‘पानीपुरी’ ले जोड्यो घरजग्गा

निर्मला खडायत

धनगढी — चर्को गर्मी होस् या वर्षा । सन्दीप र उनका ३ भाइ साँझतिर सधैं ठेलासहित सडक छेउ हुन्छन् । यहाँ रोजगारी र पैसा छैन भनेर भारतका गल्ली चहार्ने युवाका लागि ठेलाको व्यापारबाट राम्रो आम्दानी गरिरहेका सन्दीप दाजुभाइ प्रेरणाका हुन् ।

‘पानीपुरी’ ले जोड्यो घरजग्गा

पछिल्लो समय धनगढीमा ठेला व्यवसाय निकै फस्टाएको छ । यहाँका हरेक गल्ली र चोकमा ठेलामै चल्ने पानीपुरी र चाट फस्टाएको व्यापारमध्येको एक हो । धनगढीमा ठेला व्यापार गर्नेमा भारतीयको बाहुल्यता छ । उनीहरू यही व्यवसायबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।


सन्दीप श्रीवास्तव २१ वर्षअघि भारतबाट रोजगारीका लागि धनगढी आएका हुन् । अहिले उनीसहित ४ दाजुभाइ ठेलाकै व्यापारमा छन् । प्रायः साँझ ४ बजेतिर ठेलामा चटपट, चाट र पानीपुरी लिएर उनीहरू चहलपहल हुने बजारका चोकमा निस्कन्छन् । बजारमा निस्कनेबित्तिकै उनी कहाँ ग्राहकको घुँइचो लाग्छ ।


धनगढीमा आएर उनीहरूले ठूलो कामको सपना देखेनन् । उनीहरूको कमाइ गर्ने ठाउँ यहीको सडक र ठेला बन्यो । ‘सुरुमा चटपटे बनाएर ५/६ वर्ष त्यही व्यवसाय गरे । त्यसपछि ठेलामै जेरी बनाएर बेचे । ‘७ वर्षदेखि लगातार सबै भाइ पानीपुरी र चाटको ठेला चलाइरहेका छौं,’ सन्दीपले भने, ‘पानीपुरी र चाटबाट राम्रै आम्दानी भइरहेको छ, हामी सन्तुष्ट छौं ।’


धनगढीको ४ फरकफरक ठाउँमा सन्दीपका चारै दाजुभाइको ठेला लागेको हुन्छ । ‘सातामा आफूलाई मन लागेको २ दिन बिदा बस्छौं, अरू दिन ठेला लिएर सडकमै हुन्छौं,’ सन्दीपले भने, ‘३ भाइ हरेक दिन एउटै ठाउँमा आउँछौं, एक भाइ ठेला घुमाएर व्यापार गर्छ ।’


ठेला व्यवसायमा अन्य व्यापार जस्तो गाह्रो नहुने उनीहरू बताउँछन् । हरेक दिन चाहेको बेला व्यवसाय गर्न सकिन्छ । ‘पानी परेका दिन एकछिन पाल टाँगेर पनि ठेला चलाउँछौं । घाम लागेका दिन त्यति गाह्रो पर्दैन,’ सन्दीपले सुनाए । ठेला व्यवसाय सदाबहार व्यवसाय भएको उनले बताए । ‘ठेलाबाट हुने आम्दानीबाटै घरखर्च र ३ छोराछोरीको पढाइ खर्च चलेको छ,’ उनले भने ।


भारतबाट आउँदा रित्तो हात आएकाहरू पनि ठेला व्यवसायबाटै धनगढीमै सम्पत्ति जोडेर घरजम गरिसकेका छन् । कतिपयले जग्गा किनेर आफ्नो घरसमेत बनाइसकेका छन् ।


२४ वर्षदेखि धनगढीमा चाटको ठेला सञ्चालन गर्दै आएका लल्लु चाट भण्डारवाला उभेस श्रीवास्तवले यही व्यवसायबाटै क्याम्पस चोकमा घर बनाएका छन् । ‘मलाई ठूलो व्यवसायभन्दा ठेलामै रमाइलो लाग्छ,’ उभेस (लल्लु) ले भने, ‘यसमा थोरै लगानीबाट धेरै आम्दानी हुने भएकाले वर्षौंदेखि यही व्यवसाय गर्दै आएको हुँ ।’ दिउँसो अटो चलाउने उनी साँझ ठेलामा चटपट बेच्छन् । चटबट बेचेर महिनाको ४० हजार रुपैयाँसम्म कमाइ हुने उनी बताउँछन् ।


हरेक साँझ ६ बजे धनगढीको क्याम्पस चोकमा ठेला गुडाएर आउने लल्लु राति १० बजेपछि मात्र घर फर्किन्छन् । ‘साँझ ग्राहकको धेरै भीड हुन्छ, कम्तिमा पनि ४ सय ग्राहक हरेक दिन आउँछन् चाट र पानीपुरी खान,’ उनले भने । ४ सयबाट ठेलामा चटपट बेच्न सुरु गरेको उनले बताए । ‘ठेला आफ्नै थियो, त्यसैले ४ सय रुपैयांँमै ठेला सञ्चालन गर्न सजिलो भयो,’ उनको भनाइ छ ।

प्रकाशित : असार १, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?