कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी आयातमा कडाइ

वाणिज्य विभागले विषादीको परीक्षण प्रमाणपत्रमा खानयोग्य भएपछि मात्रै भित्रिन दिन भन्सार कार्यालयमा पत्राचार गरेको छ ।
भवानी भट्ट

कञ्चनपुर — भारतबाट हुने तरकारी तथा फलफूल आयातमा कडाइ गरिएको छ । अत्यधिक मात्रामा हुने विषादीको प्रयोगका कारण सीमा नाकामा तरकारी र फलफूल आयातमा कडाइ गरिएको हो । 

वाणिज्य विभागले विषादीको परीक्षण प्रमाणपत्रमा खानयोग्य भएपछि मात्रै भित्रिन दिने भन्सार कार्यालयमा पत्राचार गरेको छ । यही कारण ३ दिनदेखि भारतबाट आयात भइरहेको तरकारी र फलफूल रोकिएको हो । विगतमा आँखाले हेरेर मात्रै रोग कीरा नभएको भन्ने प्लान्ट क्वारेन्टाइन कार्यालयको लिखितपत्रकै आधारमा भन्सार शुल्क लिइने गरिन्थ्यो ।


तर अब विषादी परीक्षणपछि मात्रै भित्रिन पाउने भएको छ । ‘सबै नाकाबाट तरकारी आयात बन्द भएको छ,’ कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद पोखरेलले भने, ‘वाणिज्य विभागको निर्देशनअनुसार शुक्रबारदेखि बन्द भएको हो ।’ उनले विषादी परीक्षण कहाँ गरिएको हुनुपर्ने भन्ने विषयमा भने पत्रमा कुनै कुरा उल्लेख नभएको बताए ।


गतवर्ष कैलालीको अत्तरियास्थित ल्याबमा गरिएको परीक्षणअनुसार भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा अत्यधिक भएको पाइएको थियो । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका प्रमुख गजाधर जोशीका अनुसार तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादी भएमात्रै खानयोग्य मानिन्छ । त्यसभन्दा माथि विषादी भए ५ वा ७ दिनपछि मात्रै खानयोग्य हुने उनले बताए ।


‘हामीले रोग कीरामात्रै हेर्ने हो, विषादी परीक्षण गर्ने यहाँ कुनै उपकरण छैन,’ जोशीले भने, ‘यहाँ तरकारी रोकिएको छ, तर के कति कारणले रोकिएको हो भन्ने जानकारी छैन ।’ प्लान्ट क्वारेन्टाइन कार्यालयको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै एक वर्षमा ५० करोड बढीको तरकारी तथा फलफूल आयात हुने गरेको छ । आलुमात्रै २५ करोडको आयात हुने गरेको छ ।


विषादी ल्याब अत्तरियामा छ । ३५ प्रतिशत कम देखिए खानयोग्य मानिन्छ । त्यसभन्दा माथि भए ५ वा ७ दिनसम्म पर्खनुपर्ने हुन्छ । गतवर्ष गरिएको परीक्षणमा भारतबाट आयात भएको तरकारीमा ५० प्रतिशत बढी विषादी भेटिएको थियो । कञ्चनपुर भन्सार कार्यालयका अनुसार असारयता मात्रै भारतबाट ५५ ट्रक तरकारी र फलफूल आयात भएको छ । प्रतिट्रक ६ देखि ८ टनसम्म ढुवानी हुने गरेको छ । अझ साइकल र मोटरसाइकलमा पनि ठूलो मात्रामा आयात हुने गरेको छ ।


यसअघि फागुनदेखि माछा तथा माछाजन्य पदार्थ आयातमा पनि कडाइ गरिएको छ । भारतकै क्वारेन्टाइन कार्यालयको स्वच्छता र स्वस्थताको प्रमाणपत्र बिना आयात हुन नदिने संसदीय समितिको निर्देशनपछि माछा आयातमा कडाइ गरिएको हो । पछिल्लो पटक केही व्यवसायीले दिल्लीबाट उक्त प्रमाणपत्र बनाएर आयात भइरहे पनि विगतको तुलनामा निकै कम भएको छ ।


आवश्यक प्रक्रिया पुर्‍याएर मात्रै पनि आयात हुन दिने हो भने विभिन्न किसिमका रोग कीरा र विषादीयुक्त तरकारीको प्रयोगबाट जोगिने स्थानीय बताउँछन् । यसले स्थानीय उत्पादनले पनि बजार पाउने र कृषकलाई उत्साहित बनाउने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : असार १०, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?