कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोखर तालको गुरुयोजना तयार

धनगढी — धनगढी उपमहानगरपालिका ७ मा रहेको जोखर ताललाई पर्यटकीय गन्तव्य बनाउन गुरु योजना तयार भएको छ । परामर्शदाता रेडिको प्रालि काठमाडौंले तयार पारेको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदनमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा जोखर ताललाई विकास गर्न सकिने बताएको छ ।

पहिलो चरणमा केही पूर्वाधार निर्माणका लागि २४ करोडको अनुमानित बजेटको आवश्यकता औंल्याइएको छ ।


गुरुयोजनामा जोखर तालको आकासे पुल (साँघुरो ठाउँमा झोलुंगे पुल), चिल्ड्रन पार्क, पार्किङ स्थल, स्थानीय कला र संस्कृति देखाउन संग्रहालय, धर्मशाला र तालको उत्तरतर्फ शिव मन्दिरको प्रस्ताव गरिएको छ । तालको दुईतिर प्रवेश र निकास द्वार तथा मेला स्थल र पिकनिक स्थलको निर्माण गरिनुपर्ने कुरा पनि गुरुयोजनामा उल्लेख गरिएको छ ।


जोखर तालसंँगैको मुरफट्टा र मुरफट्टीलाई जोडेर पदमार्ग, त्यसको छेउमा साइकल ट्र्याक र पद मार्गको एक छेउ कुखुराको भाले र अर्को छेउ पोथीको मूर्ति बनाउने प्रस्ताव गरिएको छ । तालको सुधार गरी पर्यटकका लागि डुंगा सञ्चालनको व्यवस्था मिलाउन सकिने छ । पर्यटकलाई आकर्षण गर्न तालमा गोही र कछुवालगायत जलचर पनि ठाउँ छुट्याएर राख्न सकिने भनिएको छ ।


प्रस्ताव गरिएका संरचनामा २४ करोडभन्दा बढी बजेटको आवश्यकता पर्ने परामर्शदाता कम्पनीले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । केही संरचना निर्माण गर्न त्यहाँ रहेका रुखहरू पनि हटाउनुपर्ने देखिन्छ । जोखर ताल परिसरभित्र गुरुयोजनामा नसमेटिएका चिडियाघर, प्रदर्शनी स्थलको आवश्यकता पनि धनगढीमा आयोजित छलफल कार्यक्रममा चर्चा भएको छ ।


जोखर ताल धनगढीको मुख्य बजार क्षेत्रबाट साढे ४ किलोमिटर दूरीमा छ । यो जंगलमा करिब १ सय ५० हेक्टर क्षेत्रफलमा रहेको छ । ताल मात्रै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यससंँगैको अर्को मुरफट्टा २ हेक्टर र मुरफट्टी डेढ हेक्टर क्षेत्रफलमा रहेको छ । जोखर ताल सिमसार क्षेत्रभित्र सरकारले देवहरिया वनस्पति उद्यान स्थापना गरेको छ ।


अहिले पनि देवहरिया उद्यान र जोखर ताल धनगढीमा आन्तरिक पर्यटक गन्तव्य स्थल बन्दै गएका छन् । सहरिया जीवनबाट थकित नगरवासी जोखर तालमा फुर्सद मिलाएर जाने र रमाउने गरेका छन् । देवहरिया वनस्पति उद्यानमा १ सय १६ प्रकारका वनस्पति रहेका छन् । स्थानीय भखिराम चौधरीका अनुसार कुनै समय यो ठाउँमा जाख र जखनी नामका पतिपत्नी बस्ने गर्दथे ।


उनीहरूले सुनको कुखुरा पाल्नका लागि खोर बनाएका थिए । त्यसबेला कसैले जा र खोरमा भनेकाले पछि त्यही शब्दले तालको नाम जोखर रहेको स्थानीयवासीको किंवदन्ती रहेको छ । स्थानीय आदिवासी राना थारूको भाषामा जा भनेको जाउ र खोर भनेको घर हो ।

प्रकाशित : असार १२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?