१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शौचालय र धारा सँगै

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरका अधिकांश बस्तीमा शौचालय र धारा सँगै बनाइएका छन् । खानेपानीको धारा र शौचालयको ट्यांकी सँगै हुँदा सर्वसाधारणमा रोगको जोखिम पनि उत्तिकै बढेको छ ।

शौचालय र धारा सँगै

भीमदत्त नगरपालिका ९, मटेनाको गुड्डु राना झन्डै सातादिन पखालाबाट ग्रस्त बने । उनका बालबालिका पटक–पटक झाडापखाला, आउँबाट विगत वर्ष दिनयता पटक–पटक बिरामी परे । उनका छिमेकी सीता दमाईंका छोरा अमितलाई पनि पटकपटक आउँ र पखाला लागिरहन्छ । सुरुमा त एक/दुई दिनमै निको भए पनि २ साताअघि लागेको पखाला भने धेरै उपचारपछि मात्रै निको भयो ।

गुड्डु र सीताको खानेपानीको ह्यान्ड पम्प (नल्का) र शौचालयको सेप्टिक ट्यांकसँगै छ । त्यही नल्का (धारा) को पानी उनीहरू खान्छन् । उक्त पानीबाटै झडापखाला, आउँ, हेपाटाइटिसलगायत समस्या देखिन थालेको उनीहरूको अनुमान छ । उनीहरूले शौचालय बनाउनुअघि अहिले जस्तो स्वास्थ्य समस्या हुँदैनथ्यो । जब धारा छेउमै शौचालय बनाए ।


त्यसपछि पखालालगायत विभिन्न समस्या देखिन थालेको गुड्डु बताउँछिन् । ‘नल्का छेउमै शौचालय बनाएपछि खानेपानीमा समेत कीराहरू देखिन थालेका छन्,’ उनले भनिन् । ४५ परिवार बसोबास रहेको बादी बस्तीमा अधिकांशसँग आधा/एक कठ्ठा मात्रै जमिन छ । पर्याप्त ठाउँ नभएकाले उनीहरूले खुला दिसामुक्त घोषणाका बेला खानेपानीको धारासँगै शौचालय बनाए । यसले बस्ती खुला दिसामुक्त भयो, तर खानेपानी भने दूषित भएको उनीहरूको अनुमान छ ।


सामान्यतः खानेपानीको मुहान र सेप्टिक ट्यांकको दूरी कम्तीमा पनि ३० मिटर हुनुपर्छ । त्यसो हुन नसके पानीबाट विभिन्न रोगको जोखिम हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय महेन्द्रनगरका आयोजना प्रमुख किरण आचार्यले बताए । ‘यसबाट पखाला, आउँ, जन्डिस र हेपाटाइटिसलगायत पानीजन्य रोगको संक्रमण बढी हुन्छ,’ उनले भने, ‘यस्तो बेला नल्काको पानी पिउनु हुँदैन ।’


स्थानीयले पनि दूषित पानीकै कारण बालबालिकामा विभिन्न रोग देखिन थालेको बताउँछन् । थोरै जमिन भएकाले सेप्टिक ट्यांक अन्यत्र बनाउने वा नल्का अन्त जडान गर्ने ठाउँ भने छैन । स्थानीयले ब्रह्मदेवको खानेपानी योजनाबाट धारा जडानका लागि वडा कार्यालयलाई आग्रह गरेका छन् । धारा जडानका लागि एकमुष्ठ ७ हजार तिर्नुपर्ने हुँदा समस्या भएको हिमाल महिला सशक्तीकरण केन्द्रकी संयोजक कमला बादीले बताइन् ।


‘हामीहरू दिनभरि मजदुरी गरी परिवार पालिरहेका छौं, एकैपटक यति रकम तिर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘बरु किस्तामा तिर्न सकिने वा वडा कार्यालयबाट आर्थिक सहयोग गरिदिए सहज हुने थियो ।’


भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले बादी बस्तीमा ब्रह्मदेव ओभरहेड ट्यांकीबाट खानेपानी धारा जडानका लागि पहल भइरहेको बताए । उनले वडाबाट तत्काल धारा जडानका लागि पत्राचार गरिएको पनि बताए । तर, तत्काल ७ हजार तिर्न नसक्ने परिवारका लागि वडामा समेत बजेट नहुँदा समस्या भएको उनको भनाइ छ ।


‘यस वर्षको वजेट सबै खर्च भइसक्यो, अहिले वडाबाट सहयोग गर्न सकिने अवस्था छैन,’ उनले भने, आगामी आवमा धारा जडानका लागि सहयोग गर्न सकिन्छ ।’ उनले ७ हजार एकमुष्ठ तिर्न नसक्नेका लागि किस्तामा तिर्न सकिने गरी पनि छलफल भइरहेको बताए ।

प्रकाशित : असार २, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?