२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पुस्तौंदेखि मागेरै गुजारा

बाजुरा — बुढीनन्दा नगरपालिका ५ की बुची दमाई ७० वर्ष पुगिन् । अहिले पनि उनी बिहानै जसको घरको धुरीबाट धुँवा निस्किएको देख्छिन्, उतै लाग्छिन् ।

उनलाई कसैले केही खानेकुरा दिएर गर्जो टारिदिन्छन् । कोही उनलाई वास्ता पनि गर्दैनन् । केही पाउने आशामा उनी हरेक दिन गाउँलेसामु पछ्यौरी फिँजाउँछिन् । उनका पति धेरै वर्षअघि नै बितिसके । २ छोरा, १ छोरीलाई निकै कष्टपूर्ण हुर्काइन् । ७० वर्षको उमेर पुग्दासम्म खुट्टामा जुत्ता–चप्पल कस्तो हुन्छ अनुभव गर्न पाएकी छैनन् । धेरै मिहिनेतले बुढीनन्दा ५ मा सानो झुपडी बनाइन् ।


जहाँ अहिले उनको परिवार बस्छ । उनको परिवारले त्यो घर बनाउने जमिनको बदलामा साहुको काम गर्नुपर्छ । ‘जग्गा दिने साहुको सानो देखि ठुलो काम हामी आफै गर्छौं । तैपनि बेला–बेला आएर हामीलाई गाली गरिराख्छन्,’ उनका छोरा रंगले भने ।


उनले अरुको घरमा माग्दै तीनै छोराछोरीको विवाह गरिन् । जेठा छोरा जयलालका ३ छोराछोरी छन् । ३ वर्ष क्यान्सर रोगबाट थला परेर जयलाल पनि बिते । अब बुहारी, नाति–नातिनीको बोझ पनि उनीमाथि थपियो । उनी साँझ–बिहान अरूको घरमा माग्न जान्थिन् । पहिले–पहिले त सबैले सहयोग गरे तर दिनानुदिन यस्तै प्रक्रिया दोहोरिएपछि अहिले सहयोग गर्ने घटेका छन् । ‘दिनप्रतिदिन गाउँ सबै आफूदेखि वाक्क भए,’ बुचीले भनिन्, ‘त्यसपछि आफैंले सानो–तिनो काम गरी जीवन चलाउन थालें,’ उनले भनिन् ।


अहिले उनको घरमा छोराछोरी बुहारी नातिनातिनीलगायत ११ जनाको परिवार छ । उनका छोरा–छोरी पनि मागेरै जीवीकोपार्जन गरिरहेका छन् ।


दमाईंको पुर्ख्यौली पेसा लुगा सिलाउने हो । उनका पति छोराछोरी सानै छँदा बितिसकेकाले सीप पुस्तान्तरण हुन पाएन । कहिले काँही १/२ माना चामलको आशले उनका छोरा रंग जानी/नजानी लुगा सिलाउने गर्छन् । लुगा सिलाएको मानाले त्यति ठूलो परिवारलाई नपुग्ने भएकाले आफुले ज्याला मजदुरीको काम गर्नुपर्छ । नातिनातिनीलाई स्कुल पठाउन, झोला र पोसाकका लागि केही गैरसरकारी संस्थाले सहयोग गरेको उनले बताइन् ।

प्रकाशित : असार १०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?