२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कालाजग्रामा भ्यु–टावर

बाजुरा — बडीमालिका नगरपालिका ७ मा रहेको कालाजग्रामा भ्यु–टावर निर्माण थालिएको छ । टाइगर हिलका नामले चिनिने कालाजग्रा सदरमुकाम नजिकैको आकर्षक पर्यटकिय गन्तव्य पनि हो । 

पोरखे लेकसँग जोडिएको कालाजग्राबाट बाजुरा, कर्णाली क्षेत्र, अछाम, दैलेख, सुर्खेत र बडिमालिकाका हरियाली फाँट अवलोकन गर्न सकिन्छ । हिउँदका ४ महिना हिउँले ढपक्क हुने कालाजग्राको चुचुरोमा पुगेर प्राकृतिक सुन्दरताको आनन्द लिने पनि उत्तिकै छन् ।


यहीं व्यवस्थित पूर्वाधार निर्माण गरी पर्यटकलाई मनोरञ्जन दिलाउन भ्यु टावर योजना अघि बढाइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । ‘चुचुरोबाट अवलोकन गर्न सकिने प्राकृतिक सुन्दरताले आगन्तुकलाई मुग्ध गर्न सकोस् भने भ्यु टावरको योजना अघि बढाएका हौं,’ उनले भने ।


कालाजग्राको फेदीमा गुफाताल छ । चट्टानभित्र रहेको गुफा र गुफाभित्र रहेको तालमाथि देवीको मन्दिर छ । त्यहाँ पुग्ने पर्यटकलाई अनौठो लाग्ने गुफा र मन्दिरमा परापूर्वकालदेखि पुजा गर्ने चलन रहेको कालाजग्रा संरक्षण समिति अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताए । यहाँ एउटा मन्दिर पनि छ । वर्षको एक दिन यहाँका बासिन्दा त्यहाँ पुगेर पूजा गर्ने अध्यक्ष रोकाया बताउँछन् । जिल्लाकै अग्लो त्रिशुल पनि यहीं छ ।


ऐतिहासिक गढीका रुपमा रहेको पोरखेबाट करिब डेढ घण्टा उकालोपछि कालाजग्रा पुग्न सकिन्छ । यही बाटो भएर बुढिनन्दा क्षेत्र तथा गौमुल आसपास र बडीमालिकाबाट चितुवाहरू ओहोरदोहोर गर्ने बाटो भएकाले यो पहाड टाइगर हिलका नामले पनि चिनिन्छ । कालाजग्राको बीचमा बाघको आकृति भएकाले पनि टाइगर हिल नाम रहन गएको अध्यक्ष रोकाया बताउँछन् । कालाजग्रा जाने बाटो पोरखे गढीमा चौबिसे राज्य भएको बेला जुम्ली महाराजले निर्माण गरेको दरबारको भग्नावशेष अहिले पनि छँदै छ ।


घना जंगल, बडिमालिकापछिकै उचाइमा रहेको यो क्षेत्रमा दुर्लभ चीर कालिज, डाँफे, घोरल, मृगहरूसमेत पाइने गरेको स्थानीय बलबहादुर रोकायाले बताए । यसअघि ढम्कने गाउँबाट पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । भ्यु टावर निर्माणका लागि प्रदेश सरकारबाट योजना प्राप्त भएको वडाध्यक्ष पाध्याय बताउँछन् ।


‘पर्यटन मन्त्रालयबाट ९ लाखको योजना आएको छ । योजना निर्माण गर्न ८० लाख आवश्यक पर्ने डिपिआर बनेको छ,’ संरक्षण समिति अध्यक्ष रोकायाले भने, ‘आवश्यक पर्ने स्रोत जुटाउन स्थानीय तहलगायत विभिन्न निकायमा पहल गरिरहेका छौ ।’


पछिल्लो समय भने पोरखेसम्म सडक यातायात विस्तार भइसकेकाले कालाजग्रा जान सहज हुँदै गएको छ । यहाँको पर्यटकीय सम्भावना उजागर गर्न स्थानीय तहले पनि विभिन्न कार्यक्रम सुरु गरेको जनाएको छ । यसअघि ‘गन्तव्य पोरखे’ अभियान सञ्चालन गरेको बडिमालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।

प्रकाशित : असार ९, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?