सुनसान मार्तडी

बाजुरा — स्थानीय तहमा चहलपहल बढेपछि सदरमुकाम मार्तडी सुनसान भएको छ । मार्तडी बजारको माथिल्लो भागमा सरकारी तथा गैरसरकारी कार्यालयहरू भएकाले फाट्टफुट्ट ओहोरदोहोर गर्ने देखिन्छन् । दुनीमा हाटबजार छ । कुनैबेला निकै भीडभाड हुने दुनी हाटबजार यतिबेला ग्राहक नपाएर सुनसान बनेको छ । 

सुनसान मार्तडी

जिल्लाको उत्तरी क्षेत्रका ४ स्थानीय तहका बासिन्दा जिल्ला बाहिर जान सदरमुकम भएर आवतजावत गर्ने भए पनि बस्दैनन् । उनीहरू सिधै गाडीमा आउँछन् र गाडीमै जान्छन् । ‘वर्ष दिनयता व्यापार शून्य भएको छ,’ मार्तडीमा फेन्सी पसल सञ्चालन गर्दै आएका गौमुलका लोकेन्द्र धामीले भने, ‘के गरुँ, कसो गरुँ भइसक्यो ।’ उनी ५ वर्षदेखि मार्तडीमै व्यापार गर्दै आएका थिए । ‘केही समय त फाटफुट चलेकै थियो, अहिले त फिटिक्कै बन्द भयो,’ उनले भने ‘मासिक ७ हजार पसलको भाडा तिर्न पनि समस्या भएको छ ।’


गाउँ तथा नगरका केन्द्रमा स्थानीय बजार स्थापना भएका छन् । सदरमुकाममा नागरिकतालगायत कामबाहेक अरू केही पर्दैन । ग्रामीण क्षेत्रमा यातायत सेवा विस्तार भएपछि नागरिकता बनाउन आएकाहरू पनि काम सकेर घर फर्किन्छन् । मार्तडीमै होटल सञ्चालन गर्दै आएकी बूढीनन्दा नगरपालिका ६ की राजकला देवकोटाले भनिन्, ‘होटल बिक्री गरेर हिँड्न खोज्दा पनि बिक्री हुँदैन ।’


गौमुल गाउँपालिकाको घट्मुना, हिमाली गाउँपालिकाको धुलाचौर, जगन्नाथ गाउँपालिकाको पिलुचौर, खप्तड छेडेहद गाउँपालिकाको डोगडी, त्रिवेणी नगरपालिकाको तोलीमा नयाँ बजार स्थापना भएका छन् । स्थानीय बासिन्दा आफ्नै पालिकाको केन्द्रमा बजार खुलेपछि खुसी भएका छन् । सदरमुकाम आवतजावत गर्न लाग्ने खर्चसमेत जोगिएको हिमाली गाउँपालिका ५ की विमला पाण्डेको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?