कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

किसानले पाएनन् बीउ

निर्मला खडायत

धनगढी — समयमा सिँचाइ र मलको सुविधा नपाएका किसानहरूले अहिले मागअनुसारको धानको बीउसमेत पाएका छैनन् ।
बीउ अभावमा किसानहरूले समयमा धानको बेर्ना छर्न नपाएर समस्या भएको बताएका छन् ।

आफूहरूले प्रदेश सरकारसमक्ष बारम्बार बीउको समस्याबारे बताए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । ‘बुबाले बीउ ल्याउन भनेर पठाउनुभयो, तर ४/५ सहकारी र राष्ट्रिय बीउविजन कम्पनीको धनगढी शाखामा धाउँदा पनि पाइएन,’ धनगढीका दीपक बलमेले भने, ‘सर्जु ५२ जातको धानको बीउ कतै पाइएन् ।’ गाउँमा छिमेकीले बेर्ना छरेर उमारिसके पनि बीउ अभावले आफूहरूले गाउँघरमै रहेकोबाट काम चलाएको उनले सुनाए ।


उन्नत जातको बीउको खोजीमा बजार, कृषि ज्ञान केन्द्र, राष्ट्रिय बीउविजन कम्पनी र सहकारीमा समेत बीउ छैन । उनीजस्तै यहाँका अधिकांश किसानको गुनासो यही छ । ‘सहकारीमा मागेको बीउ मिल्दैन, नपाएपछि महँगोमा हाइब्रिड लिन बाध्य भयौं,’ धनगढी १८ का राजेन्द्र विष्टले भने, ‘किसानहरूलाई समयमा केही पनि पाइँदैन ।’


अत्तरियाका तेजजंग मल्लले किसानको माग हेरी सरकारले अनुदानमा बीउ उपलब्ध गराउनुपर्ने बताए । ‘सरकारले अनुदानमा बीउ दिएको प्रचार गर्छ, तर वास्तविक किसानको हात पर्दैन,’ उनले भने, ‘सहकारीमा नपाएपछि बजारबाट महँगोमा किनेर लिनुपर्ने अवस्था आयो ।’ किसानहरूलाई बीउ वितरण गरिरहेको राष्ट्रिय बीउबिजन कम्पनी धनगढीमा पनि मौज्दात शून्य छ । ५७ मेट्रिक टन धानको बीउ उपलब्ध रहेकामा हालसम्म ४१ मेट्रिक टन बिक्री गरिएको छ । बाँकी बीउ लिन किसान नआएपछि १६ मेट्रिक टन इटहरी पठाइएको कार्यालयका प्राविधिक चन्द्रप्रसाद भट्ट बताउँछन् ।


‘कम्पनीसँंग मसिनो धानको बीउ छ, तर किसानलाई मोटो धानको चाहिएको अवस्था हो,’ उनले भने, ‘प्रदेश सरकारले मसिनो धानको बीउमा अनुदान दिएको छ, जुन किसानले लिन मान्दैनन् ।’ किसानको माग र रुचिअनुसार सरकारले अनुदानमा बिउ उपलब्ध नगराउँदा समस्या देखिएको उनको भनाइ छ ।


सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव यज्ञराज जोशी भने बीउ पर्याप्त रहेको दाबी गर्छन् । ‘धानको बीउका लागि कैलालीमा निजी क्षेत्रबाट मात्रै ४/५ कार्यालय छन् । राष्ट्रिय बीउविजन कम्पनी धनगढी शाखाबाट पनि वितरण भइरहेको छ,’ उनले भने, ‘यदि कैलालीमा नपाइए कञ्चनपुरको सुन्दरपुरमा रहेको कृषिफर्मबाट पनि उपलब्ध हुन्छ ।’


राधा ४, सावा मनसुली सब १, सावित्रीलगायत बीउमा अनुदान दिए पनि अन्य नेपाल सरकारले सूचीकृत नगरेका बीउहरू अनुदान दिन नसकिएको उनले बताए । सूचीकृत भएका उन्नत जातका बीउ प्रयोग गर्न किसानहरूलाई उनले सुझावसमेत दिएका छन् । बर्सेनि हुने बीउ, मल र सिँचाइ अभावले उत्पादन घटदै जाने चिन्ता बढेको कृषकहरूको गुनासो छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?