२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

खेतमा खेलकुद प्रतियोगिता

मेनुका ढुंगाना

अछाम — खेल मैदान नहुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । पछिल्ला दिनमा स्थानीय तहमा खेलकुद गतिविधिहरू बढे पनि संरचना अभाव छ । मेयर कप, वडाध्यक्ष कप विभिन्न नाम दिएर यतिबेला विभिन्न खेलकुद गतिविधि भइरहेका छन् ।

९१ वटा वडा, १० स्थानीय तहमा एउटै पनि स्तरीय खेल मैदान छैन । मैदानको अभावमा विद्यालय, विमानस्थल र खेतमा प्रतियोगिता भइरहेका छन् । खेलमैदान अभावमा खेलाडीहरूले तयारी गर्न नपाउने अवस्था रहेको क्रिकेट खेलाडी कमल रावल बताउँछन् । ‘तयारी नै नगरी प्रतियोगितामा भिड्नुपर्ने बाध्यता छ । खेतमा गएर अभ्यास गर्ने गरेका छौं,’ उनले भने ।


मंगलसैन नगरपालिका प्रमुख पदमबहादुर बोहरा तत्काल स्तरीय खेलकुद मैदान निर्माण गर्न नसके पनि खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताउँछन् । ‘प्रायः प्रतियोगिताहरू विद्यालयमा गरेका छौं,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी खेल मैदान निर्माणको तयारीमा छौं ।’


‘खेतका गह्रामा खेल हुने बेला सबै जनप्रतिनिधि अर्को वर्ष मैदान बनाउँछु भन्छन्,’ कमलले भने, ‘तुरुन्तै बिर्सन्छन् ।’ साँफेबगर नगपालिकाको रिडिकोटको मैदान व्यक्तिका नाममा हुँदा विवादित छ । बान्नीगढी जयगढ गाउँपालिकाको थालाकोटको मैदानमा मंगलसैन नगरपालिकाको जुपुको जग्गासमेत पर्ने भएकाले त्यो पनि विवादित छ । संरचना अभावमा पनि पछिल्लो समय क्रिक्रेटप्रति आकर्षण बढ्दै गएको रावत बताउँछन् ।


रंगशाला जीर्ण

सदरमुकाम मंगलसैनमा रहेको रंगशाला र कर्भडहल निर्माण पूरा भएको ५ वर्षमै जीर्ण भएका छन् । हालसम्म कुनै पनि खेलकुद प्रतियोगिता तथा व्यायाम सञ्चालन नहुने रंगशाला गौचरणमा परिणत भएको स्थानीय एकेन्द्र ढुंगाना बताउँछन् ।


जिल्ला खेलकुद विकास समितिका अनुसार मंगलसैन बजारभन्दा माथिको जंगलमा बनेको रंगशालामा ०७१ मा युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा कर्भड हलसमेत निर्माण भएको थियो । कर्भड हलको रेखदेख गर्न नसक्दा १ वर्षभित्रै गेटसमेत भत्कियो । जिल्लामा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू कमलबजारको विमानस्थलमा सञ्चालन भए ।


विमानस्थल बन्द भएदेखि जिल्लामा हुने हरेक ठूला कार्यक्रम र खेल प्रतियोगिताहरू त्यहीं सञ्चालन हुँदै आएका छन् । पटकपटक रंगशाला मर्मत र पुनर्निर्माणका लागि बजेट छुट्याइँदै आए पनि संरक्षण अभावमा अलपत्र परेको सरोकारवाला बताउँछन् । खेलकुद विकास समितिका अनुसार २०५७ सालमा खेलकुद मैदान बनाइएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?