अस्पतालको लिफ्ट बिग्रँदा सास्ती

कान्तिपुर संवाददाता

धनगढी — धनगढीस्थित सेती अञ्चल अस्पतालमा बिग्रिएको लिफ्ट मर्मत नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । बिरामीलाई माथिल्लो तलामा बोकेर लानुपर्ने बाध्यता छ । ‘बिरामी भएर आएँ,’ डडेल्धुराबाट खुट्टाको उपचारका लागि आएकी कलावती बलले भनिन्, ‘दुई तलासम्म हिँडेर जाँदा साह्रै दुःख भयो ।’ 

सेती अञ्चल अस्पतालमा लिफ्ट बिग्रिएपछि बिरामी बोक्दै कुरुवा । तस्बिर : निर्मला खडायत/कान्तिपुर

अस्पतालमा आउने अधिकांश बिरामीलाई माथिल्लो तला आउजाउ गर्न सकस परेको छ । हिँड्न नसक्नेलाई बोकेर लैजानुपर्ने बाध्यता छ । ‘छातीमा पानी भरिएर उपचार गर्न आएका बेला २ तलामाथि उक्लिँदा श्वास फुलेर झन् गाह्रो भयो,’ उपचारका लागि आएका टेकराज भट्टले भने । उनले सामान्य बिरामीलाई त्यति गाह्रो नभए पनि सिकिस्त, बालक र वृद्धहरूलाई लिफ्ट नहुँदा निकै सास्ती हुने बताए ।

‘एक तलासम्म त हवील चेयरमा राखेर ल्याएँ, यसपछि मुटुरोगी आमालाई हिँडाएर माथिल्लो तलामा ल्याउनुपर्‍यो,’ बैतडी सिगास गाउँपालिका १ बाट आमाको उपचारका लागि आएकी निर्मला भुलले भनिन्, ‘अस्पतालमा भएको लिफ्ट नबनाउँदा धेरै गाह्रो भएको छ ।’

लिफ्ट बिग्रएको डेढ महिना नाघेको अस्पतालका सुरक्षाकर्मी लोकेन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘मर्मत गरेको केही समयमै बिग्रिहाल्छ, ‘काठमाडौंबाट प्राविधिक आउँछ बनाउँछ, फेरि केही दिनमै बिग्रिन्छ ।’ चीनबाट झिकाइएको लिफ्ट बिग्रेका बेला मर्मत गर्ने प्राविधिक काठमाडौंबाटै बोलाउनुपर्ने भएकाले ढिलाइ भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ बताउँछन् । ‘धेरैपटक बोलाएर मर्मत गरिसक्यौं, हरेकपटक महँगो शुल्क तिरेर काठमाडौंबाट प्राविधिक बोलाउँछौं,’ उनले भने, ‘बिरामीहरूको समस्या अस्पताल प्रशासनले पनि बुझेको छ । यो महिनाभित्रै मर्मत गरी सञ्चालन गर्छौं ।’

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिकामा तालाबन्दी

कान्तिपुर संवाददाता

बाजुरा — बूढीनन्दा नगरपालिकाको कार्यालयमा लगाइएको ताला अझै खुलेको छैन । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्नेबारे गरेको विवादित निर्णय खारेज गर्न माग गर्दै स्थानीयले कार्यालयमा जेठ २२ देखि तालाबन्दी गरेका हुन् ।

नगरपालिका ५ र ७ वडाका बासिन्दाले जनजीवनको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रूपमा डम्पिङ साइट निर्माण गर्ने निर्णय खारेजीको माग गरी कार्यालय बन्द गरिएको वडा ५ का छक्क विकले बताए ।

कार्यालयमा तालाबन्दी गरिएपछि कर्मचारी आउने र घर फर्किने गरेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि वडा ५ र ७ को बीच भागलाई जोड्ने चाटाबगर रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरू बताउँछन् । कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको वडा ७ का भरत विकले बताए ।

दुवै वडाका वडाध्यक्ष समेतले जनताको मागलाई ध्यान नदिएर नगर प्रमुखको आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनतालाई पर्ने असरको बेवास्ता गरिएको आरोप लगाएका छन् । तालबन्दीसँगै दिनभर कोल्टीमा नारा जुलुससहित विरोध प्रदर्शन भए ।

खोलानजिकै फोहर व्यवस्थान गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिंगो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदुषित हुने असन्तुष्ट पक्षको दाबी छ ।

आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिफारिस बनाउनकै लागि पनि ४ दिन कुर्दा पनि कार्यालय बन्द हुँदा बनाउन नसकेको स्थानीय जसी कडाराको गुनासो छ । कडारा जनता आवासअन्तर्गतको घर निर्माणको भुक्तानीका लागि सिफारिसका बनाउन ४ दिनदेखि नगरपालिका धाइरहेकी छन् ।

नगरपालिकाले काम सुरु भइसकेकाले लगानी डुब्ने हुँदा त्यसै स्थानमा निर्माण गर्ने बताएको छ । ठेक्का लगाउनेदेखि विकास निर्माणका काममा समेत नगरपालिका विवादित बन्दै आएको आन्दोलनरत पक्षको आरोप छ । नगरपालिकाले ताला खुलाउन प्रयास जारी राखेको बताएको छ ।

प्रहरी लगाएरै भए पनि ताला खुलाउने अन्त्यमा बल प्रयोग योजना नगरपालिकाले बनाएको छ । पहिलो साता सबै प्रकारका सम्झौतालाई जिल्लामा पठाइसक्नुपर्ने र भुक्तानीको समयमा कार्यालय बन्द हुँदा थुप्रो काममा बाधा पुग्ने नगरपालिकाले बताएको छ । वार्तामा बस्ने र छलफल गर्ने क्रम पाँच दिन देखि चलिरहेको र कार्यालयमा तालाबन्दी रहेको उपप्रमुख सृष्टी रेग्मीले स्वीकार गरेकी छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT