गाउँले फर्के ब्यास, प्रहरी बेसीमै

मनोज बडू

दार्चुला — ब्यासका स्थानीय बासिन्दा गाउँ फर्के पनि दुम्लिङ झरेका प्रहरी भने फर्केका छैनन् । दार्चुलाको ब्यासमा बसोवास रहेको शौका समुदाय आफ्नो कुञ्चा (बसाइ सर्नु) लिएर फर्केको एक साता भए पनि प्रहरी माथितिर नआएका हुन् ।  

गाउँले फर्के ब्यास, प्रहरी बेसीमै

ब्यास त्रिदेशीय सीमा नाका भएको सामरिक क्षेत्र हो । यहाँ छिमेकी मुलुकले बाह्रै महिना सुरक्षा निकायको बाक्लो संख्यामा तैनाथ गरेको भएपनि नेपालको सुरक्षा निकाय भने मौसम अनुकुल हुँदासमेत ब्यास क्षेत्रमा पुगेको छैन । हिउँदमा चिसो छल्न ब्यास गाउँपालिकाको बेसी क्षेत्र दुम्लिङ झरेको प्रहरीले अझै माथि सर्ने सुरसार गरेको छैन । चिसो छल्न प्रहरी पनि बेसी झरेका थिए ।

हिउँदे मौसममा चिसो छल्न ब्यासबाट दुम्लिङ झरेका तिंकर र छाङरु प्रहरी चौकीहरू नेपालतर्फ उक्त क्षेत्रमा जाने बाटो नभएको भन्दै हेलिकप्टरको पर्खाइमा बसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हालै जिल्ला सुरक्षा समितिको बैठकले ब्यास क्षेत्रमा प्रहरी सार्न हेलिकप्टरको माग गरेको र अहिलेसम्म मागको सुनुवाई नभएपछि प्रहरीलाई माथि सार्नमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए ।


ब्यासका स्थानीय भारतीय बाटो प्रयोग गरी सर्दा छिटो पुगेको र प्रहरी हतियारसहित जानुपर्ने र नेपालतर्फ बाटो नहुँदा माथि जान समस्या देखिएको हो । बिहीबार हेलिकप्टर आउने सम्भावना रहेको जानकारी प्राप्त भएकोले माथि जाने प्रहरीलाई तयार राखिएको उनको भनाइ छ ।


ब्यास क्षेत्रका स्थानीयको बसाइसराई सुरु हुने बित्तिकै प्रहरी चौकी सार्नका लागि माथिल्लो निकायलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत मंसिरमा मौसम प्रतिकुल भएको भन्दै स्थानीयभन्दा अगाडी ब्यासबाट दुम्लिङ झरेका तिंकर र छांगरु प्रहरी चौकीहरू दुम्लिङमै बसेको छ । ‘ब्यास क्षेत्रमा शौका समुदायबाहेक यार्सागुम्बा सिजन सुरु भएपछि धेरैजसो स्थानीय त्यहाँ पुगिसकेका छन्,’ स्थानीय विशनसिह बुढाथोकीले भने, ‘प्रहरी भने बाटोको समस्या देखाएर माथि उक्लेको छैन् ।’


‘३७ सय मिटर उचाइमा रहेको तिंकर गाउँमा एक साताअघि स्थानीय पुगिसकेका छन्,’ तिंकरका स्थानीय मोहनसिंह तिंकरीले भने, ‘प्रहरीलाई सर्ने मौसम अनुकूल हुन सकेको छैन ।’ हिमाल तथा डाँडाहरूमा हिउँ जमेको र बस्ती क्षेत्रमा हिउँ पग्लिसकेको उनको भनाइ छ । हिउँ जम्ने क्षेत्रमा यार्सागुम्बा संकलन गर्न मानिसहरू पुगिसकेका छन् । तर, प्रहरीलाई अझै मौसम अनुकूल नहुँदा राज्यको यो क्षेत्रप्रतिको चासो दर्साएको उनको बुझाइ छ ।


जिल्लामा ४ वटा सुरक्षा निकाय भए पनि चिसो सिजन सकिएको २ महिना बितिसक्दासमेत कुनै सुरक्षा निकायले उक्त क्षेत्रमा आफ्नो गस्तीसमेत पठाएको छैन । फागुनमा सेनाको एक टोलीले ब्यास गाउँपालिकाको छांगरु (सितापुल) सम्म गस्ती गरेको भएपनि अन्य सुरक्षा निकायको सीमा क्षेत्रमा आफ्नो उपस्थित देखाउन सकेको नसकेको ब्यासका स्थानीयको भनाइ छ ।


सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको गुल्म जिल्लामा स्थापना भएको ५ वर्ष भए पनि अहिलेसम्म उक्त सामरिक क्षेत्रमा आफ्नो उपस्थिती देखाउन सकेन्’, ब्यासका स्थानीय वीरसिंह धामीले भने, ‘प्रहरीबाहेक अन्य सुरक्षा निकायको एक हप्ताको गस्ती टोली पुग्छ । त्यो पनि छांगरु र तिंकरसम्म ।’


उक्त क्षेत्रमा स्थानीयको बसोबास भएकोले त्यो बाहेक क्षेत्रमा सुरक्षा निकायको गस्ती पुग्नुपर्ने उनको भनाइ छ । यसैबीच शौका समुदायको ब्यास बसाइ सराई सकिसकेको छ । ब्यासका सबै स्थानीय कुञ्चासहित छाङरु र तिंकर पुगिसकेका छन् । विगतका वर्षहरूमा बसाइ सर्ने समयमा अवाञ्छित गतिविधि यो सीमा क्षेत्रमा हुने गरेको सुरक्षा निकायलाई पनि थाहा भए पनि त्यसतर्फ खासै ध्यान दिँदैनन् । यस्तो मौका छोपी तिंकर नाकाबाट वर्षेनी वन्यजन्तुका अखेटोपहार तिब्बततर्फ चोरी निकासी हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?