कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यार्चा संकलन याम : विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकतिर

यार्चा संकलन गर्न १६ वर्ष पुगेकाले मात्रै अनुमति पाउने व्यवस्था भए पनि पाटनमा बालबालिकाको संख्या प्रशस्त देख्न सकिन्छ
मनोज बडू

दार्चुला — हिमाली भेकका विद्यालय जेठ १५ बाट एक महिनाका लागि बन्द गरिएका छन् । अभिभावकसंँगै विद्यालय बन्द गरी शिक्षक र विद्यार्थी यार्चा टिप्न विभिन्न उच्च लेकाली पाटनहरूमा पुगेपछि पठनपाठन ठप्प छन् । 

यार्चा संकलन याम : विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकतिर

यार्चा संकलन सिजन सुरु भएपछि अपीहिमाल गाउँपालिकाका २१ र व्यास गाउँपालिका वडा २ र ३ का ८ विद्यालयमा बिदा दिइएको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले झन्डै एक महिना हिउँदे बिदामा मिलान हुने गरी यार्चा संकलनका लागि बिदा दिएका छन् ।


हिमाली भेकका अधिकांश विद्यार्थी यार्चा संकलनका लागि पाटनहरूमा गइसकेका छन् । जिल्लाबाहिरका माध्यमिक तह र त्यसमाथि पढ्ने केही विद्यार्थी पनि यार्चा संकलनका लागि पाटन पुगेको अपीहिमाल गाउँपालिका ४, घुसाका कल्याणसिंह बोहराले बताए ।


अपीहिमालका अधिकांश विद्यार्थी लेकतिर पसिसकेका छन् । अन्यको तुलनामा यार्चा पाटनहरूमा विद्यार्थीको संख्या धेरै छ । यहाँका बासिन्दाको आयस्रोत यार्चा भएकाले विद्यालय बन्द गर्नुपरेको शिक्षक दमनसिंह बोहरा बताउँछन् । अभिभावकसँगै सबै विद्यालयका बालबालिका यार्चा खोज्न लेकतिर गएका छन् । ‘विद्यालय बन्द गर्न अभिभावककै माग हुन्छ । उमेर पुगेको मानिसभन्दा विद्यार्थीले बढी संकलन गर्ने हुँदा विद्यालय बन्द गर्न अभिभावकले कुनै असहमति जनाउँदैनन्,’ बोहराले भने, ‘प्रौढभन्दा केटाकेटीको संख्या लेकमा बढी हुन्छ ।’


यार्चा व्यवस्थापन संकलन तथा ओसारपसार निर्देशिका २०७३ ले संकलनका क्रममा बालबालिकालाई प्रवेश निषेध गरिएको छ । यार्चा संकलन गर्न १६ वर्ष पुगेकाले मात्रै अनुमति पाउने व्यवस्था गरेको छ । तर, पाटनमा बालबालिका देख्न सकिने व्यास गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखा संयोजक भुपसिंह कुँवर बताउँछन् ।


सुनभन्दा महँगोमा बिक्री हुने यार्चामा जीवनमरण गर्ने गरी भीर–पाखाहरूमा खोजिने व्यास गाउँपालिका २ का रमनसिंह बुढाथोकीले बताए । यो क्षेत्रका ६ वर्षदेखि ६० वर्ष उमेर समूहका हजारौं मानिस यार्चा संकलनका लागि पाटन पुगिसकेका छन् । यार्चा पाइने अपीहिमालको लोलु, अपी फेद, रोखापु, सातगंगा फुल्टीवन, चाइमटेला, घाजिर, धरमघर, घट्टेखोला, काटै, सुर्मालगायत वनहरूमा यतिबेला संकलकहरूको भीड लागेको छ ।


व्यास गाउँपालिकाको अपी, नाम्पा फेद, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्थालगायत पाटनमा संकलकहरू पुगेको व्यास गाउँपालिका २ का वडाध्यक्ष धीरेन्द्रसिह बुढाथोकीले बताए । यार्चा समुद्र सतहबाट ३ हजार ८ सय मिटरदेखि ४ हजार ८ सय मिटरसम्मको उचाइमा पाइन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?