गंगा दशहराको रौनक : रंगीचंगी खप्तड

४ महिना हिउँले ढाकिएर सेतै हुने खप्तडले बाँकी प्रत्येक महिनामा रंग फेर्ने गर्छ । वसन्त ऋतुमा लालीगुराँसलगायत बास्नादार फूलले ढकमक्क हुन्छ । बर्खाका ४ महिना यहाँका पाटनले ३ पटक फुलको तन्ना फर्ने गर्छन् । 
वसन्तप्रताप सिंह

बझाङ — सदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडलाई गंगा दशहरा मेलाको रौनकले छोपेको छ । एक साता चल्ने मेला भर्न देश–विदेशबाट आएका दर्शनार्थीले खप्तड भरिएको छ ।

गंगा दशहराको रौनक : रंगीचंगी खप्तड

पाटनभरी रंगीचंगी पाल टाँगिएका छन् । ठाउँठाउँमा विभिन्न उमेर समूहका महिला पुरुषको झक्काझक्की (सवालजवाफ) देउडा चलिरहेको छ । कोही घोडा दौड प्रतियोगिता हेरेर रमाइरहेका छन् । कोही समुद्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा आयोजना गरिएको भलिबलको प्रतियोगितामा चिच्याउँदै आफ्नो पक्षलाई समर्थन जनाइरहेका छन् ।


रंगिबिरंगी फूलले ढाकिएका खप्तडका हरिया झोती (पाटन) मा पल्टिँदै, उफ्रँदै फोटो खिच्नेको भीड उस्तै छ । त्रिवेणी क्षेत्र, खप्तड दह, सहश्रलिंग, नागढुंगालगायत क्षेत्रमा दर्शनार्थीको घुइँचो छ । सोमबारदेखि सुरु मेला हेर्न आउने र फर्कनेको लस्कर घटेको छैन । उसो त खप्तड घुम्न आउनेको चहलपहल वर्षभरै हुन्छ । तर, दशहरा मेलाका बखत हजारौं पर्यटकको आगमन हुने निकुञ्ज कार्यालयको भनाइ छ । यस वर्षको दशहरा मेलामा २५ हजार बढीले भ्रमण गर्ने अनुमान रहेको निकुञ्जका संरक्षण अधिकृत प्रकाश शाह बताउँछन् ।


खप्तडमा जेठ शुक्ल पक्षमा मेला लाग्छ । दशमीका दिन त्रिवेणीमा स्नान गर्दा मनोकांक्षा पूरा हुने, सबै पाप नष्ट हुने र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । तर, पूर्णिमाका दिनसम्म त्रिवेणीमा स्नान गर्न आउनेको भीड रहने खप्तडका पुजारी पण्डित ध्रुवराज जोशी बताउँछन् । त्रिवेणी स्नान गरी यहाँको जल घरमा राख्दा वर्षभरै शुभफल प्राप्त हुने विश्वास छ ।


गंगादशहराको दिन गोसाईंकुण्डलगायत भारतका विभिन्न स्थानमा मेला लाग्ने भए पनि नेपाल र भारतका हिन्दु धर्मावलम्वीमा खप्तड त्रिवेणी स्नान आकर्षण मानिने उनको भनाइ छ । ‘धर्मशास्त्रहरूमा पनि खप्तड त्रिवेणीमा भगवान शिवले स्नान गरेको कथा उल्लेख छन् । त्यसैको प्रभाव होला केही वर्षयता नेपाल मात्र नभएर भारतबाटसमेत दशहरामा स्नान गर्न आउनेको संख्या बढेको छ,’ उनले भने ।


पौराणिककालमा मायावी शक्ति भएका देवीदेवताले गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने गरेको, शिव आदि देवता र सिद्धहरूको क्रिडास्थल रहेको खप्तड ऋषिमुनिहरूको पनि तपस्थली भएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यस वर्ष मेलाका अवसरमा विभिन्न संघ(संस्थाले कार्यक्रम आयोजना गरिरहेका छन् ।


डोटी उद्योग वाणिज्य संघले प्रदेश सरकार, खप्तडसँग जोडिएका बझाङ, बाजुरा र अछामका विभिन्न स्थानीय तहको सहकार्यमा भलिबल, घोडा दौड र डेउडा प्रतियोगिता गरे । मेला व्यवस्थित बनाउन मदिरा पूर्ण बन्देज गरिएको छ । दर्शनार्थीलाई स्वस्थ्य उपचारमा सहज होस् भनेर सेनाले शिविर सञ्चालन गरेको छ ।


रोमाञ्चक गन्तव्य

धार्मिक मात्र नभएर प्राकृतिक सुन्दरताका हिसाबले पनि खप्तड नेपालका सुन्तदरतम् गन्तव्यमा पर्छ । यहाँको सौन्दर्यपान गर्न पर्यटक बाह्रैमास आउँछन् । यहाँको यात्रा रोमाञ्चक बन्ने उनीहरू बताउँछन् । हिउदँका ४ महिना हिउँले ढाकिएर सेतै हुने खप्तडले बाँकी प्रत्येक महिनामा रंग फेर्ने गर्छ ।


वसन्त ऋतुमा लालीगुराँसलगायत बास्नादार फुलले ढकमक्क हुन्छ । बर्खाका ४ महिना यहाँका पाटनले ३ पटक फुलको तन्ना फर्ने गर्छन् । जेठ, असारमा हरिया पाटनहरू पहेँला फुलहरूले ढाकिएका हुन्छन् । साउन, भदौमा सबै पाटनमा राता फूल देख्न सकिन्छ । भदौ, असोजमा विष, पदमचाल, पाँचऔंले, बुकीलगायत रंगिचंगी फुलले पाटनको स्वरूप चहकिलो बनाउँछ ।


निकुञ्ज कार्यालयले गरेको अध्ययनअनुसार बुकी, जाई, जुही चमेली, सुनाखरी, गुराँस, चाँप, चिमालो, प्याउलीलगायत १ सय ३५ प्रकारका फूल फुल्छन् । खप्तडमा विभिन्न रंगका १४ प्रकारका गुराँस पाइन्छन् । यहाँ पाइने सबै प्रकारका फूलबारे पर्याप्त अनुसन्धान बाँकी छ ।


यहाँ फुल्ने मनोहर फुलको दृश्यपान गर्न चैतदेखि मंसिरसम्म उपयुक्त मानिन्छ । २२ पाटन र ५२ झोती रहेको यो क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह (खप्तड ताल), शिव मन्दिर, सहश्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्टेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थल पर्यटकका लागि आकर्षकका केन्द्र मानिन्छन् ।


पौराणिककालमा सिद्घ तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्र पुराणमासमेत ‘खेचरादी’ पर्वतका रुपमासमेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै खप्तड रहन गएको भन्ने जानकारहरू बताउँछन् ।


यस क्षेत्रमा खप्तड बाबाका नामले चर्चित स्वामी सचितान्नद सरस्वतीले करिब ५० वर्ष तपस्या गरी सिद्धि प्राप्त गरेकाले पनि यस क्षेत्रको धार्मिक महत्त्व झन् बढेको छ । १ सय १६ वर्षसम्म जीवित रहेका खप्तड स्वामीले यहाँ सञ्जीवनी बुटी रहेको र त्यसैको खोज गर्न खप्तड पुगेको उनका अनुयायीहरू बताउने गर्छन् । खप्तड बाबाको आग्रहमा तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गर्न लगाएका थिए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?