१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अध्यक्षले मनपरी गर्दा गाउँसभा बहिष्कार

बझाङ — आर्थिक वर्ष ०७६/७७ का लागि योजना बाँडफाँड गर्दा गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै वडाध्यक्षहरूले गाउँसभा बैठक बहिष्कार गरेका छन् । खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले जनताको आवश्यकताभन्दा पनि आफ्नो चाहनाअनुसार बजेट वितरण गरेको भन्दै सबै वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् ।

आगामी आवका लागि विनियोजन भएको पुँजीगत ९ करोड ८२ लाखमध्ये ७ वटा वडाबाट माग भई आएका योजनाका लागि प्रतिवडा ३० लाखका दरले २ करोड १० लाख विनियोजन गरेको र बाँकी ७ करोड ७२ लाख आफ्नै मनोमानीले वितरण गरेको वडाध्यक्षहरूको आरोप छ । ‘स्थानीय सरकार सञ्चालन ऐन र नीति विधिले निर्देशित गरेअनुसार गाउँपालिका चल्नुपर्ने हो । यसको कुनै पालना नभएर व्यक्तिको आदेशका भरमा चल्न थालेपछि हामीले विरोध गरेका हौं,’ वडा ६ का अध्यक्ष तिलकबहादुर खडकाले भने, ‘वडास्तरबाट माग भई आएका जनताका आवश्कतामा आधारित योजना सम्बोधन नहुने भएपछि हामीले गाउँसभा बहिष्कार गरेका हौं ।’ उनले गाउँसभा बैठक बोलाउँदासमेत आफूहरूसँग सल्लाह नगरिएको बताए ।


योजना बाँडफाँड गर्ने विषयमा अघिल्ला वर्षमा पनि अध्यक्षले मनोमानी गर्दै आएको र अति भएपछि गाउँसभा नै बहिष्कार गर्नुपरेको वडाध्यक्षहरूको गुनासो छ । ‘आफ्नै वडामा हालिएका योजनाबारे हामीलाई थाहा हुँदैन । एकैपटक उपभोक्ता समिति वनाएर वडामा सिफारिस माग्न आएपछि मात्र योजना परेको रहेछ भनेर थाहा पाउछौं,’ वडा २ का अध्यक्ष डबलबहादुर सिंहले भने, ‘न कार्यपालिकामा यो विषयमा निर्णय हुन्छ । न अरू बैठकहरूमा छलफल हुन्छ । आफ्नै मनोमानीले योजना वितरण हुने गरेका छन ।’


गाउँ कार्यपालिका बैठकमा समेत आफ्ना विचार राख्न नदिने, आफुलाई मन लागेको व्यक्तिलाई मात्र बोल्न दिने र कुनै पनि विषयमा छलफल नगरीकन दवावका भरमा निर्णय गर्ने प्रवृत्ति हावी हुँदै गएको वडाध्यक्षहरूको भनाइ छ । ‘जनताका समस्याबारे कहिल्यै छलफल हुँदैन । हामी जनप्रतिनिधिहरूलाई रबर स्ट्याम्प जस्तै बनाइएको छ,’ एक वडाध्यक्षले भने, ‘आफू मात्र जनप्रतिनिधि हुँ । मैले जे भन्यो त्यही लागू हुनुपर्छ भन्ने दम्भ अध्यक्षको छ । हामीले जनताका समस्याको विषयमा छलफलै गर्न पाएका छैनौं ।’


यता खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाले गाउँसभामा आफुले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्न खोजेको तर बजेटको बाँडफाँड नगरिसकेकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताए । उनले भने, ‘त्यो दिन नीतिमा छलफल गर्ने कार्यक्रम मात्र थियो बजेटको कुरै थिएन । विषयगत शिर्षकमा बजेट छुट्याएर बाँकी रहेको सबै मिलेर बाँडौं भनेकै छु । उहाँहरूको चाहाना के हो ? बुझ्नै सकिएन ।’

प्रकाशित : असार १०, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?