१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अन्धविश्वासले गर्भवतीको ज्यान गयो

डीआर पन्त

डडेलधुरा — उपचारभन्दा धामी–झाँक्रीको भर पर्दा गन्यापधुरा गाउँपालिका ४, मेड्डीकी २८ वर्षीया गर्भवती गंगा धानुक ज्यान गुम्यो । ७ महिनाकी गर्भवती गंगालाई भारतबाट देउता लागेर सञ्चो नभएको भन्दै घर ल्याइएको थियो ।

उनी रोजगारीका लागि भारतमा रहेका पतिसँगै १ वर्षदेखि उतै बस्दै आएकी थिइन् । भारतमै गर्भवती भएकी उनले स्वास्थ्य संस्थामा जाँच भने गराइनन् । समय–समयमा शरीर काँप्न थालेपछि देउता लाग्यो भन्दै उनलाई घर फर्काइयो ।


‘बच्चा पेटमा छँंदा शरीर काँप्ने पेन्सिया रोगले उनी ग्रसित थिइन्,’ उपक्षेत्रीय अस्पताल डडेलधुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने, ‘शरीर काप्ने रोगलाइ देउता लागेको सम्झेर उनलाइ केही दिन झारफुक गरिएको रहेछ ।’ समयमा अस्पताल पुगाउन सकिएको भए बच्चा बचाउन नसकिए पनि आमा जोगाउन सकिने डा. कँडेल बताउँछन् । उनले भने, ‘अन्धविश्वासका कारण भारतवाट डडेलधुराको गन्यापधुरा पुर्‍याएर झारफुक गरिएको रहेछ ।’ स्वास्थ्य संस्थामा समयमै जाँच गराएको भए उनले ज्यान गुमाउनु नपर्ने कँडेलको भनाइ छ ।


‘बच्चादानीमा बच्चा जम्न थालेपछि कुनै महिलाको शरीर काँप्न सक्छ,’ उनले भने, ‘शरीर काँप्दा हुने वान्ता श्वास नली हुँंदै फोक्सोलाइ समेत संक्रमण गरिसकेको अवस्थामा अस्पताल ल्याएको हो ।’ उपक्षेत्रीय अस्पतालबाट नेपालगन्जका लागि रिफर गर्दा बच्चा पनि जिउँदै रहेको उनको भनाइ छ ।


‘सचेतनाका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयास सार्थक भएका छैनन्,’ नागरिक समाज डडेलधुराका संयोजक रमेश जोशीले भने, ‘स्थानीय तहले पनि यसमा धेरै प्रयास गर्न सकेको देखिएको छैन ।’ जोशीका अनुसार वर्षमा दर्जन बढी यस्ता घटना हुनु राज्य र गैरराज्य पक्षले गरिरहेका सचेतनाका कार्यक्रम असफल भएको प्रमाण पनि हो । जोशीले भने, ‘कुप्रथा र अन्धविश्वासविरुद्ध स्थानीय तहले अभियानकै रूपमा अघि बढनुपर्ने आवश्यकता छ ।’

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?