कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेशसभा लगातार अवरुद्ध, बजेटमाथिको छलफल सुरु भएन

अर्जुन शाह

धनगढी — आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको विरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठकमा अवरोध जारी राखेका छन् । प्रतिपक्षीको अवरोधकै कारण बजेटमाथिको छलफल भने सुरु हुन सकेको छैन । 

प्रदेशसभा लगातार अवरुद्ध, बजेटमाथिको छलफल सुरु भएन

संसदको बैठक सुरु हुनेबित्तिकै बिहीबार कांग्रेस र राजपाका सासंदहरूले संयुक्त रूपमा रोस्टमअघि पुगेर नाराबाजी गरेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरे ।


सरकारले ल्याएको बजेट अपारदर्शी र आसेपासेलाई पोस्ने प्रकृतिको रहेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा चल्न दिएका छैनन् । खुद्रे योजनाहरू रहेको, योजना मन्त्रीकै वरिपरि केन्द्रित रहेको, ठूला र गौरवका योजनालाई महत्त्व नदिइएको विपक्षीहरूको आरोप छ । उनीहरूले बजेटमा संशोधन हुनुपर्ने माग गर्दै आएका छन् । संसद भवनमै उनीहरूले रातो किताब जलाएपछि सरकार र प्रतिपक्षी दलबीचको सम्बन्ध खल्बलिएको हो । त्यसैमा सत्तारूढ दलकै सांसदहरू पनि बजेटको विरोधमा उत्रिएपछि सरकार चेपुवामा परेको देखिएको छ ।


यसअघि ३ पटक संसद स्थगित भइसकेको छ । बैठक सञ्चालन गराउन सरकारले प्रतिपक्षी दलसँग वार्ता गरिरहेको बताए पनि सहमतिको संकेत देखिएको छैन । ‘सरकार बजेटमा व्यापक संशोधन गर्न सहमत भएपछि मात्रै संसद चल्छ,’ प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘झुलाएर निकास निस्किन्न ।’


आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सरकारका तर्फबाट प्रतिपक्षी दलहरूसँग वार्ता गरिरहेको रावलको भनाइ छ । उनीहरूबीच बुधबार भएको छलफल निष्कर्षबिनै टुंगिएको थियो । प्रतिपक्षी दलका तर्फबाट वार्ताको नेतृत्व गरेका कांग्रेस सांसद कर्णबहादुर मल्लले आफूहरूले उठाएका एजेन्डामा सरकार गम्भीर नभएकाले निष्कर्षमा पुग्न नसकिएको बताए ।


सभामुख थापाले बिहीबारको बैठक सुरु भएको जानकारी गराउनासाथ प्रतिपक्षी सांसदहरूले रोस्टमअघि चर्का नाराबाजी गरेका थिए । त्यसपछि सभामुख थापाले बैठक आइबारसम्मका लागि स्थगित गरे । आर्थिक ममिला तथा योजनामन्त्री बोहराले आउँदो बैठकसम्म प्रतिपक्षी दलहरूसित सहमति हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो ।

प्रकाशित : असार १३, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?