बिक्री भएन यार्चा

मनोज बडू

दार्चुला — गत वर्ष संकलन गरिएको यार्चा बिक्री नहुँदा यहाँका व्यापारी र संकलक समस्यामा परेका छन् । गत वर्षकै करिब डेढ क्विन्टल बिक्री हुन बाँकी रहेको स्थानीय व्यापारीको भनाइ छ ।

धेरै व्यापारीले गत असारदेखि भदौसम्म खरिद गरिएकोमध्ये डेढ क्विन्टल बढी यार्चा अझै बिक्री हुन बाँकी छ । ‘स्थानीयबाट खरिद गरेको मूल्यभन्दा अहिले ४० प्रतिशत घटेको छ, पुरानै मूल्यमा समेत व्यापारीहरू खरिद गर्न मानिरहेका छैनन्,’ यार्चा व्यापारी राजेन्द्र बडूले भने, ‘गत वर्षको यार्चा बिक्री नहुँदा यो वर्षको संकलनमा समेत असर पर्ने देखिन्छ ।’


संकलकबाट प्रतिकेजी यार्चाको १६/१७ लाख रुपैयाँ दिने कबुल गरी खरिद गरिएको उनले बताए । अहिले बजारमा प्रतिकिलो १० लाखसम्म पनि बिक्री भएको छैन । उनी भन्छन्, ‘त्यही मूल्यमा बिक्री गरे पनि संकलकहरूलाई दिनसमेत पुग्दैन ।’ दोस्रो सिजन सुरु हुँदासम्म पहिलेको यार्चा बिक्री नहुँदा संकलकहरूलाई लेक जाने सामानको जोहो गर्न अप्ठ्यारो भएको उनको भनाइ छ ।


व्यापारीहरूले स्थानीय संकलकहरूबाट खरिद गरेको यार्चाको मूल्य नपाउँदा बिक्री नभएको हो । जिल्लाको आम्दानीको मुख्यस्रोत मानिएको यार्चा अहिलेसम्म विक्री हुन नसक्दा यो वर्षको संकलनमा समेत प्रभाव पर्ने देखिन्छ ।


नेपालमा संकलन भएको यार्चा चीनका व्यापारीले निर्यात गर्ने मूल्यमा धेरै घटी भएको व्यापारीहरू बताउछन् । स्थानीय संकलकहरूबाट खरिद गरेको मूल्यभन्दा चिनिया व्यापारीहरूले यार्चामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको अर्का व्यापारी झुनसिंह कुँवरको भनाई छ ।


यहाँबाट यार्चा खरिद गरी काठमाडौ गएका अधिकांश व्यापारी उचित मूल्य नपाउँदा निराश भएर फर्किएका छन् । जिल्लाका साना/ठूला सबै व्यापारीहरूको करिब २५ करोड रुपैया बराबरको यार्चाले मूल्य नपाउँदा काठमाडौं र जिल्लामै थन्किएको कुँवरले जानकारी दिए ।


‘६ करोड बराबरको यार्चा काठमाडौंमै थन्किएको छ,’ स्थानीय व्यापारी माधवप्रसाद भट्टले भने, ‘यो वर्ष संकलकहरूबाट यार्चा उठाउनै समस्या हुन्छ ।’ पुरानोको भुक्तानी नगरेसम्म नयाँ यार्चा उठाउन नसकिने र संकलकहरूले पनि सजिलै दिन सक्ने अवस्था छैन । पुरानो नबेचिँदा यो वर्ष संकलकहरूबाट यार्चा खरिद गर्न पुर्जी नै नभएपछि ठूलो प्रभाव पर्ने सम्भावना रहेको उनको भनाइ छ ।


एक व्यापारीका अनुसार दार्चुलाका भन्दा बझाङका व्यापारीहरूको धेरै यार्चा बिक्री भएको छैन । गत वर्ष संकलन गरिएको दार्चुला र बझाङको मात्र करिब १ अर्ब मूल्य बराबरको यार्चाले मूल्य पाएको छैन । ‘बिक्री नभएपछि सडेर जाने तथा किरा लाग्ने चिन्ता एकातिर छ, भने अर्कोतिर ऋणको ब्याज थपिँदै छ,’ कुँवरले भने ।


दार्चुलाका अपी हिमाल, व्यास, दुहु नौगाड गाउँपालिकाका अधिकांश बासिन्दाको आम्दानीको स्रोतको रुपमा यार्चा र जडीबुटी हो । लोलु, अपी फेद, सतगंगा, फुल्टेवन, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्चा पाइन्छ ।


अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार हालसम्म जिल्लाबाट ५ सय ५५ किलो यार्चा निकासी गरिएको छ । कार्यालयले यो वर्ष यार्चा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८ सय २० क्विन्टल निकासी गर्न सकिने उल्लेख छ । हरेक वर्ष जिल्लाबाट ६ देखि ८ क्विन्टल बढी यार्चा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्चाको निकासीबापत १ करोड ६३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?