२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आत्मनिर्भर बन्न सघाउँदै आमा समूह

‘समूहमा हामी आफ्ना समस्या आपसमा सुनाउँछौं र समाधानका लागि एकजुट हुन्छौं’ 

बैतडी — जिल्लाका सबै नगर र गाउँपालिकाका टोल–टोलमा गठन भएका आमा समूहहरू महिलालाई आत्मनिर्भर बनाउने र सामाजिक जागरण ल्याउने माध्यम बनिरहेका छन् । समूहको बैठकमा आएर उनीहरू मासिक पैसा जम्मा गर्छन् ।

आत्मनिर्भर बन्न सघाउँदै आमा समूह

त्यही कोषबाट सापट लिएर उनीहरू घरको गुजारा गर्छन् । सामाजिक भेदभाव र महिला स्वास्थ्यलगायत सवालमा उनीहरू सक्रिय बन्छन् ।


समूह गठन गरेपछि धेरै कुरामा सजिलो भएको डिलाशैनी गाउँपालिका ५, खरेली टोलकी देवकी नाथ बताउँछिन् । उनले भनिन्, ‘प्रत्येक महिना सबै दिदीबहिनी बैठक बस्छौं । सामाजिक विकासका सवालमा कुराकानी गर्छौं र मासिक २० रुपैयाँ जम्मा गर्छौं ।’


उनीहरू छरछिमेकका २०/२५ महिला मिलेर गठन गरिएको समूहबाट उठेको रकम आलोपालो गरी लिन्छन् । ‘त्यहीबाटै आफ्नो गर्जो टार्छौं,’ उनले भनिन् । आमा समूहको कोषबाटै लिएको पैसाबाट घरखर्च चलाइरहेको डिलाशैनी ५ कै माया नाथ बताउँछिन् । उनले भनिन्, ‘आलोपालो गरी रकम चलाउँछौं ।’ यसले यहाँका महिलाका सानोतिनो खर्च टर्ने गर्छ । छोराछोरीको पढाइ खर्च पनि यहीबाटै चल्ने चौसेरा आमा समूहकी जानकी नाथ बताउँछिन् ।


सस्तो ब्याजदरमा आफुहरूले ऋण पाउने गरेको दशरथचन्द नगरपालिका २ की मञ्जु विकले बताउँछिन् । वार्षिक १० प्रतिशत ब्याजमा पैसा चलाउने गरेका उनले सुनाइन् । उनले भनिन्, ‘समूहमा हामी आफ्ना समस्या आपसमा सुनाउँछौं र समाधानका लागि एकजुट हुन्छौं ।’ अलग–अलग समूहका महिलाहरू पनि विभिन्न समूहमा एकै ठाउँमा भेला भएर सामाजिक सवालमा छलफल चलाउने गरेका छन् ।


अप्ठ्यारो परेका बेला एकले अर्कोलाई सहयोग गर्ने उनीहरू बताउँछन् । समूहहरू गठन भएर विभिन्न अभियान चलाउन थालेपछि गाउँका दिदिबहिनीमा धेरै परिवर्तन आएको छ ।


–तृप्ति शाही

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?