आत्मनिर्भरका लागि बाख्रा उपहार

बैतडी — यहाँका स्थानीय तहहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउन विझिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसै त्रममा दोगडाकेदार र सुर्नया गाउँपालिकाले एकल महिलाहरूलाई बाख्रा उपहार कार्यक्रम आरम्भ गरेको छ ।

आत्मनिर्भरका लागि बाख्रा उपहार

हरेक वडाबाट २ जना छनोट गरिएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘आर्थिक अवस्था कमजोर भएकालाई छानेका हौं । ८ वडाका १६ जनालाई उन्नत जातका ८० बाख्रा दिएका छौं,’ उनले भने, ‘एक जनालाई ५ वटा भाग परेका छन् ।’ कार्कीका अनुसार खरी र बोयर जातका बाख्रा उपलब्ध गराइएको छ ।


सुर्नयाले पनि वडा २ का ४० महिला कृषकलाई बाख्रा वितरण गरेको छ । पातालभूमेश्वर लघु उद्यमशील महिला कृषक समूहमा आबद्ध महिलालाई बाख्रा उपलब्ध गराइएको हो । एकल भएपछि घरको आर्थिक अवस्था कमजोर हुने र जीवनयापन गर्न टेवा पुगोस् भनेर बाख्रा उपहार दिएको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्की बताउँछिन् ।


आर्थिक अभावकै कारण समाजमा हेलाहोचो हुन नपरोस् भनेर सुर्नया गाउँपालिकाले पछाडि परेका र विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष लीला विष्टले बताइन् । ‘आर्थिक रूपमा आत्मनिर्भर भए महिलामाथि हुने हिंसा पनि कम हुने देखिन्छ,’ उनले भनिन्, ‘बाख्रासँगै ६० दिनको तालिमसमेत दिएका छौं ।’


व्यावसायिक रुपमा बाख्रा पालन गरी आम्दानी बढाउने भन्दै महिलाहरूले खुसी व्यक्त गरेका छन् । सुर्नया २ की सीता विष्टले भनिन्, ‘यिनै बाख्राबाट राम्रो आम्दानी गरी देखाउने सोच छ ।’

प्रकाशित : जेष्ठ १७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?