नीति तथा कार्यक्रम र बजेट : लोकप्रिय नाराको खोजी

मोहन शाही, संगीता तिमिल्सेना 

डोटी र बाजुरा — स्थानीय तहलाई यतिबेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न भ्याइनभ्याइ छ । धेरैजसोले लोकप्रिय नारामा केही नयाँ कार्यक्रम ल्याउने प्रयत्नमा लागिरहेका छन् । 

दलितको बाहुल्यता रहेको डोटीको केआईसिंह गाउँपालिकाले दलितसँग अध्यक्ष कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत स्वरोजगार, सीपमूलक तालिम, प्राविधिक शिक्षा, परम्परागत संस्कृति संरक्षण, राहत तथा सहयोगका गतिविधि चलाइने उपाध्यक्ष मीना बिष्टले बताइन् ।

उनले महिलासँग उपाध्यक्ष, कृषकलाई कृषि औजारको खरिदमा अनुदान, ५ लाई नमुना विद्यालय बनाउने बताइन् । दिपायल सिलगढी नगरपालिकाले भने आगामी आर्थिक वर्षलाई ‘पानी वर्ष’ का रूपमा मनाउने निर्णय गरेको छ । खानेपानीको हाहाकार भइरहने दिपायल सिलगढी नगरपालिकाका पिपल्ला, राजपुर, तिखा, बाफी, लडागडालगायत गाउँमा आगामी आर्थिक वर्षभित्रै घरघरमा पानी पुर्‍याउने योजना रहेको नगरप्रमुख मञ्जु मलासीले बताइन् ।

उनले नगरको पहिलो प्राथमिकतामा खानेपानीलाई राखेको बताइन् । त्यससँगै विवाह नगरी एकल बसेकालाई ५० वर्षपछि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यक्रमसमेत नगरले पारित गरेको छ । नगरपालिकाका उपप्रमुख शिवराज खडकाले कुल ४३ करोड ७ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

बडीकेदार गाउँपालिकाले विद्यार्थीसम्म कम्प्युटर शिक्षा पुर्‍याउने योजना अघि बढाएको छ । त्यसका लागि सबै विद्यालयमा कम्प्युटर र शिक्षकको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विशेष जोड दिएको बडीकेदारले शिक्षालाई दोस्रो प्राथमिकतामा राखेको उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताइन् ।

पूर्वीचौकी गाउँपालिकाले शिक्षा र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेको छ । छाउपडी प्रथाले जकेडिएको पूर्वीचौकी गाउँपालिकाले आगामी आर्थिक वर्षमा त्यसविरुद्ध विभिन्न सचेतनात्मक कार्यक्रम अघि बढाउने अध्यक्ष दीर्घ बोगटीले बताए । उनले टुहुरा, एकल, बेसहारा बालबालिकाको शिक्षामा सहयोग गर्न छात्रवृत्ति कोषसमेत स्थापना गर्ने जानकारी दिए । पूर्वीचौकी गाउँपालिकाले अनुमानित ३८ करोड १९ लाख ४७ हजारका बजेट ल्याएको छ ।

बोगटान गाउँपालिकाले कृषिसँगै भौतिक पूर्वाधार निर्माणलाई जोड दिने गरी नीति ल्याएको गाउँपालिका अध्यक्ष कमल गडसलाले बताए । उज्यालो गाउँ बनाउने अभियानलाई समेत गाउँपालिकाले निरन्तरता दिएको छ । त्यस्तै जोरायल गाउँपालिकाले ५ वर्षभित्र उज्यालो गाउँपालिका बनाउने घोषणा गरेको छ ।

अर्थतन्त्रलाई उत्पादनमुखी र रोजगारी प्रवर्द्धक बनाउन कृषि, पशुपालन तथा लघु, साना, घरेलु र मझौला उद्योगलाई विशेष प्राथमिकता दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले अध्यक्ष विशेष कृषि विकास कार्यक्रम अघि बढाउने नीति प्रस्तुत गरेकी थिइन् । जोरायलले ३९ करोड ६९ लाख ५२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

बाजुरामा गर्भवतीलाई 'सुत्क्यारो भाँडो’
सदरमुकाम रहेको बाजुराको बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गर्भवतीलाई उपप्रमुखको ‘सुत्क्यारो भाँडो’ कार्यक्रम लागू गर्ने भएको छ । गतवर्ष ल्याइएको महिलासँग उपप्रमुख कार्यक्रम प्रभावकारी भएको दाबी गर्दै आगामी वर्ष नगरभित्रका गर्भवती महिलालाई स्वास्थ्य जाँच गराई सकेपछि उपप्रमुखद्वारा ‘सुत्क्यारो भाँडो’ भनेर एउटा भाँडो प्रदान गरिने उपप्रमुख विष्टले बताइन् ।

गर्भवती महिलाले नियमित गर्भजाँच गर्न प्रोत्साहन गर्न तथा आमा र शिशु दुवैको स्वास्थ्य सुधार गर्न कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले बताइन् । साथै उनले नगरका विपन्न तथा असहाय महिलाका लागि व्यक्तिगत १ लाख बराबरको अक्षयकोषसमेत स्थापना गरेकी छन् । बडिमािलकाले ३३ करोड १२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित : असार १२, २०७६ ०९:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आलुमा आत्मनिर्भर बन्दै ब्याँस

कान्तिपुर संवाददाता

दार्चुला — हिमाली भेगको ब्याँस गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । विगतदेखि नै आलु उत्पादन हुँदै आएको ब्याँस गाउँपालिकाभरि आधुनिक तरिकाले खेती गरी आत्मनिर्भर बनाइन लागेको हो ।

आगामी आर्थिक वर्षबाट अझै आलु उत्पादनलाई बढावा दिन ‘एक वडा एक उत्पादन क्षेत्र’ तथा पकेट क्षेत्र विस्तार गर्ने नीति अगाडि सारिएको छ । अब हुने गाउँसभाले गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षमै कृषि पाठशाला सञ्चालन र माटो परीक्षण गरिएको कृषि शाखा संयोजक घनश्याम खत्रीले बताए ।

‘ब्याँस गाउँपालिकाभरि आलु उत्पादनका लागि माटो र हावापानी उपयुक्त छ,’ उनले भने, ‘परम्परागत रूपमा यहाँका सबै ठाउँमा आलु उत्पादन हुँदै आएको छ । व्यावसायिकभन्दा मौसमी रूपमा आफ्नै घरमा खानका लागि मात्र उत्पादन गरिन्थ्यो ।’ यहाँका स्थानीय आधुनिक किसिमले आलु उत्पादन गर्न अग्रसर भएका छन् ।

ब्याँस गाउँपालिकाको छाङरु, बुदी, दोपखे, दुम्लिङ्, राप्ला, सिना, तोसरपानी, माल, सुन्सेरा, डोकट, नाजी, स्याकु, आईपानी, छुरपानी, पानीखाल, हुतीलगायतका क्षेत्रमा परम्परागत रूपमा आलु उत्पादन हुँदै आएको छ । सामान्यतया यहाँका सबै बस्तीमा खानका लागि उत्पादन हुन्छ । केही ठाउँमा व्यावसायिक रूपमा आलु उत्पादन हुँदै आएको छ ।

वडा–३ को सिना र वडा– ५ को चन्द्राकोटमा आलु पकेट क्षेत्र विस्तार गरिने खत्रीले जानकारी दिए । ‘साविकको जिल्ला कृषि विकास कार्यालयले चन्द्राकोट र सिनामा आलु भण्डारण केन्द्र निर्माण भएको छ,’ कृषि शाखा संयोजक खत्रीले भने ।

प्रकाशित : असार १२, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT