२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ताक्लाकोट सडक : छिटाे सम्पन्न गर्न ताकेता

अनुगमन टोली आउँदा मात्र चल्छन् मेसिन, अघिपछि थन्किन्छन्

बझाङ — सुदुरपश्चिमको समृद्धीको मार्ग मानिएको चैनपुर –ताक्लाकोट सडक निर्माण समयमै सम्पन्न गर्न जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूले निर्माण कम्पनीलाई ताकेता गर्ने काम तीव्र बनाएका छन् । ठेक्का अवधी घर्किन लाग्दा पनि तोकिएको समयमै काम सम्पन्न हुने नदेखिए पछि सरोकारवालाहरू चिन्तित भएका छन् । 

ताक्लाकोट सडक : छिटाे सम्पन्न गर्न ताकेता

प्रमुख जिल्ला अधिकारी, पत्रकार तथा सरोकारवालाको टोलीले सडक अनुगमन गरेको दुई हप्ता नवित्दै प्रतिनिधी सभा सदस्य आशाकुमारी विक र अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महरले पनि आयोजना स्थलको भ्रमण गरेका छन । स्थलगत भ्रमण पछि प्रतिक्रिया दिदै उनीहरूले सडक निर्माणको प्रगती सन्तोषजनक नरहेको प्रतिक्रिया दिएका छन ।


‘जिल्लाबाट अनुगमन आउँदै छ भन्ने थाहा पाए पछि तामझाम सहित काम गर्न थाल्दा रहेछन । अरु वेला मेसिन बन्द गरेर घाम तापेर बस्छन भनेर स्थानीयले सुनाए,’ अनेरास्वियूका केन्द्रिय संयोजक महरले भने, ‘सुदुरपश्चिम मात्र नभएर देशकै आर्थिक विकासलाई गति दिन सक्ने आयोजनाको काममा ढिलाई भएको देख्दा नराम्रो लाग्यो ।’ बझाङका स्थानिय समेत रहेका महरले आफुले सडक निर्माणको काम समयमै सम्पन्न गर्नका लागि केन्द्र सम्म पनि कुरा पुर्‍याउने बताए ।


यस्तै आयोजना अनुगमनकै लागि भनेर हाल काम भैरहेको अन्तिम विन्दु किरकिट्या सम्म पुगेकी प्रतिनिधीसभा सदस्य आशाकुमारी विकले पनि निर्माणको गति सन्तोषजनक नभएको बताएकी छन । ‘हामी जाँदा खेरी दुइवटा डोजर लगाएर काम भैरहेको थियो’ उनले भनिन ‘स्थानियसँग बुझा एक महिनामा दुई सय मिटर मात्र काम भएको रहेछ । यही गति हो भने तोकिएको समयमा काम सम्मन्न हुन गाह्रो छ ।’ उनले यो सडक सुदुरपश्चिमवासीको बहुप्रतिक्षित सपना भएका कारण समयमै सम्पन्न गर्नका लागि आफुले सदनमा समेत कुरा उठाउने बताईन ।


दुइवटा अलग अलग ठेकेदार कम्पनीले यो सडक निर्माण तथा विस्तारको काम गरिरहेका छन । १८ किलोमिटर दुरी रहेको चैनपुर( रुवातोला सडकलाई चौडा बनाउने कामको लागि २०७३ सालमा ठेक्का सम्झौता भएर काम सुरु गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हाल सम्म १२ किलोमिटर मात्र चौडा बनाउने काम सम्पन्न गरेको छ । यो प्रगती ७० प्रतिशतको हाराहारी हो । हालको अवधीमा भएको यो प्रगती हेर्दा तोकिएको म्याद भित्र काम सम्पन्न हुनेमा शंका रहेको आयोजना कार्यालयका प्रमुख ऐन बहादुर सिंहले बताए ।


यो कम्पनीको ठेक्का अवधी समाप्त हुन अव ५ महिना मात्र बाँकी छ । २२ करोडको लागतमा काम गर्ने गरि निमार्णको जिम्मा लिएको यस कम्पनीले १८ किलोमिटर सडकलाई ठुला सवारी साधनहरू संचालन गर्न मिल्ने गरी ७.५ मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो ।


यस्तै तल्कोट गाउँपालिकाको रुपातोला देखी साइपाल गाउँपालिकाको धुली सम्म ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ । ५० महिना भित्र काम सम्पन्न गर्नुे गरी ठेक्का लिएको यस कम्पनीले २ वर्षको अवधीमा १४ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।


धुली सम्म नै ठुला सवारी संचालन गर्न मिल्ने गरी ८ मिटर चौडा सडक बनाउने जिम्मा लिएको यस कम्पनीको काम निकै ढिलो गतिमा भैरहेको आयोजना प्रमुख सिंहको भनाई छ । ‘कहिले मेसिन विग्रियो भन्छन । कहिले डिजेल सकियो भनेर वहाना बनाइरहेका छन’ उनले भने ।


यो सडकको काम समयमै सम्पन्न गराउन आफुले पनि निरन्तर ताकेता गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनले आफुले २ महिनाको अवधीमा तीन पटक सडकको अनुगमन गरिसकेको बताउदै काम गर्ने क्रममा भएका अफ्ट्याराहरू सुल्झाउनका लागि पनि प्रशासनले मध्यस्थता गर्ने जानकारी दिए ।


चीन र भारतलाई जोडने सबै भन्दा छोटो त्रिदेशीय सडक समेत रहेको यसको कुल लम्बाई १ सय १८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुली देखी सीमा क्षेत्र उरै भञ्ज्याङ सम्म ६० किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार समेत भैसकेको छ । धुली भन्दा माथी हिमाली क्षेत्रमा सुरुङ निमार्ण गर्न सके यो दुरी आधा भन्दा बढी घट्ने र वर्ष भरी सवारी साधन सञ्चालन गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ । निर्माण पश्चात यो सडक त्रिदेशीय व्यापारीक र पर्यटकिय प्रयोजनका लागी प्रयोग हुने छ ।

प्रकाशित : असार ६, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?