५ वर्षमा पनि बनेन महाकाली तटबन्ध

झन्डै १ किमिमा तारजालीको तटबन्ध निर्माणका लागि प्राविधिक प्रतिवेदन बनाएर विभागमा पठाइयो
मनोज बडू

दार्चुला — निर्धारित अवधिभित्र महाकालीको तटबन्ध निर्माणको पूरा हुन सकेको छैन । २०७० मा बनेको गुरुयोजनाअनुसार ५ वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको थियो । अहिले आयोजनाको म्याद ३ वर्ष थपिएको छ ।

५ वर्षमा पनि बनेन महाकाली तटबन्ध

दार्चुला सदरमुकाममा २०७० को भीषण बाढीले क्षति पुर्‍याएलगत्तै तटबन्ध निर्माणको गुरुयोजना बनेको थियो । यो गुरुयोजनाले सदरमुकाम क्षेत्रमा पक्की तटबन्ध र बाँकी महाकाली तटीय क्षेत्रमा तारजालीको तटबन्धले नदी नियन्त्रण गर्ने योजना बनाएको थियो ।


साढे ४ किमिको पक्की तटबन्ध २०७५ भित्र सक्ने भनिए पनि अझै ८० मिटर खण्डमा जगसमेत हाल्न बाँकी रहेको महाकाली नदी नियन्त्रण कार्यालयले जनाएको छ । निर्धारित अवधिमा काम पूरा नहुने भएपछि म्याद बढाएर ०७८ सम्म थप गरिएको छ ।


सदरमुकाम क्षेत्रको नमस्कारदेखि लास्की खोलासम्मको क्षेत्रमा निर्माणाधीन तबटन्धको खोतिला पहिरोवारि प्याकेज नम्बर १० र १३ जोड्न ४० मिटर र खलंगाको नेपाल–भारत जोड्ने झोलुंगे पुल वरिपरि प्याकेज नम्बर ६ र १६ जोड्ने ठाउँमा ४० मिटर दूरी निर्माण गर्न बाँकी छ । योसँगै तटबन्धका केही प्याकेजमा जगबाट उठाएर ४ मिटर उचाइ निर्माण भएको र बाँकी ४ मिटर थप्नुपर्ने काम पनि अपुरो रहेको आयोजनाका निमित्त प्रमुख एवं सिनियर डीई दामोदर सापकोटाले जानकारी दिए । आयोजनाले १५ प्याकेजमा तटबन्ध निर्माण पूरा भइसकेको छ ।


प्याकेज नम्बर १६ र १७ मा निर्माण चालु रहेको तथा प्याकेज नम्बर १८ र १९ चालु आवको अन्त्यतिर नयाँ टेन्डर भएको छ । प्याकेज नम्बर २० टेन्डरका लागि प्राविधिक प्रतिवेदन बनाएर विभाग पठाइएको उनले बताए । ‘सुरुको गुरुयोजनाबाहेक ३ प्याकेज थप्दा आयोजनाको समय २०७८ हुन पुगेको हो,’ सापकोटाले भने, ‘गुरुयोजनामा बाहेकको काम केही थपिएको छ । त्यसलाई पूरा गर्न बजेटबाटै प्याकेज थप गरिएको हो ।’ गुरुयोजनाले महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो ।


आयोजनाले अहिलेसम्म २ अर्ब २ करोड खर्च भएको जनाएको छ । बजेटभित्रै रहेर थप ३ प्याकेजको काम पूरा गर्न आयोजनाले गुरुयोजना संशोधन गरेको उनको भनाइ छ । आयोजनाले सदरमुकामको निश्चित क्षेत्रबाहेक महाकाली तटीय क्षेत्रमा यसअघि ८ किमिमा तटबन्धको काम सम्पन्न गरेको छ ।


२०७० मा महाकालीमा आएको बाढी र त्यसपछिका विभिन्न समयमा पुर्‍याएको क्षतिले तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको भागमा तटबन्ध निर्माण गर्नुपर्ने भएकाले २० नम्बरसम्म प्याकेज बनाएर काम अघि बढाइने उल्लेख छ । उक्त प्याकेजमा अहिले बगिरहेको नदीको सतहसम्म पक्की र त्यसमाथि तारजालीको तटबन्ध निर्माण गरिने आयोजनाले जनाएको छ ।


तारजालीको तटबन्ध व्यास गाउँपालिकाको सुन्सेरादेखि लेकम गाउँपालिकाको लालीका विभिन्न भागहरूमा निर्माण गरिने सापकोटाले बताए । हाल झन्डै १ किमिमा तारजालीको तटबन्ध निर्माणका लागि प्राविधिक प्रतिवेदन बनाएर विभागलाई पठाएको उनले बताए ।


गुणस्तरीय तटबन्ध बनेकाले बर्खामा सदरमुकाम क्षेत्र सुरक्षित रहने आयोजनाका प्राविधिकहरूको दाबी छ । बाढीले सबैभन्दा बढी प्रभावित भएको सदरमुकाम क्षेत्रमा पक्की तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । बंगाबगडका स्थानीय मानसिंह बोहराले तटबन्ध हेर्दा राम्रो रहेको र गुणस्तरबारे जानकारी नभएको बताए । ‘तटबन्ध बनेको छ । अहिले ढुक्कले बस्ने सकिने अवस्था छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?