कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बेसहाराकी आमा

निर्मला खडायत

धनगढी — जेठको प्रचण्ड गर्मीमा आश्रयस्थलमा सहयोग गर्न आएका सबै अतिथिलाई उनले गुलाफको फूल दिएर स्वागत गरिन् । यता अतिथि स्वागत गर्दै थिइन् । अलि पर मानसिक सन्तुलन गुमाएका ६/७ महिला होहल्ला गर्न थाले । उनी ‘झगडा नगर नानी’ भन्दै सम्झाउँदै उनीहरूको छेउमा पुगिन् ।

धनगढीको बुद्धचोकस्थित दृष्टि फाउन्डेसनमा यहि साता आश्रय लिई बसेका मानसिक सन्तुलन गुमाएका महिलालाई सहयोग गर्न केही स्थानीय पुगेका थिए । उनीहरूलाई स्वागत गर्न आफैं उपस्थित थिइन् फाउन्डेसनकी सञ्चालक कल्पना भट्ट । फाउन्डेसनले २२ मानसिक सन्तुलन गुमाएका महिलालाई आश्रय दिदै आएको छ ।


सडकमा बेवारिसे मानसिक सन्तुलन गुमाएका महिलाहरूलाई आश्रय दिने र समाज सेवा गर्ने बाटोमा अघि बढिन् । उच्च शिक्षा अध्ययनका क्रममा उनी काठमाडौंमा कोसिस भन्ने परोपकारी संस्थाबाट प्रभावित भएकी थिइन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेर जन्मथलो फर्केलगत्तै विवाह गरौं, पढेलेखेकी छोरीले राम्रो जागिर गरेर माइतीको पनि सहारा बन्लिन् भन्ने परिवारको चाहनालाई बेवास्ता गर्दै सामाजिक क्षेत्रमा होमिइन् ।


धनगढीमा मात्रै हैन, राजमार्ग र अन्य जिल्लाका सार्वजनिक ठाउँमा मानसिक सन्तुलन गुमाएर अलपत्र परेका महिला धेरै थिए । तिनीहरूलाई संरक्षण गर्ने सोच उनको मनमा पलायो । केही साथीहरूलाई पनि आफ्नो योजना सुनाइन् । केहीले जुटौं लागौ भन्ने हौसला दिए ।


नगरभित्रै उनले भाडामा सानो घर खोजिन् । ८ महिलालाई ल्याइन् । त्यसका लागि उनीसँग बेग्लै कुनै आर्थिक स्रोत थिएन । तर पनि मागेर ती बेसहाराहरूको छाक समेत टार्ने सुर गरिन् । बेसहाराहरूले आश्रय पाए । ‘आश्रयस्थल स्थापना गरेको दिन निकै खुसी लाग्यो । आफुले पढेलेखेको सार्थक भएको महसुस भयो,’ उनले भनिन् ।


सुरुमा साथीहरूबाट पनि कल्पनाले राम्रै सहयोग पाइन् । तर केही महिनापछि टोलका छिमेकीहरूले अवरोध गरे । मानसिक सन्तुलन बिग्रेका महिलाहरूले हल्ला गर्ने गरेको भन्दै छिमेकीहरूले प्रशासन धाउन लगाए । टोलबाट सार्नका लागि अनेकौ दबाव दिए । केही सीप नलागेपछि बुद्ध मन्दिर नजिक स्थापना गरिएको उक्त आश्रयस्थललाई त्यहाँबाट सारे बुद्धचोक नजिक लिन बाध्य भइन् ।


‘टोल छिमेकको रुखो ब्यवहारले सारै दुखी बनायो,’ उनले भनिन्, ‘समाजमा सबै एकै प्रकारका नहुने र राम्रा नराम्रा सबै यही समाजमा रहने भन्दै चित्त बुझाएँ’ उनले भनिन् । हाल २२ जना उनको आश्रयस्थलमा छन् । आश्रय दिने मात्रै हैन, औषधिमूलो पनि गर्दै आएकी छन् उनी । यसक्रममा १४ जनालाई त निको पारेर घर फर्काउन सफल भएको उनले बताउँदै गर्दा उनको मुहारमा खुसी झल्किएको थियो । सहारा घरमा आश्रय लिएर बस्दै आएकी डोटीकी देवीसराले भनिन् ‘यहाँ बस्न पाएकोमा खुसी छु । मैले माया र हेरचाह राम्रो पाएकी छु ।’


एक जना ब्यक्तिले आश्रयका नाममा सडकका महिलाहरूलाई आश्रय दिन कानुनी रुपमा असहज थियो । त्यही असजिलोको समाधान खोज्दै उनले फाउण्डेसन स्थापना गरेकी हुन् । फाउण्डेसन बनाउनु उनको कानुनी बाध्यता भएपनि ‘दृष्टि’ नाम भने आफ्नै रोजाईमा राखिन् ।


अहिले धनगढीमा कसैकसैले जन्मदिन मनाउँदा, विवाह वर्षगाँठ मनाउदा फाउण्डेसनलाई दाल चामल दिने चलन बसेको छ । यसैबाट उनले यहाँ रहेकाहरूको छाक टार्छिन् । मासिक ६६ हजार खर्च हुने गरेको बताउने कल्पना उक्त स्रोत जुटाउन मुठ्ठी दान संकलन गर्ने गरेको बताउँछिन् ।


‘सरकारी सहयोगी निकाय कोही छैनन्’ उनले भनिन् ‘धेरैजसो समय घरघरमा पुगेर मुठ्ठी दान संकलन गर्छु ।’ दृष्टि फाउण्डेसनले गर्ने गरेको काम र यहाँ रहेका बेसहारा महिलाहरूको वारेमा धेरैलाई जानकारी भएपनि सरकारी निकायबाट कुनै सकयोग प्राप्त नभएकोमा उनले चित्त दुखाइन् ।


‘कुनै महिना त सारै गाह्रो पर्छ’ उनले भनिन् । ‘आउन त ठुला नेतादेखि लिएर, सरकारमा रहेकाहरूसमेत आश्रयस्थल अवलोकन गर्न र यहाँ रहेका महिलाहरूको अवस्था बुझ्न आए । ‘आश्वासनका पोका मात्रै छोडेर फर्किए सधै’ उनले सुनाइन् । असहायहरूकै लागि ब्यक्तिगत सुखसयल त्यागेर बसेकी कल्पना कष्ट खेप्नु परेपनि बेसहाराहरूकी आमा बन्न पाएकोमा प्रसन्न रहेको बताउँछिन् । ‘यीनै चेलिहरूकै लागि म मेरो परिवारबाट अलग बसेकी छु’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?