१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्यटक बढे, टिकाउन धौधौ

निर्मला खडायत

धनगढी — कैलालीको त्रिनगर भन्सार नाका हुँदै यहाँ भित्रिने पर्यटकको संख्या विगतभन्दा बढेको भए पनि उनीहरू टिक्न नसकेको पर्यटन व्यवसायीले बताएका छन् । अध्यागमन कार्यालय कैलालीका अनुसार तेस्रो मुलुकबाट घुम्न आउने पर्यटकको संख्या बढेको छ । 

सन् २०१७ मा त्रिनगर नाका हुँदै भारतबाहेकका ३६ पर्यटक नेपाल आएका थिए भने २०१८ मा त्यो संख्या बढेर ८३ पुगेको थियो । कार्यालयका अनुसार त्रिनगरबाट हरेक दिन संयौंको संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेको भएपनि उनीहरूको तथ्यांक भने राखिएको छैन ।


नेपाल घुम्न आउनेमा भारतीयको संख्या उल्लेख्य भए पनि उनीहरूको तथ्यांक राखिँदैन,’ अध्यागमन अधिकृत यादव भण्डारीले भने, ‘गत वर्षदेखि भारतसँगै तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या पनि बढेको छ ।’ त्रिनगर नाका भएर आउने अधिकांश पर्यटकको रोजाइ पश्चिमका केही पर्यटकीयस्थल हुँदै पूर्वका पर्यटकीय स्थल हुने गरेका छन् ।


‘सुदुरपश्चिमका पर्यटकियस्थल मात्र हेर्नका लागि धेरै कम पर्यटक आउँछन् । धेरै पर्यटक सुदूरपश्चिम हुँदै पूर्वमा रहेका लुम्बिनी, मनकामना, पोखरा, काठमाडौं लगायतका ठाउँमा जाने गर्छन्,’ अध्यागमन अधिकृत भण्डारीले बताए । पर्यटकियस्थल सुदूरपश्चिममा नभएका होइनन् ।


तर प्रचारप्रसार र पूर्वाधारको अभावका कारण उनीहरू यहाँ नरोकिने गरेको उनले सुनाए । ‘पर्यटकका लागि सुन्दर ठाउँ मात्र भएर हुँदैन, सहज बाटो, बसोवासका लागि उचित ब्यवस्था र सुरक्षाको ब्यवस्था हुनुपर्ने हुन्छ,’ भण्डारीले भने, ‘त्यो नभएको ठाउमा पर्यटक जान रुचाउँदैनन् ।’ यस वर्ष सबैभन्दा बढी अष्ट्रेलियाका पर्यटक भित्रिएका छन् ।


अष्ट्रेलियाबाट आउने पर्यटकको संख्या ९ जना रहेको छ । यस्तैः त्यसपछि युएसएबाट ७ जना रहेका छन् । मलेसियाबाट र किर्गिस्तानबाट ३/३ जना पर्यटक आएका छन् । २०१९ को मे महिनासम्म नेपाल आउने पर्यटकको संख्या ४४ पुगेको छ । सबैभन्दा बढि पर्यटक जनवरीमा १७ जना आएका थिए ।


पर्यटकको संख्या बढे पनि पनि सुदूरपश्चिमका पर्यटन व्यवसायीले भने सुदूरपश्चिमवासीले त्यसका फाइदा लिन नसकेको बताएका छन् । ‘अपी सैपाल सुदूरपश्चिममा छन् । स्वर्गको आभाष दिने खप्तड यहीं छ । तर पर्यटकलाई सहजै त्यहाँसम्म पुर्‍याउन पूर्वाधार अभाव छ,’ नाटा सुदूरपश्चिमका अध्यक्ष तथा पर्यटन ब्यवसायी माया प्रकाश भट्टले भने, ‘सुदूरपश्चिममा घुम्नका लागि पर्यटकलाई महंगो पर्छ, त्यसैले उनीहरू टिक्दैनन् ।’ उनीहरूलाई टिकाउनका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?