आउजाउमै सकिन्छ योजनाको रकम
बझाङ — सदरमुकाममा रहेको साइपाल गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको घुँइचो थियो । जन्म, मृत्यु दर्ता गर्नेदेखि नागरिकताको सिफारिस लिन आएकाहरू आफ्नो काम चाँडो गरिदिन कर्मचारीहरूलाई अनुरोध गरिरहेका थिए ।
योजना सम्झौता गर्न र किस्ता भुक्तानीका लागि आइतबार आएकाहरू आफ्नो काम छिटो नभएकामा मुर्मुरिँदै पनि थिए । ‘चैनपुर आएकै ४ दिन भइसक्यो । अझै काम भएन । घरको काम अलपत्र छ,’ योजना सम्झौता गर्न आएकी उपभोक्ता समिति कोषाध्यक्ष विमला बोहराले भनिन्, ‘आउँदाजाँदा ४०/५० हजार खर्च हुन्छ ।’
साइपालका बासिन्दालाई सदरमुकाममा आएर पनि कार्यालय र जनप्रतिनिधि खोज्न हम्मे हुन्छ । ‘फोन गर्दा कहिले काठमाडौं त कहिले धनगढी छौं भनेर जवाफ दिन्छन्,’ वडा ५ का उमेश बोहराले भने, ‘कहिले उनीहरू (जनप्रतिनिधि र कर्मचारी) को फोनै अफ हुन्छ । दु:ख ज्युँका त्युँ छन् ।’ गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थानीय तहहरू गठन भए ।
साइपाल गाउँपालिकाको सिंहदरबार भने सदरमुकाममै छ । यहाँ जनताले सामान्य सिफारिसदेखि योजना सम्झौता र निकासा गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छैनन् । दैनिक सेवा दिनुपर्ने कर्मचारीहरू पनि सदरमुकामकै कार्यालयमा हुन्छन् ।
कार्यालय सेवाग्राहीभन्दा पनि जनप्रतिनिधि र कृषि, पशुसेवा, महिला बालबालिका हेर्ने कर्मचारीहरूले भरिएको हुन्छ । सदरमुकामदेखि ३ देखि ५ दिनसम्मको पैदल दूरीमा रहेको साइपालका विभिन्न गाउँबाट सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ देखि १० दिनसम्म लाग्छ ।
धुलीबाट हिँडेर नागरिकताको सिफारिस लिन सदरमुकाम पुगेका सरोज बोहराले भने, ‘एउटा सिफारिस लिन पनि २०/३० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । गाउँपालिका बनिसकेको ३ वर्ष हुदाँ पनि हामीले घर दैलोमा सेवा पाउन सकेका छैनौं ।’
विकास निर्माणको रकम आउजाउमै सकिन्छ
गाउँपालिकाको कार्यालय सदरमुकाममा हुँदा सबैभन्दा बढी यहाँको विकास निर्माणका काम प्रभावित भएका छन् । गत वर्ष सम्पन्न भएको वडा २ धलौनको भलकुलो निर्माण योजनाको उदाहरण दिँदै स्थानीय वसन्त बोहराले भने, ‘१ लाखको योजना थियो । ६१ हजार रुपैयाँ उपभोक्ता समितिका ३ पदाधिकारीको चैनपुर आउँदाजाँदाको खाना, बास र यातायातमै सकियो । बचेको ३९ हजारले २ दिन कुलो सोर्होने काम गरी योजना पूरा भयो ।’
‘सबै योजनाको १० देखि २० प्रतिशतसम्म रकम चैनपुर आउजाउमै सकिन्छ,’ कायाखोला लघु जलविद्युत् योजनाका अध्यक्ष मानबहादुर बोहराले भने, ‘सानातिना योजनाको कामै हुदैन । यता निमित्त प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण जोशीले गाउँपालिकामा बैंक, इन्टरनेट, हुलाक सेवा नभएकाले सदरमुकाममा कार्यालय खोल्नुपरेको बताउँछन् ।
‘सबै काम चैनपुरमै हुने भएकाले यता सम्पर्क कार्यालय खोलेका हौं,’ उनले भने, ‘उता फोन सम्पर्कै हुँदैन । मन्त्रालय र प्रदेशले गर्ने परिपत्रहरूबारे समेत जानकारी हुँदैन । त्यसैले सदरमुकाममा बसेका हौं ।’ उनले महिनाको ३ दिन कार्यापालिकाको बैठक साइपालमै बस्ने गरेको बताए ।
प्रकाशित : जेष्ठ ८, २०७६ १२:१५