सामुदायिक वन छेउमा बसोबास गर्ने ४ सय १८ मुक्त हलियामध्ये १३ जनाले मात्रै सामुदायिक वनको सदस्यता पाएका छन् । केही सामुदायिक वनले सदस्यता दिने तयारी गरे पनि हालसम्म दिएका छैनन् । 'चर्काे शुल्क तिर्न नसकेर नै हलिया परिवार सदस्यताबाट वञ्चित भएका हुन्,' अध्यक्ष लुहारले भने, 'गरिब, विपन्न र दलित समुदायलाई कम शुल्क लिएर पनि सदस्यता दिने व्यवस्था हुनुपर्छ ।'

चुरे फेदीका प्रायः सामुदायिक वनमा सालको काठ पर्याप्त मात्रामा हुन्छ । पुराना उपभोक्ताले उक्त काठ कम पाइने भन्दै नयाँलाई सदस्यता दिन सिन्डिकेट लगाउने गरेका छन् । उनीहरूले यही कारणले चर्काे शुल्कसमेत लगाउने गरेको पाइन्छ । जहाँ सालको वन हुँदैन, उक्त वनमा समस्यता लिने पनि न्यून हुन्छन् ।

सदस्यता दिन पनि कुनै कडाइ गरिएको हुँदैन । 'सालको काठका लागि समेत सदस्यता लिन खोज्ने धेरै हुन्छन् तर वन संरक्षणमा कसैको चासो हुँदैन,' वैजनाथ सामुदायिक वन ब्रह्मदेवका अध्यक्ष किसन नाथले भने, 'अहिले चुरेसँग सामुदायिक वनमा पनि डढेलो लागेको छ, तर निभाउन जान कोही तयार हुँदैनन् । सुरक्षाकर्मीको सहयोग माग्नुपर्ने अवस्था छ ।' उनले वन संरक्षणसँगै त्यहाँबाट उत्पादन हुने स्रोत उपयोगमा सबैको चासो हुनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मास्क लगाएर मर्निङ वाक

सडक सास्ती
कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — वीरेन्द्रनगरका औषधि व्यवसायी प्रेम भण्डारी प्रत्येक दिन मर्निङ वाक गर्न सडकमा निस्कन्छन् । शरीर फुर्तिलोसँगै स्वस्थ राख्ने उद्देश्यले हिँडे पनि सडकको धुलो र फोहोरले थप अस्वस्थ भइन्छ कि भन्ने चिन्ताले उनलाई सताउँछ ।

प्रदूषित सडकका कारण मास्क लगाएर मर्निङ वाक गर्दै सुर्खेतका एक स्थानीय । यहाँका स्थानीयलाई धुलाम्मे सडक र बिहानैदेखि चल्ने सवारीसाधनले गर्दा सहज ढंगले मर्निङ वाकसमेत गर्न सकस छ ।तस्बिर : कलेन्द्र/कान्तिपुर

'बिहानैदेखि बाटोमा धुलो धुुवाँ हुन्छ, स्वच्छ हावा लिन पाइँदैन,' उनी भन्छन्, 'स्वच्छ वातावरणमा हिँडौ भने त्यस्तो क्षेत्र कतै छैन, जता पनि दुर्गन्ध मात्रै छ ।' मर्निङ वाक गर्नका लागि छुट्टै पैदल मार्गको व्यवस्था भए सहज हुने भण्डारी बताउँछन् ।

सहारा क्याम्पसमा अध्ययनरत ओमकान्त तिवारी पनि बिहान क्याम्पस जाँदा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता सुनाउँछन् । सडकमा बिहानैदेखि गुड्ने गाडीका धुवाँ र धुलाम्मे सडकका कारण हिँड्नै सकस हुने गरेको उनको गुनासो छ । 'बिहान प|mेस भएर क्याम्पस हिँडिन्छ,'उनी भन्छन्, 'बाटोभरि धुलो धुवाँले ड्रेस त फोहोर गराउँछ नै, त्यसैमाथि सफा हावाको सट्टा गाडीको धुवाँ खाँदै हिँड्नुपर्छ ।'

वीरेन्द्रनगरको कुनै पनि क्षेत्रमा मर्निङ वाक गर्नका लागि उपयुक्त वातावरण नभएको खेलाडी प्रमोद हमालको भनाइ छ । यहाँको वातावरण स्वस्थ नभएकै कारण उनले मर्निङ वाक गर्न पनि छाडे । 'बाटोभरि ढुंगा, गिट्टी, बालुवा थुपारिएको छ,' उनले भने, 'हिँड्नका लागि हरियो दुबो भएको क्षेत्र हुनुपर्छ, यहाँ त बिहानै पनि मास्क लगाएर हिँड्नुपर्ने बाध्यता छ ।' मर्निङ वाक गर्दा ढुंगा, गिटी, बालुवा थुपारिएको क्षेत्र धेरै भएकाले यसले हाडजोर्नीको थप समस्या उत्पन्न गराउने उनले बताए ।

बिहान स्वच्छ हावामा शारीरिक र मानसिक रुपमा नै स्वस्थ हुनका लागि अधिकांश नागरिक मर्निङ वाक गर्ने गर्दछन् । तर, बिहानको समयमा समेत स्वच्छ वातावरणमा नागरिक यात्रा गर्न पाएका छैनन् । वीरेन्द्रनगरमा स्वस्थ वातावरणको अभाव हुन थालेको स्थानीयको गुनासो छ । बढ्दाे सहरीकरणसँगै प्रदुषित हुँदै गएको वातावरणले नागरिकको स्वास्थ्यमा थप असर पारेको छ, जसले गर्दा विभिन्न रोगको संक्रमण देखा पर्नेसमेत जोखिम बढेको छ ।

नगरभित्रका अव्यवस्थित सडकका कारण मर्निङ वाक गर्नमात्र होइन पैदल सवारी साधन चलाउनेले पनि सास्ती खेपिरहनुपरेको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सर्वसाधारण आजित छन् । नगरभित्रका विभिन्न सडकहरू अहिले हतारहतारमा टालटुल गर्न थालेको देखेर वीरेन्द्रनगरका उमेश गुरुङ असारे विकासको चिन्ता सुनाउँछन् ।

'हरेक वर्ष यही विकास देख्न पाइन्छ,' उनी भन्छन्, 'अलि-अलि टालेर काम गरेजस्तो गर्छन्, फेरि केही महिनामा सडकको हालत उस्तै हुन्छ ।' जति सडक टाले पनि कच्ची सडकमै हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । पक्की सडकमा खाल्डै खाल्डा भएकोले उफार्दै बाइक चलाउनुभन्दा कच्चीमै ठिक हुने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले मर्निङ तथा इभिनिङ वाक गर्नका लागि खुला पार्कको व्यवस्था गरिने जनाएको छ ।

–चाँदनी कठायत

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT