१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढिला रोपाइँ सुरु

गत वर्ष वैशाख १५ तिरबाटै सुरु भएको रोपाइँ यो वर्ष भने जेठ १५ पछि मात्र सुरु भएको हो
तृप्ति शाही

बैतडी — बैतडीमा यो वर्षको रोपाइँ सुरु भएको छ । गत वर्ष केही पहिलेबाट थालिएको रोपाइँ यो वर्ष समयमै पानी नपर्दा ढिलो गरी सुरु भएको हो । केही दिनअघिबाट मात्र किसानले रोपाइँ गर्न थालेका हुन् । 

ढिला रोपाइँ सुरु

यहाँका किसान आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । नदी किनारका बस्तीमा कुलोबाट सिँचाइ हुने हुँदा केही ठाउँमा रोपाइँ सकिन थालेको छ ।


सुर्नया गाउँपालिकाका विभिन्न ठाउँमा रोपाइँ गर्न थालिएको स्थानीय मञ्जु भट्टले बताइन् । खोलानालाको पानी लाग्ने खेतको रोपाइँ लगभग सकिन लागेको उनले बताइन् । आकाशे पानीको भर पर्नुपर्नेहरू भने केही दिनयता मात्रै रोपाइँ सुरु गर्न लागेका छन् । मानो रोपेर मुरी फलाउने समय भएकाले किसान भने कामको चटारोमा रहेको उनको भनाइ छ ।


गत वर्ष वैशाख १५ तिरबाटै सुरु भएको रोपाइँ यो वर्ष भने जेठ १५ पछि मात्र सुरु भएको हो । अहिलेसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको अनुमान गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गएको वर्ष यतिबेला २५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको ज्ञानकेन्द्रले जनाएको छ । ढिलो गरी रोपाइँ सुरु भएकाले धान उत्पादनमा पनि कमी आउने आकलन गरिएको केन्द्रका निमित्त प्रमुख कर्ण चन्दले बताए । समयमै वर्षा नहुँदा किसान चिन्तामा रहेको उनको भनाइ थियो ।


जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । दशरथचन्द नगरपालिकाको सेरा, पाटन नगरपालिकाको पाटन फाँट, सिगास गाउँपालिकाको ढुंगाड र डिलासैनी गाउँपालिकाका फाँट धान खेतीको पकेट क्षेत्रका रूपमा चिनिने गरेका छन् । जिल्लामा खुमल, पन्त ४, सावित्रीलगायतका उन्नत जातका करिब ६० प्रकारका धान उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत प्रकाश भट्टले बताए । ‘सबैले एउटै जातको बीउ प्रयोग गर्छन् भन्ने छैन । फरकफरक बीउ प्रयोग गर्ने गर्छन्,’ उनले भने, ‘किसानले आफूहरूको खेतमा उत्पादन हेरेर बीउ प्रयोग गर्दै आएका छन् ।’


गत वर्षभन्दा अघिल्लो वर्ष १६ हजार ४ सय टन धान उत्पादन भएको बैतडीमा गत वर्ष १६ हजार टन उत्पादन भएको बागवानी अधिकृत भट्टले बताए । यो वर्ष उत्पादनमा अझै ह्रास आउने अनुमान रहेको उनको भनाइ छ । यसले खेतीकै भरमा रहेका किसानलाई हातमुख जोर्नमा सकस पुग्ने छ ।


नदी र खोलानालाको पानीले सिँचाइ हुने भूभागमा रोपाइँ गरेर सकिन लागेको भए पनि पानी अभाव हुने स्थानमा बल्ल सुरु हुने तरखर हुँदै छ । कहींकतै अझै पनि सुरसार भएको छैन । पाटन नगरपालिकाको वडा नम्बर ६ को पाटन फाँटको एक भागमा रोपाइँ गरिसकिसकेको छ भने अर्को भागमा धानका बेर्ना नै रोप्ने भइसकेका छैनन् ।


जनप्रतिनिधि पनि कृषकसंँगै धान रोप्दै

स्थानीय तहका जनप्रतिनिधि पनि कृषकसंँगै रोपाइँ गर्न थालेका छन् । विभिन्न कामले गाउँघर जाने गरेका उनीहरू असारे चटारोमा रहेका किसानसंँगै खेतमा धान रोप्दै गरेका देखिन्छन् । केही दिनअघि अनुगमनमा जाँदा रोपाइँ गरेको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला विष्टले बताइन् ।


आफूहरू पनि खेतीपाती गरेरै हुर्के/बढेको भन्दै उनले दिदीबहीनीसंँग काम गर्दा उनीहरूलाई हौसला मिल्ने र रमाइलो हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘हामी सबै साथमा छौं भन्ने सन्देश दिनलाई पनि म गाउँघरमा पसेपछि जनतासँंग काम गर्ने, खाने र बस्ने गर्छु ।’

प्रकाशित : असार १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?