कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यार्सा संकलकलाई १० लाखको बिमा

मनोज बडू

दार्चुला — सिजन सुरु भएसँंगै यार्सा संकलन गर्न पाटन जानेको लर्को लागेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलोपटक यो वर्षबाट यार्सा पाटनमा जानेका लागि १० लाखसम्मको दुर्घटना बिमा सुविधा दिने भएको छ ।

यहाँका उच्च हिमाली लेकमा दार्चुलालगायत अन्य छिमेकी जिल्लाका बासिन्दा यार्सा टिप्न उक्लिन थालेका छन् । यार्सा संकलनका लागि जेठको दोस्रो सातादेखि पाटन क्षेत्र खुला भएको हो । यार्सा संकलन गर्दाका बखत विभिन्न दुर्घटनाका कारण बर्सेनि संकलकको तथा अन्य नागरिकको ज्यान जान थालेपछि १० लाखसम्मको बिमा सुविधा गरिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।


पाटनमा गएका यार्सा संकलक, सुरक्षाकर्मी, संरक्षण क्षेत्र कार्यालय तथा पोस्टका कर्मचारी, व्यवस्थापन परिषद् पदाधिकारी, एक पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बिमा सुविधा मिलाइएको हो । जिल्लामा संरक्षण क्षेत्र कार्यालय स्थापनादेखि नै यार्सा संकलनलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि निर्देशिकाअनुसार अझै व्यवस्थित हुन सकेको छैन ।


प्रत्येक वर्ष लेक लागेर, हिम–पहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर, चिसोलगायत कारणले पाटन तथा आवतजावत गर्ने बेला कतिपयको ज्यान जाने गरेकाले बिमा सुविधा ल्याइएको अपीनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष चक्रसिंह ह्यांकीले बताए । ‘परिषद्बाट निर्णय भएर विभागमा गइसकेको छ । जेठ दोस्रो सातादेखि असार १५ सम्मको अवधिमा कुनै व्यक्ति मृत्यु भए बिमा सेवा प्रदान गरिनेछ,’ उनले भने, ‘त्यसबाहेकको समयमा बिमा उपलब्ध हुँदैन । संकलनका लागि सम्बन्धित इजाजतपत्र लिएकै हुनुपर्नेछ ।’


निर्देशित कुरालाई कडाइ साथ कार्यान्वयन र अनुगमन गर्ने पक्ष फितलो हुँदा संरक्षण क्षेत्रमा यार्सा संकलन व्यवस्थापन गर्न नसकिएको जानकार बताउँछन् । संकलन कार्यलाई व्यवस्थित गर्न संरक्षण क्षेत्र कार्यालयले स्थायी र अस्थायी पोस्टबाट इजाजतपत्र वितरण गरिरहेको छ । मुख्य कार्यालय खलंगासंँगै झन्डै एक दर्जन ठाउँबाट यार्सा एवं जडिबुटी संकलन इजाजतपत्र वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी राजु घिमिरेले बताए ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सा संकलन तथा ओसारपसार निर्देशिका २०७३’ अनुसार जेठ दोस्रो साताबाट संकलन सुरु गरिएको हो । यार्सा संकलनका लागि यो वर्ष परिचयत्र अनिवार्य गरिएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोस्ट लगायतबाट परिचयपत्र वितरण सुरु गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।


निर्देशिकाले संकलकका लागि नागरिकता अनिवार्य गरेको छ । सोही निर्देशिकाको आधारमा परिचयपत्र जारी गरिनेछ । जिल्लाका हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोतका रूपमा रहेको बहुमूल्य यार्सा संकलन कार्यलाई यो वर्ष थप व्यवस्थित बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?