कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका नेताद्वारा आत्मसमर्पण

बझाङ — विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका एक जना जिल्लास्तरीय नेताले बुधबार आत्मसमर्पण गरेका छन् । बझाङका सहिद तथा बेपत्ता परिवारका अध्यक्ष रहेका ज्ञानबहादुर चौहानले जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन् । 

आफूलाई विप्लव समूहले गरेका गतिविधि चित्त नबुझेको र सर्वसाधारण नागरिक सरहको जीवनयापन गर्न चाहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीलाई लिखित निवेदन दिएका थिए ।


नेकपा विप्लवका जिल्ला कमिटी सदस्य तथा खप्तड छान्ना गाउँपालिकाको इन्चार्जसमेत रहेका चौहानले प्रशासनलाई लेखेको पत्रमा विप्लव समूहका कार्यकर्ताको सूचीबाट आफ्नो नाम हटाइदिन पनि अनुरोध गरेका छन् । २०७४ सालबाट विप्लव समूहमा आबद्ध भएका चौहानलाई गत वर्ष मष्टा गाउँपालिकाका अध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर २५ दिनसम्म थुनामा राखेको थियो । १० हजार धरौटी तिरेर थुनामुक्त भएपछि भारततर्फ गएका चौहानले त्यहाँबाट फर्के लगतै आफूले आत्मसमर्पण गरेको बताए ।


‘विप्लवको राज्यविरोधी गतिविधि मन नपरेर आत्मसमर्पण गर्न आएको हुँ,’ उनले भने, ‘विगतमा जे जसो भए पनि अवका दिनमा सर्वसाधारण नागरिकसरह राज्यको नियममा रहेर परिवार चलाउनेछु ।’ उनले आगामी दिनमा व्यापार व्यवसाय गरेर परिवार चलाउने सोच बनाएको बताए ।


आत्मसमर्पण गरेको कागजमा हस्ताक्षर गराउँदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राज्यको नियम कानुनको सम्मान गर्ने जोसुकैलाई राज्यले सुरक्षाको प्रत्याभुतिसहित स्वागत गर्ने बताए । उनले राज्यविरुद्धको गतिविधि नियन्त्रणका लागि प्रशासन कार्यालय सचेत रहेको बताउँदै गैरकानुनी कामलाई निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


यता नेकपा विप्लवका जिल्ला कमिटी सदस्य प्रवासले चौहानले पार्टी भित्र अराजक गतिविधि गरेका कारण चार महिना अघिदेखि नै उनलाई निलम्बन गरिएको बताए । चौहान हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको बताउँदै उनले आत्मसमर्पणको नाटक गरेको आरोप लगाए ।

प्रकाशित : असार ५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?