धनगढी विमानस्थल : स्तरोन्नतिमा ढिलाइ
धनगढी — धावनमार्ग स्तरोन्नतिका लागि बन्द रहेको धनगढीस्थित गेटा विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ । यसको स्तरोन्नति निर्धारित समयभित्र पूरा हुने सम्भावना पनि टरेको छ ।
१ महिनाभित्र पूरा गरिसक्ने भन्दै वैशाख २२ देखि हवाई सेवा रोकेर धावनमार्ग स्तरोन्नति सुरु भएको थियो । ३ सातासम्म २७ प्रतिशत मात्रै काम भएको छ । एकपटक गिट्टी भरिसकेको अवस्थामा पुनः भासिनु नै काममा ढिला भएको नेपाल नागरिक प्राधिकरण धनगढी प्रमुख तेजबहादुर बुढथापा बताउँछन् । ‘रनवेको ८ सय ५० मिटर क्षेत्रमा खाल्डो खन्दा कालो माटो आयो,’ उनले भने, ‘२ फिट गहिरो खनेर गिट्टीलगायत सबै सामग्री हालिसकेपछि भासिने समस्या देखियो, फेरि खन्नुपर्यो ।’
१ महिनाभित्र काम सक्नुपर्ने सर्त राखेर १८ सय मिटर रनवे स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । अहिलेसम्म ५ सय मिटरको काम मात्र भएको छ । स्तरोन्नतिका लागि प्राधिकरणकै पूर्वइन्जिनियर योगेन्द्रराज शर्मालाई परामर्शदाताका रूपमा खटाइएको छ ।
इन्जिनियर शर्मा भने ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको बताउँछन् । ‘काम धेरै अगाडि बढिसकेको थियो,’ उनले भने, ‘गिट्टी बिच्छ्याउने बेलामा सुरुमा ४ सय मिटरमा दलदल माटो देखियो । खोज्दै जाँदा त्यो ८ सय मिटरसम्म पाइयो । अहिले त्यसमा भएको कालो माटो फालेर नयाँ माटो राखिएको छ ।’
उनका अनुसार मौसमले साथ दिए विमानस्थल स्तरोन्नतिको काम पूरा हुन अझै २२ दिन जति लाग्नेछ । लुम्बिनी, कोसी एन्ड न्यौपाने, खडका, कोइराला जेभी काठमाडौंले धावनमार्ग स्तरोन्नतिको ठेक्का पाएको हो । धनगढीदेखि काठमाडौंसम्म दैनिक ५ उडान हुँदै आएका थिए ।
कामको अनुगमन
कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रणबहादुर रावलसहित उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले शनिबार निर्माण अवस्थाको अनुगमन गरेका छन् ।
कामको प्रगति सुस्त रहेकामा उनीहरूले चिन्ता गर्दै समयमै काम पूरा गर्ने निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका बासिन्दालाई अप्ठ्यारो परेको छ । आपतकालीन बिरामीलाई झन् असहज भएको छ । उता निमाण कम्पनीले भने तोकिएकै अवधिमै काम पूरा गर्ने दाबी गरेको छ ।
प्रकाशित : जेष्ठ १२, २०७६ ०९:३२