कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हुलाकी सडक निर्माणमा एसएसबीको अवरोध

भवानी भट्ट

कञ्चनपुर — हुलाकी सडकअन्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८, पचुईमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्‍याएको छ । निर्माण भईरहेको क्षेत्र सीमामा पर्ने भन्दै एसएसबीले जेठ अन्तिमदेखि अवरोध पुर्‍याएको हो । 

कञ्चनपुरमा हुलाकी सडकको जिरो प्वाइन्ट डोकेबजारदेखि २८/२९ किमिमा पर्ने पचुई क्षेत्रमा ७७७/१ देखि ७७८/६ सम्मका सीमास्तम्भ हराएका छन् । एसएसबीले हराएका सीमास्तम्भ हुलाकी सडकमै पर्ने भन्दै अवरोध गरेको हो । ‘पुरानो चलनचल्तीको बाटो त्यही हो, हुलाकी सडकको डीपीआर पनि त्यही ठाउँमा भएको छ,’ हुलाकी सडक आयोजना कार्यालयका इन्जिनियर पदम मडैले भने, ‘पछिल्लोपटक सर्भे टोलीले उक्त ठाउँ सीमामा पर्ने देखाएको भन्दै एसएसबीले काम रोक्न भनेको छ ।’


इन्जिनियर मडैका अनुसार एसएसबीले जेठ अन्तिमदेखि काममा अवरोध गरेको छ । बेलौरी नगरपालिकाअन्तरगत बुटाबारीदेखि बेल्डाँडीसम्म २० किलोमिटर सडक बाबाहंश सिद्धिशाही निर्माण कम्पनीले निर्माण गरिरहेको छ । एसएसबीको अवरोधपछि पचुई क्षेत्रबाहेक अन्य ठाउँमा काम भइरहेको छ ।


एसएसबीले काम रोक्ने विषयमा कुनै लिखित जानकारी नगराए पनि निर्माणस्थलमै आएर तत्काल काम नगर्न भनेको हो ।

उत्तर प्रदेशको पिलिभित जिल्ला स्थित ४९ बटालियनका कमान्डेन्ट एसएस राउत आफैं निर्माण क्षेत्रमा आएका थिए । उनले सर्भे टोली नआउँदा सम्म काम नगर्न भनेका हुन् । दुवैतर्फका सुरक्षाकर्मी बसेर तत्काल काम नगर्ने मौखिक कुराकानी भएको थियो ।


कञ्चनपुरमो हुलाकी सडकको काम ३ चरणमा भईरहेको छ । पहिलो चरणमा डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २० किलोमिटर, दोस्रो चरणमा बुटाबारीदेखि बेल्डाँडी गाउँपालिकासम्म २० किलोमिटर र तेस्रो बेल्डाँडीदेखि दैजीसम्म २२ किलोमिटर गरि फरक फरक निर्माण कम्पनीले काम गरिरहेको छ ।


पहिलो र तेस्रो चरणको ठेक्का शर्मा राजेन्द्र जेभीले पाएको छ । आगामी भदौसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि चैतसम्म म्याद थप भएको छ ।


पहिलोका लागि ३५ करोड र दोस्रोका लागि ४० करोडमा ठेक्का सम्झौता भएको हो । २०७३ देखि काम सुरु भए पनि हालसम्म ३५/४० प्रतिशत मात्रै काम भएको छ । एसएसबीले अवरोध गरेको दोस्रो चरणको सडक निर्माणका लागि बाबाहंश सिद्धिशाहीसंँग ४१ करोडमा ठेक्का सम्झौता भएको हो । ०७६ भदौमै काम सकिनुपर्ने भएपनि हालसम्म ५५ प्रतिशत मात्रै काम भएको इन्जिनियर मडैले बताए ।

प्रकाशित : असार ११, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?