९० वर्ष अघिदेखि तरकारी खेती

डीआर पन्त

डडेलधुरा — बडाहाकिम रुद्रशमशेर राणा तल्लो स्वराडबाट आउँदा डडेलधुरा लाकमका दिवंगत विष्णुदत्त जोशीको बारीमा लटरम्म फलेको तरकारी देखेर लोभिएछन् । आफ्ना कारिन्दालाई पठाएछन् र भनेछन्, ‘पैसा लिए पैसा दिनू नलिए मागेर ल्याउनू ।’ त्यस दिनदेखि उनी डोटी गौंडामा बडाहाकिम भएर बसुन्जेल महिनाको एकपटक साबिक बगरकोटको लाकमबाट तरकारी मगाएर खान्थे ।

बेमौसमी टमाटर टिप्दै गाउँकै एक महिला कृषक (माथि) र कथित माथिल्लो जातिले च्याउ खानु हुँदैन भन्ने मान्यता तोड्दै गाउँमै च्याउ उत्पादन गर्दै अगुवा कृषक खेम जोशी । तस्बिर : डीआर/कान्तिपुर

पछि उनकै कारण गौंडामा आउने बडाहाकिम र प्रहरीका हाकिम पनि लाकमबाटै तरकारी मगाएर खान थाले । पदमशमशेर राणा प्रधानमन्त्री छँदा डोटी गौंडामा रुद्रशमशेर बडाहाकिम भएर आएका हुन् । रुद्रशमशेर बडाहाकिम भएर आएको ९० वर्षभन्दा बढी भयो ।

दिवंगत जोशीकै परिवारका सदस्य स्व. दिलीपले २०५९ मा बेमौसमी तरकारी खेतीमा अन्तरर्राष्ट्रिय अवार्ड पाए । उनको निधन भएको पनि ३ वर्ष बितिसकेको छ । उनले शिक्षक पेसामा हुँदाहुँदै पनि २०४१ बाट डडेलधुरामा बेमौसमी तरकारी खेती सुरु गरे । उनकै देखासिखीमा जिल्लामा व्यावसायिक तरकारी खेती आरम्भ भएको मानिन्छ । यसअघि व्यावसायिक रूपमा तरकारी खेती गर्ने परम्परै थिएन ।

बर्खामा फल्ने फर्सी, घिरौंला, मुला , काँक्रो र हिउँदमा पालुंगोबाहेक अन्य तरकारी लगाउने चलनै थिएन गाउँघरमा । सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा पनि तरकारी खेतीगर्ने परम्परा थिएन । तर लाकममा भने शताब्दी अघिदेखि निरन्तर अहिलेसम्म उदाहरणीय रुपमा तरकारी खेती हुँदै आएको छ ।

पछिल्लो समय दिवंगत विष्णुका नाति खेम जोशी जिल्लाका अगुवा तरकारी कृषकका रूपमा परिचित छन् । तरकारी खेतीको कुनै नयाँ प्रयोग गर्नु परे कृषि क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघ–संस्थाको रोजाइमा साविक बगरकोटको लाकम गाउँ पर्छ । खेम जोशी पहिलो नम्बरमा आउँछन् । कुनै समय माओवादी विद्रोहमा लागेका जोशीले हतियार बोकेको समयमा पनि तरकारी खेती गर्न छाडेनन् । ‘म युद्धमा लागे तर परिवारका सदस्यले तरकारी खेती गरेरै गुजारा चलाए,’ जोशीले भने, ‘बाजेका पालादेखि सुरु तरकारी खेती अहिलेसम्म जारी छ ।’

कुनै समय जिल्लामा आउने हाकिम र ठूलाबडाका लागि मात्र तरकारी उत्पादन हुने उनी सुनाउँछन् । त्यहाँ आएर तरकारी आफैं टिपेर लैजाने गरेको उनले बताए । ‘४ दशकयता भने ब्यबसायिक रुपमै तरकारी खेती गर्दै आएका छौं,’ उनले भने । मूल बाटोमा गाउँ छ आउने–जानेका नजरमा सहज पर्ने भएका कारण पनि बिस्तारै लाकममा तरकारी पाइन्छ भन्ने प्रचार भएको जोशीले बताए ।
जोशीले भने, ‘सदरमुकामदेखि बैतडीकोतल्लो स्वराडसम्मको मूल बाटोमा आउने–जानेमध्येधेरैले हाम्रो गाउँबाट तरकारी खरिद गरी लैजानथालेपछि आम्दानीको बाटो खुलेको हो ।’

विस्तारै–विस्तारै लाकम तरकारी खेतीमा प्रसिद्ध मात्र भएन तरकारी खेतीको अनुसन्धान केन्द्र पनि बन्न थालेको उनले वताए ।
लाकमका कृषकरुले सुरु गरेको तरकारी खेतीवाट मनग्ये आम्दानी भएको देखेपछि आसपासका अरु गाउँका वासिन्दाले पनि ब्यबसायिक तरकारी उत्पादन सुरु गरेका हुन् ।

मथिल्लो जातिले च्याउ खानु हुँदैन भन्ने मान्यता तोडेर अगुवा कृषक जोशीले गाउँमै गोब्रे च्याउ उत्पादन मात्र गरेनन् अरुलाइ पनि प्रेरणा दिए । स्थानीय कृषक मोहन साउँद भन्छन्, ‘यस क्षेत्रमा आधुनिक तरकारी खेतीको आरम्भ गर्ने जोशी परिवार नै हो ।’ पछिल्लो समय अगुवा कृषक जोशीले चन्दनको खेती पनि सुरु गरेका छन् । प्राविधिक रूपमा चन्दनका विषयमा तालिम लिएर उनले गत वर्षदेखि चन्दनको नर्सरी स्थापना गरेका छन् । एउटा बोट ४ सयसम्म बिक्री हुने चन्दन खेती जिल्लामा पहिलो हो ।

९० वर्ष अघि बाजेले सुरु गरेको तरकारी खेती निरन्तरतासंगै नयाँ–नयाँ प्रयोग गरेर कृषकलाई आधुनिक खेतीतर्फ उन्मूख गराउने काममा सक्रिय जोशी मात्र होइनन् उनको पुरै गाउँ लागेको छ । डडेलधुरा सदरमुकाम देखि १२ किमि दूरीमा रहेको लाकम गाउँमा परम्परागत खेती गर्न छोडेको दुई दशक बितिसकेको छ ।

हरेक परिवारले बेमौसमी तरकारी र फलफूल खेती गरी बर्सेनि न्यूनतम ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । गाउँमा उत्पादन भएको तरकारी ढुवानी गर्न गाउँकै दुई कृषकले गाडी खरिद गरेका छन् । तरकारीका बिउ बिजन र औषधी विक्री गर्न गाउंमै एग्रोसम्वन्धी पसल थापेका छन् ।‘शताब्दी अघिदेखि ब्यबसायिकतरकारी खेती सुरु गरेका यस गाउँकाकृषकको परिश्रम र लगन उदाहरणीय मात्रहोइन प्रेरणादायी रहेको छ,’ बरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले भने ‘सुदूरमा ब्यावसायिक तरकारी खेती सुरु गर्ने यो नै पहिलो गाउँ हो भन्दा अत्युक्ति नहोला ।’

उनका अनुसार राज्यका निकायले धेरै सहयोग गर्न नसके पनि लाकमका कृषकले राज्यका निकायलाई समेत प्रेरणा दिएका छन् । ‘पछिल्लो समय लाकम जिल्लामा सवैभन्दा वढी तरकारी उत्पादन हुने गाउँ बनेको छ,’ उनले भने ।

प्रकाशित : असार १, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

अस्पतालमा सुत्केरीको मृत्युपछि डडेलधुरामा तनाव

डीआर पन्त

डडेलधुरा — १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ ।

अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोलित भएका हुन ।

दुईसाता अघि शल्यक्रिया गरेर अस्पतालमा वच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तस्राव भएपछि शुक्रबार अस्पतालमा पुगाइएको थियो । चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति सयौं गाउँले आएर अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालका अनुसार ९ दिन पछि ताम्राकारलाई अस्पतालले डिस्चार्ज गरेको थियो । १४ दिनपछि पुन रक्तश्राव सुरु भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरामा ८ पिन्ट रगत दिएर धनगढी रिफर गर्नु अघि सुत्केरीको मृत्यु भएको थियो । स्थानीयले चिकित्सकले लापरवाही गरेकाले कार्वाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन ।

सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्त र गाउँलेले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका सयौं दर्जनौं साधन र सयौं यात्रु अलपत्र परेका छन् ।

प्रशासनले शुक्रबार राति नै सर्वपक्षीय बैठक गरि समस्या समाधान गर्ने प्रयास गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन । पीडितका आफन्त र गाउँलेले राति भएको सहमति अनुरुप प्रशासनले कुनै काम नगरेका कारण आन्दोलन गर्नुपरेको बताए । पीडितका आफन्त केबी ताम्राकारले सहमति कार्यान्वयन भन्दा प्रशासनले दमन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्