२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘बम्बैको भरोसा धेरै’

रोजगारी र उपचार भारतमै निर्भर
मेनुका ढुंगाना

अछाम — आजभोलि मंगलसैन बसपार्कमा भारततिर जाने महिलाको बाक्लो भीड देख्न सकिन्छ । कामको सिजन सकिएपछि उनीहरू घर छाडेर परदेश बसेका आफ्ना परिवार भेट्न र उपचारसमेत गराउने योजनामा थिए । बर्सेनि गहुँवाली भित्र्याएपछि धान रोपाइ सुरु हुनुअघिसम्म यहाँका महिला भारततिर जाने गर्छन् ।

‘बम्बैको भरोसा धेरै’

मंगलसैन नगरपालिका १, कुन्तीबण्डालीकी लाली थापासहित ७ महिला भारतका विभिन्न सहरमा जान शुक्रबार बसपार्कमा पुगेका थिए । जहाँ उनीहरूका पति र छोरा बस्दै आएको उनले बताइन् । स्वास्थ्य उपचारका लागि आफू भारत जान लागेको उनले सुनाइन् ।


‘पेट र हात खुट्टा दुखिरहने समस्या छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि धनगढी नेपालगन्जसम्म जानू भनेको थियो,’ उनले भनिन्, ‘मंगलसैनबाहेक अरु ठाउँ हाम्रा लागि बिरानो छ । श्रीमान बम्बै (मुम्बई) मा छन् । उतै गएर उपचार गरे घरमै बसेजस्तो हुन्छ । उपचारका लागि भरोसा भारतकै हो ।’


भारतका विभिन्न ठाउँमा आफ्नो मान्छे कामको सिलसिलामा गएकाले नेपालभन्दा भारतमा जान सजिलो हुने कुन्तीबण्डालीकै जानकी थापा बताउँछिन् । ‘फागुनमा पत्थरीको अप्रेसन पनि भारतमै गराएकी हुँ । ३ महिनापछि फेरि आउनु भनेकाले बम्बै जान थालेकी छु,’ उनले भनिन्, ‘उपचार गराइदिने श्रीमान् नै उतै छन् ।’


उनीसँगै ४५ वर्षीया दुर्गा कामी भने काम गर्ने योजना बनाएर भारत जान थालेकी हुन् । १५ वर्षदेखि भारतमा रहेका उनका पतिले काम गर्न बोलाएकाले साथी खोजेर जान थालेको उनी बताउँछिन् । कमलबजार नगरपालिका ६ का १६ जनाको समूह पनि शुक्रबारै भारततिर गए । कुल देउता पूजा गर्न नेपाल आएका उनीहरू हतारमै फर्किएका हुन् ।


‘भारतमा गएर काम गर्न थालेको २४ वर्ष भयो । कुनै आपत्–विपत्मा मात्रै नेपाल आउँछु । छोराछोरी पनि उतै छन्,’ क्वाल्लेखका सेते कामीले भने । घर छाडेर भारत पसेका सर्वसाधारणले पनि राम्रो काम पाउँदैनन् । तर पनि गाउँमा त्यत्तिकै समय खेर फाल्नुभन्दा भारतमा मजदुरी गरेरै भए पनि गुजारा चलाउने गरेको त्यहाँ गएका सर्वसाधारण बताउँछन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?