दार्चुला — सम्भावना राम्रो भए पनि व्यास गाउँपालिका १, छाङ्रुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पुर्याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ बारीमै कुहिएका हुन् ।
छाङ्रुका जितबहादुर बोहोराको बारीमा यो वर्ष करिब ८ क्विन्टल स्याउ फलेको थियो । तर, बिक्री गर्नै नपाएर त्यसै कुहियो । बजार पुर्याएर बिक्री गर्न नपाउँदा १० लाख बढीको आम्दानी गुमेको उनको भनाइ छ ।
‘नजिक बजार छैन, बोकेर अर्को बजार पुर्याउन बाटो छैन,’ उनले भने, ‘स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि फाइदा लिन सकिएको छैन ।’ छाङ्रुमा फलेको स्याउका लागि नजिकको ठूलो बजार सदरमुकाम खलंगा नै हो । त्यसपछि गोकुलेश्वर, हिकिला, हुती, सुन्सेरा भए पनि त्यहाँसम्म पुर्याउने बाटो छैन । सदरमुकाम पुग्न ३२ कोष हिँड्नुपर्छ ।
पोहोरसम्म बाटो जोखिमपूर्ण भए पनि आवतजावत रोकिएको थिएन । ‘यसपालि अधिकांश ठाउँमा पहिरोले क्षति पुर्याएको छ । बर्खामा बिग्रिएको बाटो अहिलेसम्म नबन्दा व्यास क्षेत्रमा आवतजावत रोकिएको छ,’ बोहोराले भने । उनले ३ रोपनीमा २ सय बोट स्याउ रोपेको बताए ।
सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउ खेतीको सम्भावन राम्रो भए पनि भौगोलिक विकटले समस्या रहेको स्थानीय किसानहरूको भनाइ छ । बजार समस्याले यहाँका किसान पूर्ण व्यावसायिक रूपमा खेती गर्न नसकेको स्थानीय जगत ऐतवाल बताउँछन् ।
सरकारले यहाँ उत्पादित स्याउ बजारसम्म पुर्याउने व्यवस्था गरिदिए छाङ्रुका बासिन्दा व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुने सम्भावना छ । ‘नभए चिस्यान केन्द्र (शीत भण्डार) बनाइदिए पनि हुन्छ,’ ऐतवालले भने ।
यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट व्यास जान्छन् ।
‘स्थानीय स्तरमा उत्पादित वस्तु भारतीय बाटो प्रयोग गरी नेपाली बजारमा पुर्याउन सकिँदैन,’ बोहोराको भनाइ छ, ‘भण्डारण गर्न उपयुक्त साधन नहुँदा बर्सेनि ठूलो नोक्सानी व्यवहोर्नुपरेको छ ।’ स्थानीय उत्पादन भन्सार तिरेर पनि भारतीय बजारमा लैजान नसकिने उनले सुनाए ।
प्रकाशित : जेष्ठ २२, २०७६ १२:०६