१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाउँ–नगरमा चौडा सडक

गणेश चौधरी

टीकापुर — स्थानीय तहका प्रतिनिधिहरूले गाउँ नगर ब्यवस्थित गर्न सडक चौडा बनाउने र बाटोको स्तर सुधारमा जोड दिएका छन् । हाल गाउँका साँघुरा सडक पनि कम्तिमा ३० देखि ४० फिट चौडा बनाउने काम भइरहेको हो ।

गाउँ–नगरमा चौडा सडक

स्थानीयबाटै बाटोघाटो निर्माणको माग आएकाले निर्माण र सुधारमा जोड दिइएको जनप्रतिनिधिहरू बताउँछन् । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘जनताको सबभन्दा प्रमुख माग बाटोघाटोको स्तर सुधार्ने छ ।’ नक्सामा भएका बाटो पनि मासेर साँघुरा बनाइएकाले नक्शाअनुसार रेखांकन गरी ग्राभेल र कालोपत्रेको काम भइरहेको उनले बताए ।


साँघुरो बाटोले काठमाडौंलगायत पुराना सहर अस्तव्यस्त छन् । त्यस्तो नहोस् भनेर बाटो चौडा पार्ने कामलाई प्राथमिकता दिएको अध्यक्ष चौधरीले बताए । यातायात सडक गुरुयोजनाअनुसारको मापदण्डका आधारमा सडक चौडा बनाउने काम भइरहेको उनको भनाइ छ ।


जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले पनि गाउँपालिकाको सबै सडकको स्तरोन्नति गर्ने योजना रहेको बताए । करिब ५० प्रतिशत बढी बाटोघाटो निर्माणकै योजना माग भई आएको जोशीपुर गाउँपालिकाले जनाएको छ । त्यहीअनुरूप बजेट पनि बाटोघाटोकै लागि विनियोजन गरिएको छ । टीकापुर नगरपालिकामा पनि सडक चौडा गरी माटो पटानी तथा ग्राभेल र कालोपत्रेको काम भइरहेको छ ।


गाउँबस्तीका साँघुरा सडक चौडा बनाउने र सके कालोपत्रे नभए ग्राभेल गर्ने काम भइरहेको टीकापुर नगरपालिका ८ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताए । उनले भने, ‘सडक कम्तीमा २५ फिट चौडा बनाउने योजना छ । त्यसैअनुसार काम सुरु गरेका छौं ।’


टीकापुर नगरपालिकाको बजार व्यवस्थित गर्न ६ लेनको सडक निर्माणको काम पनि आरम्भ गरिएको छ । सडक डिभिजन कार्यालयको लगानीमा जमरा कुलाको पुलदेखि बसपार्कसम्म करिब १४ करोड लगानीमा सडक निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।


भौतिक पूर्वाधार निर्माणले जनप्रतिनीधिले गरेको काम पनि देखिने र बढदै गएको सवारी चापका कारण आवतजावतमा सहज पनि हुने भएकाले अधिकांश स्थानीय तहले बाटोघाटो निर्माणमै जोड दिएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?