कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘कर्मचारी भर्ना गरेर बजेट कार्यान्वयन’

अर्जुन शाह

धनगढी — आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट कार्यान्यनमा आंशका रहेका बेला आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले कर्मचारी भर्ना गरी बजेट कार्यान्वय गरिने बताएका छन् । चालु आवको बजेट कार्यान्वयन हुन नसकेकै बेला आगामी वर्षको खर्चप्रति सरोकारवालाहरूले आशंका जनाएका छन् ।

‘प्रदेश लोकसेवा गठन गरी कार्यप्रारम्भ गराउँछौं । त्यसअघि करारममा पनि कर्मचारी भर्ना गरी कार्यक्रम कार्यान्वयनमा लैजान्छौ,’ उनले भने, ‘बजेट खर्चका लागि चालु वर्षको मुख्य बाधा कर्मचारी र संरचना अभाव हो । आगामी वर्ष त्यो कठिनाई रहन्न ।’


चालु वर्षको विकास बजेटमा ६० प्रतिशत खर्च हुने सरकारको अनुमान छ । मन्त्री बोहराले सोमबार पत्रकार सम्मेलन गरी बजेटका विशेषताबारे जानकारी गराएका हुन् । सरकारले आव ०७६/७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको पूर्ण बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको हो ।


बजेटमा नमुना कृषि गाउँ आफैं बनाऊँ, सेती अञ्चल अस्पताल र महाकाली अस्पतालसहित जिल्ला अस्पतालहरूको सुधारको योजना, खप्तड, बडिमालिका, शैलेश्वरी, बैजनाथ, रामारोशनलगायत मुख्य धार्मिक पर्यटन गन्तब्यमा पूर्वाधार विकास प्राथमिकताका योजना रहेको मन्त्री बोहराले बताए । ‘पर्यटन करिडोर निर्माणको योजनालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने । पूर्वाधार विकास, स्वास्थ्य, कृषि क्षेत्रमा १ अर्ब बढीका हिसाबले बजेट विनियोजन गरिएको बताए ।


आर्थिक क्षेत्रका जानकारहरूले भने बजेट ठिकै ढंगले आए पनि कार्यान्वय भने जटिल रहेको औंल्याएका छन् । डा. हेमराज पन्तले भन,े ‘बजेट त्यतिधेरै नराम्रो छैन तर कार्यान्वय गर्ने कुरा महत्त्वपूर्ण कुरा हो ।’ पर्यटकीय गन्तव्यहरूलाई आपसममा जोड्न पर्यटकीय करिडोर निर्माणको अवधारणा अघि बढाइने भएको छ ।


त्यसअन्तर्गत खक्रौला टीकापुर कर्णाली, महाकाली हुँदै दार्चुला (महाकाली नदी करिडोर), धनगढी बुडर–बझाङ–कैलाश मानसरोवर करिडोर, खुटिया बीपीनगर–तेल्लेक–दिपायल साँफे–रामारोशन बडीमालिका करिडोरको अवधारणा बजेटमा प्रस्तुत गरिएको छ । झुलाघाट–खोड्पे बझाङ करिडोरसहितका लागि १३ करोड ५२ लाख ८५ हजार विनियोजन गरिएको छ । सैपाल हिमाल आरोहणलाई व्यवसायिक रूपमा सुरु गरी पर्यटन विकासमा योगदान पुर्‍याउने योजनालाई पनि सरकारले नवीन कार्यक्रम भनेको छ । ‘यसले सैपालमा पर्यटन गतिविधि बढाउनेछ,’ मन्त्री बोहराले भने ।


यस्तै अवकाश प्राप्त राष्ट्रिय खेलाडीहरूलाई पेन्सनको योजना ल्याइएको छ । यस योजनालाई पनि सरकारले नयाँ कार्यक्रम भनेको छ । २ हजार जनालाई रोजगारी प्रदान गर्न स्वरोजगार कार्यक्रम, औद्योगिक सम्मेलन गर्ने सरकारको योजनामा परेको छ । हाल सुदूरपश्चिममा जग्गा महँगो भएर नयाँ उद्योग स्थापना हुन नसकेका उद्योगीहरूले गुनासो गर्दै आएका छन् । यसका लागि सकारले जग्गाको पहिचान गरी लामो समयका लागि उद्योग स्थापना गर्ने बताएको छ ।


कर्मचारीको तलब केन्द्र सरकार सरह नै बढाएको प्रदेश सरकारले मूल्यवृद्धि हुन नदिन कार्य गर्ने दाबी गरेको छ । ‘कर्मचारीको तलब बढ्यो भनेर बजार मूल्य बढाउन पाइँदैन,’ मन्त्री बोहराले भने । आगामी बजेटमा कुनै पनि करका दायराहरू नबढाइएको सरकारले दाबी गरेको छ । हाल संघ, प्रदेश र स्थानीय तहबीच कतिपय योजना दोहोरिएको आर्थिक मामिलामन्त्री बोहराले स्वीकारे । प्रस्तुत बजेटमाथि बिहीबारदेखि प्रदेशसभामा छलफल सुरु हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित : असार ३, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?