२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हावाहुरी पीडितले राहत पाएनन्

मोहन बुढाऐर

धनगढी — हावाहुरीले जेठ अन्तिमसाता फर्शुराम चौधरीको घर उडाएर लग्यो । धन्न ज्यान भने बाँच्यो । इँटा र टिन उडाएपछि खरले छत छाएर ५ दिनपछि उनले बस्न मिल्ने घर बनाए । 

हावाहुरी पीडितले राहत पाएनन्

‘घरको टिन त हवाले उडाएर कता पुगायो, भेटाउनै सकेनँ,’ उनले भने, ‘खसालेको टायलमध्ये बचेखुचेकाले आधा छाना छाए । आधा खर खोजेर छाएको छु ।’ उनले २ हजारमा गाउँबाट टायल किनेर ल्याएका हुन् । कच्ची माटो र बाँसको भित्ता पनि हुरीले भत्काएको थियो । ‘बस्नलायक बनाउन पुरै ५ दिन लाग्यो,’ उनले भने, ‘घर बस्न सकिने बनाउन २० हजार जति ऋण लाग्यो ।’

उनका अनुसार घर मर्मतमा १५ हजार र अनाज खरिदमा ५ हजार उनको खर्च भयो । घरभित्र रहेको खाद्यान्न वर्षा र हावाले कामै नलाग्ने भएको उनले बताए । ‘खाद्यान्न उधारो किनेर खान लागेका छौं,’ उनले भने । हावाहुरीका दिन घरमा रहेका २ छोरी र १ छोरासहित पत्नी कलापतिले खाटमुनि लुकेर ज्यान जोगाए ।

उनी त्यसबेला दिनभर बजारमा रिक्सा चलाएर घर आउँदै थिए । बाटैमा उनले हावाहुरीले थिचेको थियो । रिक्सा चलाएर उनी परिवारको गुजारा चलाउँदै आएका छन् । उनका अनुसार हावाहुरीले बितण्डा मच्चाएको भोलीपल्ट बिहान सवेरै नेता, मन्त्री, नगरका मेयर, उपमेयर सांसद उनको बस्ती हेर्न आए । बस्तीमा सबैभन्दा धेरै क्षति भएकोले उनको घरमा पनि पुगे ।

उनी भन्छन्, ‘राहत र क्षतिपुर्ति आश्वासन बाडेर गएका थिए । अहिलेसम्म केहि पनि पाएका छैनौं ।’ पुरानो विमानस्थल छेउमा ५५ परिवार मुक्त कमैया बस्छन् । कच्ची घर भएका सबै मुक्त कमैयालाई हावाहुरीले बिचल्ली पारेको थियो । ‘हावाहुरी चलेको १५ दिन पुगि सकेको छ,’ बस्तीका अगुवा जगतराम चौधरीले भने, ‘क्षतिको बिवरण वडा, उप–महानगरपालिका प्रहरी, प्रशासन सबै ठाउँमा गएको छ । राहत भन्ने कुरो कतैबाट आइपुगेको छैन ।’ यहाँका सबै मुक्तकमैयाले आफ्नो घर आफ्नै खर्च जोरजामबाट मर्मत गरी बसेको उनले बताए ।

गएको जेठ २५ गते राति साढे ७ बजे आएको हावाहुरीले धनगढीको कमैया बस्तीसँगै जिल्लाभरका ८ हजार बढी घरमा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धनगढी बसपार्कमा बम्बो कटेज सञ्चालक हर्क नाथ पनि राहतको पखाईमा छन् । बसपार्कभित्रका ब्यवासायीले ९ हजार जुटाएर टिनको छानोमुनि उनको बास भएको छ ।

बाजुराको तिपडाबाट २ महिना ब्यवसाय गर्न भनि उनी परिवारसहित धनगढी आएका थिए । ४० हजारमा बसपार्कको एउटा रिक्त बम्वो कटेज किनेर रेस्टुरेन्ट संचालन गरिरहेका थिए । उनका अनुसार हुरीले टाउको टोपी उडाए जस्तै कटेजलाई सिंगैं उडाएर लगेको थियो । रेष्टुरेन्ट भित्रका भाडाकुडा, लुगाकपडा, सामान केही बाँकी नरहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले तथ्यांक संकलन र राहत वितरण स्थानिय तह अन्तर्गतका स्थानिय बिपद् ब्यवस्थापन समिति द्वारा भईरहेको बताए । हावाहुरीबाट मृत्यु भएका टिकापुरका लाहुन चौधरीलाई तत्काल जिल्ला दैवी प्रकोप समितिबाट १ लाख रुपैया सहयोग गरिएको प्रजिअ बोहराले बताए ।

प्रजिअ बोहराले तत्काललाई धनगढी उप महानगरमा बिपन्न र एकल महिलाका ११ घर निर्माण, ३ हजार ९ सय त्रिपाल लगायतका राहत समाग्री बितरण भएको बताए ।

प्रकाशित : असार ८, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?