दुर्गममा स्वास्थ्य शिविरकै भर

दार्चुला — विकट क्षेत्रका बासिन्दालाई सामान्य उपचारबाहेक राम्रो स्वास्थ्य सेवा पाउन शिविर कुर्नुपर्ने बाध्यता छ । जिल्लामा विशेषज्ञ डाक्टर अभावले दुर्गमका बासिन्दालाई शिविर कुर्नुपर्ने बाध्यता भएको हो । 

दुर्गममा स्वास्थ्य शिविरकै भर

सदरमुकाम खलंगामा बुधबारदेखि गेटा आँखा अस्पतालले शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको छ । उपचार नपाएर लामो समयदेखि थलिएकी दुहुँ गाउँपालिका २, हिकिलाकी ६७ वर्षीया बिरुपति जोशी जिल्लामै उपचार पाउँदा निकै खुसी देखिएकी थिइन् । उनलाई आँखाकै समस्याले रातदिन पिरोल्ने गर्थ्यो । जिल्लामा उपचार सुविधा थिएन । शिविरले उनको समस्या समाधान गरिदिएको थियो, त्यो पनि निःशुल्क ।


सदरमुकाम खलंगाको महेन्द्र माविमा चलाइएको शिविरमा सेवा लिन पाउँदा नौगाड गाउँपालिका १, इयरकोटका ५९ वर्षीय जसुली डडाल पनि दंग थिइन् । आँखा जँचाएर निःशुल्क औषधिसहित घर फर्किंदै गरेकी उनले धनगढी पुग्नुपर्ने समस्या गाउँमै समाधान भएर राहत मिलेको बताइन् । ‘गेटा पुगेर उपचार गराउन निकै समस्या थियो,’ उनले भनिन्, ‘शिविरमै उपचार पाएपछि खुसी लागेको छ ।’


विकट क्षेत्रका सबै स्थानीय तहमा शिविर सञ्चालन हुनुपर्ने आवश्यकता रहे पनि सम्भव नहुने गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुभाष भट्ट बताउँछन् । शिविरबाट मोतियाविन्दुको शल्यक्रिया, सामान्य उपचार, चेकजाँच, औषधि वितरण, चस्मा जाँचलगायत सेवा प्रदान गरिएको उनले बताए ।


महाकाली नगरपालिका, ब्यास, दुहु, नौगाड, मालिकार्जुन गाउँपालिकाका बिरामी लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकको भनाइ छ । २ दिन चलेको शिविरबाट ५ सय बढीले उपचार पाएका छन् । यीमध्ये ५३ जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?