१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जस्तामुनि बालबालिका

भवानी भट्ट

कञ्चनपुर — जस्ताको छानो । तीनतिर जस्ताकै बार । बाहिर पोल्ने घाम, भित्र हपहपी गर्मी । त्यही छानोभित्र लहरै मिलाएर राखिएका बेन्चहरूमा शिशुदेखि ३ कक्षासम्मका बालबालिका बसेका छन् । उनीहरू पसिना पुछ्दै कोही लेखिरहेका छन् त कोही एकआपसमा खेलिरहेका छन् । गर्मी थेग्न नसकेर बालबालिका बिहानै सुस्ताइरहेका हुन्छन् । 

जस्तामुनि बालबालिका

महाकाली किनारमै रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित जनता आधारभूत विद्यालयको अवस्था हो यो । विद्यालयको पुरानो भवन महाकाली नदीमा निर्मित पुल आयोजनामा परेपछि भत्काएर नयाँ बनाउन लागिएको छ । तत्कालका लागि अस्थायी रूपमा उक्त जस्ताको छाप्रो निर्माण गरी पठनपाठनको काम चलिरहेको हो ।


'दिउँसोको समयमा त जस्ता तातेर असाध्यै गर्मी हुन्छ, बालबालिकामा पढ्ने जाँगरै हराउँछ, त्यही भएर अलि चाँडै बिदा गर्छौं,' विद्यालयका प्रधानाध्यापक उर्वादत्त मिश्राले भने, 'पुरानो भवनमा पनि जस्ताकै छानो थियो, त्यसमा पनि गर्मी निकै बढी हुन्थ्यो ।' महाकाली पुल आयोजनाबाट प्राप्त मुआब्जाले अर्काे भवन निर्माण भइरहेको उनले बताए । उक्त भवनमा जस्ताको छानो नहाली ढलान गर्ने योजना रहेको उनले सुनाए ।


जब ९/१० बज्छ गर्मी चढ्दै जान्छ । बालबालिका मात्रै होइनन्, शिक्षकशिक्षिकाहरूलाई पनि भित्र कसरी बस्ने भन्ने चिन्ताले सताउन थाल्छ । महाकाली किनारबाट तातो हावा र बालुवा उडेर आउँदा त सबै कक्षाकोठाभित्रै पस्छ । जस्ताले बनाएको छानो तातेर भित्र त के नजिकसमेत बस्न सकिने अवस्था हुँदैन । शिशु कक्षाका बालबालिकालाई पनि यही ठाउँमा राखेर पढाइ चलिरहेको छ ।


महाकाली किनारको जनता आधारभूत विद्यालयमा मात्रै यो समस्या छैन । जिल्लाका प्रायः सबै विद्यालयमा यतिबेला गर्मीका कारण कक्षाकोठाभित्र पसी नसक्नु समस्या भएको विद्यार्थी र शिक्षकहरू बताउँछन् । सामुदायिक र निजी सबै विद्यालयमा जस्ताकै छानो भएका कक्षाकोठा हुंँदा निकै समस्या भएको छ । 'कक्षाकोठाभित्र पस्नै डर लाग्छ, १० बजेपछि त जस्ता तातेर राप आउँछ,' बेलौरी नगरपालिका १० भुडाको भगवानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानु आग्रीले भने, 'बालबालिका पनि गर्मीले कक्षाकोठामै पढाउदा पढाउँदै निदाउने र पढाइमा जाँगर नलाग्ने समस्या देखिन्छ ।'


उनका अनुसार प्रायः जस्ताको छानो भएका कोठामा तल्लो कक्षाका बालबालिकालाई बसाउने गरिन्छ । प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमले बालबालिकालाई लक्षित गरेर शैक्षिक सामग्रीहरू जस्ताकै छानो भएका कक्षाकोठामा राखेकाले उनीहरू बढी प्रभावित हुने गरेको उनले बताए ।


जलवायु परिवर्तनको असरले वर्षेनी गर्मी बढ्ने क्रममा छ । पश्चिम तराईको कैलाली र कञ्चनपुरमा अधिकतम तापक्रम वैशाख मध्यमै ४२/४३ डिग्री सेल्सियस पुग्न थालेको छ । गत वर्ष जेठ मध्यमा भएको गर्मी यस वर्ष एक महिनाअघि वैशाखमै भएको छ । यस्तो गर्मीमा जस्ताका छानामुनि बालबालिका राखेर पढाउन नसकिने अवस्था आएको शिक्षकहरू बताउँछन् ।


'अब यसको विकल्प खोज्नुपर्छ, विद्यालयमा मौसमअनुसार गर्मी र चिसो नहुने खालका निमर्ाण सामग्रीको प्रयोग गरिनुपर्छ,' भगवानपुर माविका प्रअ आग्रीले भने, 'वैशाख जेठमा त कक्षाकोठामा पस्न साह्रै समस्या हुन थाल्यो ।'कञ्चनपुरमा २ सय ६१ सामुदायिक विद्यालय छन् । त्यतिकै हाराहरीमा निजी विद्यालय पनि छन् ।


सामुदायिकमा विभिन्न दातृ निकायले वितरण गरेका, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र अन्यले पनि जस्ताकै छानो बनाउने कुरालाई प्राथमिकतामा राख्दै आएका छन् । तर अब भने यसलाई प्रतिस्थापन गर्नुपर्ने बेला आएको अभिभावकहरू बताउँछन् ।


'हरेक वर्ष दिनमा गर्मी झन्झन् बढ्दै जाने देखिन्छ,' अभिभावक संघ कञ्चनपुरका अध्यक्ष वीरबहादुर चन्द भन्छन्, 'त्यसकारण कक्षाकोठाहरू पनि त्यहीअनुसार बालबालिकामैत्री हुनुपर्छ ।' उनले जस्ताकै छानो बनाए पनि भित्र गर्मी रोक्नेखालका चटाई वा प्लाइ लगाउनुपर्ने बताए ।


साढे ३ दशक शिक्षण पेसामा संलग्न चन्दका अनुसार उनको पालाभन्दा अघिदेखि नै कक्षाकोठामा जस्ताको प्रयोग हुन थालेको हो तर त्यतिबेला गर्मी कम हुन्थ्यो । केही वर्षयता गर्मी निकै बढेकाले अब विकल्प खोज्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?