घरमा हुने सुत्केरी शून्य घोषणा अभियान

स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई अन्डा, सरसफाइका सामग्री, कुखुरा उपहार स्वरुप दिने गरेका छन्
तृप्ति शाही

बैतडी — दोगडाकेदार गाउँपालिका घरमा हुने सुत्केरी शून्य पालिका घोषणाको अभियानमा लागिरहेको छ । पहिलेबाटै सुरु भएको यो कार्यक्रम स्थानीय सरकार आइसकेपछि तीव्र साथ अघि बढेको हो ।

घरमा हुने सुत्केरी शून्य घोषणा अभियान

अझै पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य–संस्थामा सुत्केरी हुन असहज मान्ने, स्वास्थ्य–संस्थामा सुत्केरी गराउन लैजाँदा बाटोमै भए फर्काएर घर लैजाने चलन रहेकाले घरमा हुने सुत्केरीलाई शून्यमा पुर्‍याउने अभियानलाइ प्राथमिकता दिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।


यस्तै पुरुषको तुलनामा महिला शारिरीक रुपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास अगाडि सारेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । ‘मसँगै निर्वाचितत भएका सबै साथीहरूले सुरुबाटै यो कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘हामी हाम्रा दिदीबहिनी, छोरी, बुहारीको स्वास्थ्यप्रति सजग छौं । त्यसैले घरमा हुने सुत्केरी शून्य वडा घोषणाको काममा लागेका छौ ।’ पालिकाका २ वडालाई घरमा सुत्केरी शून्य वडा घोषणा गरेर सकिएको बताए । उनले भने , ‘केही समयमै यो अभियान अरु वडामा पनि बिस्तार गर्नेछौ । पालिकालाई २ वर्षमा घरमा सुत्केरी हुने चलन शून्यमा पुर्‍याउने छौं ।’


यस्तै शुक्रबार मात्र पालिकाको वडा ५ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको छ । वडाभरका सबै गर्भवतीले गएको २ वर्षयता स्वास्थ्य संस्थामै आएर सुरक्षित बच्चा जन्माएकाले वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको हो ।


केही समय अघिबाटै सुत्केरी शून्य वडा घोषणाको तयारीका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो । २ वर्षमा वडाका सबै गर्भवती कति छन् ? खोजी गरि सबै स्वास्थ्य–संस्थामा आएर सुत्केरी भएपछि घोषणा कार्यक्रम गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।


आर्थिक वर्ष ०७४/७५ मा वडाका सबै ५९ गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको न्वाली स्वास्थ्य चौकीका इन्चार्ज मोहनदेव भट्टले बताए । जसमा ४९ जना न्वालीमा र १० अन्य विभिन्न स्वास्थ्य संस्थामै सुत्केरी भएका तथ्यांक रहेको उनले बताए । यस्तै चालु आवमा ४६ गर्भवती पनि स्वास्थ्य संस्थामै सुत्केरी हुन पुगेका उनले बताए । सबैको साथ र सहयोगबाट यो सम्भव भएको उनले बताए ।


यसअघि वडा ४ श्रीकेदारमा घरमा हुने सुत्केरी शून्य वडा घोषणा भईसकेको न्वाली स्वास्थ्यचौकीका अहेव नैनसिंह गोयलाले जानकारी दिए । साथै वडा ८ कटौजपानीलाई यहि असार १३ गते घोषणा गर्ने तयारी रहेको उनले बताए । गर्भवती आमाहरूले सरकारको प्रोटोकलअनुसार ४ पटक गर्भजाँच गरेको, टीटी खोप लगाएको, नियमित आइरन चक्की खाएको र स्वास्थ्य संस्थामै आएर स्वास्थ्यकर्मीहरूले सुत्केरी गराएका लगायत पूर्ण संस्थागत सुत्केरीका मापदण्ड पूरा गरेकाले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उनको भनाई छ ।


अहिलेसम्म जिल्लाका विभिन्न पालिकाका १३ वटा वडालाई सुत्केरी शून्य वडा घोषणा गरिएको स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले बताईन् । उनले भनिन्,‘ केही वडालाई पहिलेनै घोषणा गरिसकिएको थियो । केहि स्थानीय सरकार आइसकेपछि भए । यसप्रति जनप्रतिनीधीहरू निकै सक्रियताका साथ लागिरहनुभएको छ । हामीलाई पनि काम गर्ने हौसला मिलीरहेको छ ।’


अन्य सबै पालिका र जिल्लालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि विभिन्न जनचेतचनामूलक कार्यक्रमसँंगै सहयोगहरू पनि गरिरहेको उनले बताईन् । स्थानीय सरकारले यसको लागि गर्भवती र सुत्केरी महिलाहरूलाई अन्डा, सरसफाईका सामग्रीहरू, कुखुराहरू उपहार स्वरुप दिने गरेको उनले बताईन् । उनका अनुसार सबै पालिकाले यो अभियानको आरम्भ गरेका छन् ।


दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले स्वास्थ्यको प्रोटोकलअनुसार जाँच गराउने गर्भवती र सुत्केरीलाई अन्डा, सरसफाईका सामग्रीहरू, आयोडिन नुन, तरकारीको बीउविजन दिने गरिएको बताईन् । गाउँपालिकाभरि यो कार्यको सुरुवात भएको उनको भनाई छ । यसले घरमा हुने सुत्केरी शून्य पालिका घोषणा गर्नमा सहयोग पुग्ने विश्वास उनले गरिन् ।

प्रकाशित : असार ८, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?