गलत डिजाइनले पुलमुनि बस्ती

मोहन बुढाऐर

हसुलिया, कैलाली — हुलाकी सडकमा पर्ने पवेरा नालामा निर्माणाधीन पुलमुनि बस्ती परेको छ । सडकभन्दा करिब २ मिटर उचाईमा पुल निर्माण भएकाले छेउको पवेरा मण्डी बजार र वस्ती पुलमुनि परेको हो । 

गलत डिजाइनले पुलमुनि बस्ती

‘घरका छतभन्दा अग्लो पुल बन्यो,’ स्थानीय रामु चौधरीले भने, ‘पुल अग्लो बन्दा सडक पनि अग्लो हुने भयो । बजार र बस्ती तल पर्दा समस्या आएको छ ।’ उनले अग्लो पुलले छेउका मण्डी बजार र घरलाई असुविधा भएको बताए । पुलको छेउनजिकै उनको घर छ । ‘घरबाट सडकमा आउन भर्‍याङ लगाउनुपर्ने भयो,’ उनी भन्छन् ।


अर्का स्थानीय तेजबहादुर चौधरीले सडकभन्दा अग्लो पुलमा आउजाउ गर्ने समस्या हुने बताए । उनी पुल छेउको मण्डी बजारमा भएको जमिनमा घर बनाउने सोचमा थिए । ‘पुलकै कारण घर बनाउने योजना पनि तुहिएको छ,’ उनले भने, ‘पुलले ओझेलमा परेको मण्डी अव विस्थापित हुने भएको छ ।’


पवेरा मण्डी स्थानीयको किनमेल गर्ने बजार हो । यहाँ झन्डै ३ दर्जनभन्दा बढी पसल छन् । स्थानीयको धान तथा गहुँ खरिद गर्ने गल्ला पसलहरू पनि छन् । १६ परिवारको घरखेत पनि यहीँ छ । तेजबहादुरका अनुसार पुलले गर्दा सडक पनि अग्लो भयो, घर र मण्डीमा सवारी साधन चलाउन पनि अप्ठ्यारो परेको छ । नाला र सडकको पानी बर्खामा घुमेर बस्ती र बजारमा पस्ने देखिन्छ ।


‘पुल बनेपछि नाला तर्न सजिलो होला भनेको त झन् समस्या ल्याउने भयो,’ अर्का स्थानीय कुलबहादुर चौधरी भन्छन् । उनले पुलको उचाई अस्वभाविक रुपमा अग्लो निर्माण हुन लागेपछि स्थानीयले विरोध गरेको बताए । विरोध गर्दागर्दै पनि पुलको उचाई नघटाएको उनी बताउँछन् ।


हुलाकी सडकका इन्जिनियर पदम मडैले उचाई बढी भएकाले पुलको दुबै छेउतिर सय मिटर लामो सडकको उचाइ बढ्ने बताए । ‘साविकको सडकभन्दा कम्तीमा २ मिटर सडक अग्लो पार्नु पर्ने देखिन्छ,’ उनले भने, ‘यसो गर्दा बजार र बस्तीमा पुग्न सय मिटर परबाट जानुपर्ने र अलग्गै बाटो बनाउनुपर्ने हुन्छ ।’ उनले पुलको डिजाइनमै त्रुटि भएको बताए ।

मडैका अनुसार २२ मिटर लामो पुलको उचाई ५ मिटर छ । त्यहाँ बढीमा ३ मिटर उचाइको पुल आवश्यक हो । उनले सानो खोला भएकाले पुलभन्दा कल्भर्ट बनाउन उपयुक्त रहेको औंल्याए । उनले हुलाकी राजमार्ग निर्माण गरेको भारतीय कम्पनीले पनि कल्भर्ट बनाउन सर्भेसमेत गरेको बताए ।


‘त्यसबेला स्थानीयले पुल बनाउनुपर्ने माग गरे,’ उनले भने, ‘पछि पुलको डिजाइन ५ मिटर उचाइको आएपछि स्थानीयले विरोध गरेका हुन् ।’ पुल निर्माणका लागि ५ वर्षअघि १ करोड १६ लाखमा ठेक्का सम्झौता भएको हो ।

उनले स्थानीयको विरोधले गर्दा समयमा निर्माण सम्पन्न हुन नसकेको बताए । पुल निर्माण हुँदा हुलाकी सडक नजोडिने अवस्थामा स्थानीयसँग सहमति खोजेर निर्माण कार्य अघि बढेको बताए । हाल ८० प्रतिशत सम्पन्न भएको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?