१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वृद्ध दम्पती हत्या, बढ्यो त्रास

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका ३ काटैमा शनिबार राति महरा दम्पतीको हत्या भएको घटनापछि स्थानीय क्रसित बनेका छन् । काटैस्थित जाखमा अज्ञात व्यत्तिको आक्रमणबाट ७० वर्षीया द्रोपती र उनका ७५ वर्षीय पति वीरभान महराको मृत्यु भएको थियो । हत्या कसले गरेको अहिलेसम्म खुल्न सकेको छैन ।

‘यो घटनाले गाउँमा एक्लै बस्ने अवस्था छैन,’ शिक्षक सुरेन्द्रप्रसाद बडूले भने, ‘घर तथा खेतमा पनि एक्लै जाँदा डराउनुपर्ने अवस्था छ ।’ पुरुष नभएको घरका परिवार झनै त्रसित छन् । मदिरा वा लागूऔषध सेवन गरी हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ ।


घटनाको अनुसन्धान गर्न प्रहरीले धनगढीबाट तालिम प्राप्त कुकुर ल्याए पनि कुनै प्रमाण फेला परेको छैन । कुकुरले घटनास्थलबाट माथि रहेको हुस्कर माविसम्म दिशा तय गरेको छ । हत्यामा संलग्नको खोजीका लागि प्रेमसिंह खडकाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।


‘काटै, मुल्ला, मैखोली, झुस्कु, दल्लेक, खारमा प्रहरी परिचालन गरिएको छ । ‘अहिलेसम्म कुनै तथ्य फेला परेको छैन,’ डीएसपी दीपेन्द्र शाहीले भने, ‘कुकुरले दिशा ट्याग गरेको छ । त्यसैअनुरूप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ ।’ घटनास्थलमा चिर्पटबाहेक अरू वस्तु फेला नपरेको र शव परीक्षण रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धानको दायरा फराकिलो बनाएर प्रहरी अघि बढेको उनको भनाइ छ ।


प्रहरीले सोधपुछका लागि भन्दै महाकाली नगरपालिका २ र ३ का केही युवालाई नियन्त्रणमा लिएको जनाएको छ । एक जनालाई नियन्त्रणमै राखेको र अन्यलाई बाहिरै सोधपुछ गरिरहेको डीएसपी शाहीले बताए । स्थानीयका अनुसार वृद्ध र सम्पत्ति पनि नभएका मान्छेको हत्या गरिएको छ ।


गाउँमा प्रहरी चौकी माग

गाउँमा कुनै घटना भए सुरक्षाकर्मी बोलाउन काटैबाट नौगाड गाउँपालिकाको दल्लेक वा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको महाकाली नगरपालिका ३ का वडाध्यक्ष पदमसिंह महराले बताए । प्रहरीको उपस्थिति नहुँदा बर्सेनि घटना बढदै छन् । नगरपालिकाका २ वटा वडालाई हेर्ने गरी काटैमा प्रहरी चौकी स्थापना गर्न वडा कार्यालयले माग गरेको छ ।


गाउँबाट दल्लेक र सदरमुकाम पुग्न ३ घण्टा लाग्छ । अपराध गरी संलग्न व्यक्ति प्रहरीले जानकारी गराउनेबेलासम्म धेरै टाढा पुगिसक्ने हुँदा काटैमा प्रहरीको आवश्यकता रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?