प्रतिपक्षले जलायो रातो किताब   

अर्जुन शाह

धनगढी — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा बुधवार बजेटको विरोध गर्दै रातो किताब जलाएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचारलाई प्रोत्साहन दिने प्रकारले ल्याइएको प्रतिपक्षी सांसदहरूको दाबी छ ।

प्रतिपक्षले जलायो रातो किताब   

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गरेको २८ अर्ब २० करोड ३५ लाख बजेटको रातो किताब सांसदहरूले ५ दिनपछि पाएका हुन् ।


‘कार्यकर्ता पोस्ने बजेट ल्याइएको छ’ कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने ‘भ्रष्टाचार बढाउने यो बजेटले सुदूरपश्चिमलाई विकास हैन उधोगतिमा लैजाने देखिएकाले हामी यस बजेटलाई अस्वीकार गर्दछौँ ।’ रातो किताब जलाउनुअघि उनीहरूले बजेटमाथि सुरु हुने कार्यसूची रहेको प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए ।


बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभाभित्र उभिएर विरोध गरेपछि बैठक अगाडी बढ्न नसकेको हो । प्रतिपक्षी दलको अवरोध भएपछि बिहीबारका लागि निर्धारित बैठक सभामुख अर्जुनबहादुर थापाले ८ गतेसम्मका लागि स्थगित गरेका छन् ।


काँग्रेस सांसद भरतबहादुर खड्काले सुरुको अभ्यास भएकाले यसअघि ल्याइएका दुईवटा बजेटमा भएका त्रुटिमा आफूहरू चुप लागेर बसेको भए पनि फेरी त्यस्तै प्रवृत्ति दोहोर्‍याइदा सैह्य नभएको बताए । ‘सबैलाई गुमराहमा राखेर आफूहरूलाई फाइदा हुने प्रकारले अपारदर्शी योजनाहरू राखिएका छन्’ उनले भने, ‘पहुँचवालालाई पोस्ने ढंगले ल्याइएको बजेट परिमार्जन नभएसम्म संसद् चल्न दिन्नौँ ।’ उनले एनजीओले ल्याउने वार्षिक कार्यक्रम भन्दापनि तल्लो स्तरको बजेट रहेको आरोप लगाए । सत्तारुढ दलकै कतिपय सांसदहरू पनि बजेटप्रति असन्तुष्ट रहेको बताउँछन् ।


आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट सन्तुलित ढंगले ल्याइएको दाबी गरे । ‘हामी सबै कानुनबाट निर्देशित हुने हो’ मन्त्री बोहराले भने, ‘रातो किताब संशोधन गर्न सहज छैन ।’

प्रकाशित : असार ५, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?