कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप दुर्घटना : बझाङको मस्टा शोकमग्न

बझाङ — एउटै गाउँका १० जनाको ज्यान गएको दुर्घटनाले बझाङको मस्टा गाउँपालिकाका बासिन्दा शोकमग्न छन् । सोमबार भएको जिप दुर्घटनामा मारिनेको बुधबार शवयात्रासहित सामूहिक दाहसंस्कार गरिएको छ ।

जिप दुर्घटना : बझाङको मस्टा शोकमग्न


बझाङको मस्टा–१ मा भएको दुर्घटनाका दिवंगतको शवयात्रामा सहभागी ।तस्बिर ः वसन्तप्रताप/कान्तिपुर


कोटदेवल गाउँका ९ जनाको बुधबार सदरमुकाम नजिक सेती किनारको धौलाबगरमा र जिन्नाडा घर भएका जिपचालक सुरेन्द्र थापाको जिन्नाडीगाडमा अन्त्येष्टि गरिएको हो । बझाङमा भएको यो अहिलेसम्मकै ठूलो सडक दुर्घटना हो ।


कोटलदेवल तथा जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका स्थानीय शवयात्रामा सहभागी भएका थिए । दलका नेताहरू र स्थानीय तहका जनप्रतिनिधिसमेत जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्म पुगे । दुर्घटनामा आमाबुबा र भाइ गुमाएका कोटदेवलका सन्देश खड्काले मृतकहरूलाई सामूहिक दागबत्ती दिएका थिए ।


अन्त्येष्टिको दृश्य देख्दा मृतकका आफन्त र परिवारका सदस्य शोकमग्न थिए । गहिरो शोकमा परेका केहीको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । ‘यस्तो डरलाग्दो घटना कहिल्यै नहोस्,’ कोटदेवलका ७० वर्षीय गोरख खड्काले भने, ‘हाम्रो त गाउँ नै सोत्तर भयो ।’ एउटा परिवारका दुई जनाबाहेक सबैको मृत्यु भएको र ५ परिवारका नाबालक केटाकेटीले अभिभावक गुमाएको उनले बताए ।


जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको से१झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । घटनामा १० जनाको मृत्यु भएको थियो भने ५ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा एउटै गाउँका बासिन्दा परेका हुन् । मृत्यु हुनेमा मस्टा–१ कोटदेवलका कलकबहादुर खड्का, उनकी श्रीमती जुनधारा र छोरा सरोज खड्का छन् ।


यस्तै नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, लक्ष्मी द्धाल र जिपचालक सुरेन्द्र थापाको पनि मृत्यु भएको थियो । गम्भीर घाइते गणेश खड्का, अनीता बोहरा र गोकुल शाहीको नेपालगन्ज र अन्य दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मस्टा–१ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको जिप करिब एक हजार मिटर तल अनागाड खोला किनारको भीरमा अडकिएको थियो । मान्छे सजिलै पुग्न नसकिने भीर भएकाले शव र घाइते निकाल्न निकै गाह्रो परेको थियो ।


दुर्घटनाले गाउँपालिका शोकमा डुबेको भन्दै मस्टा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकले शोक प्रस्ताव पारित गर्दै सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको थियो । बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत नगद ५ हजार र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए ।


‘अभिभावक गुमाएर बिचल्ली परेका बालबालिकाको पालनपोषण र शिक्षादीक्षाबारे पनि के गर्न सकिन्छ भने हामी छलफल गरिरहेका छौं,’ उनले भने । जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको रोहबरमा भएको छलफलमा जिपधनीले मृतकका परिवारलाई नगद ३ लाख क्षतिपूर्ति र घाइतेको उपचारका लागि सबै खर्च बेहोर्ने सहमति भएको मस्टा–१ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

प्रकाशित : असार ५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?