१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कुपोषण घट्दै

सहरी क्षेत्रका महिलामा मोटोपनाको दर बढ्दै गएको छ भने ग्रामीण क्षेत्रमा दुब्लोपनाको अवस्था बढ्दै छ
मेनुका ढुंगाना

अछाम — जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा पोषणको अवस्था सुध्रिएको छ । यहाँ सञ्चालित विभिन्न कार्यक्रम तथा अभियानले कारण पोषणको अवस्था विगतको तुलनामा सुधारिएको हो । 

कुपोषण घट्दै

पोषणको अवस्थामा आएको सुधारबारे एकिन तथ्यांक नभए पनि स्वास्थ्य संस्थामा आउने बालबालिकाको समग्र अवस्था हेर्दा कुपोषणको अवस्था सुध्रिँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका डा. मनोज विष्टले बताए । ‘समग्र देशकै अवस्था हेर्ने हो भने पोषणको अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘पछिल्लो अवधिमा देशमै सुधार देखिएको छ ।’


जिल्लामा युनिसेफले सन् २०१२ मा साबिकका ३५ गाविसमा गरेको सर्वेक्षणअनुसार पुड्कोपना ४७ प्रतिशत, ख्याउटेपना ९ प्रतिशत र कमतौल ३२ प्रतिशत रहेको तथ्यांक थियो । पछिल्लो समय पोषणको अवस्था सुधारका लागि थुप्रै गतिविधि गरिए पनि सर्वेक्षण हुन नसकेकाले सुधारको एकिन तथ्यांक आइसकेको छैन । तर सहरी क्षेत्रका महिलामा मोटोपनाको दर बढ्दै गएको छ भने ग्रामीण क्षेत्रमा दुब्लोपनाको अवस्था बढ्दै गएको छ ।


कार्यालयका अनुसार नेपालमा सन् २०१५ मा पुड्कोपना प्रति हजारमा ४१ जना रहेकोमा यो संख्या सन् २०१६ मा ३६ मा झरेको छ । यस्तै ख्याउटेपना प्रति हजारमा ११ जना रहेकोमा १० तथा कम तौलको प्रति हजारमा २९ रहेकोमा २७ जनामा झरेको तथ्यांकले पनि कुपोषणको दर घट्दो क्रममा छ ।


यस्तै राष्ट्रिय पोषण नीति र रणनीति, राष्ट्रिय स्वास्थ्य नीति, बहुक्षेत्रीय पोषण योजना २०६९, बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षासम्बन्धी रणनीति २०७२ लागू भएका भएका छन् । यी नीति स्थानीय स्तरसम्म कार्यान्वयन चरणमा रहेकाले पोषणको अवस्थामा सुधार देखिएको कार्यालयले जनाएको छ ।


‘पोषण अवस्था सन् २०१६’ का अनुसार नेपालमा कुपोषणको दर ३५ दशमलव ८ प्रतिशत रहेको पाइएको छ । समग्रमा नेपालमा महिला ३६ प्रतिशत छन् भने परुष ३५ दशमलव ७ प्रतिशत कुपोषित छन् । यस्तै ग्रामीण क्षेत्रमा ४० प्रतिशतमा कुपोषण छ । सहरी क्षेत्रमा ३२ दशमलव २ प्रतिशतमा कुपोषण रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।


यस्तै हिमाली क्षेत्रमा ४६ दशमलव ८, तराई क्षेत्रमा ३६ दशमलव ७ र पहाडी क्षेत्रमा ३२ दशमलव ७ प्रतिशतमा कुपोषण रहेको तथ्यांक छ । तराई क्षेत्रमा कृषि उत्पादन तथा अन्य सेवा सुविधा राम्रो हुने भए पनि कुपोषण दर भने पहाडको भन्दा उच्च देखिएको छ ।


कुपोषितको यो अवस्था विगतभन्दा केही घट्दो क्रममा रहेको डा. विष्ट बताउँछन् । ‘खाने व्यवहारमा सुधार आएको, स्वास्थ्य संस्थामा सेवा लिनेको संख्यामा वृद्धि भएको, कुपोषणका कारण हुने असर र बेफाइदाबारे जनस्तरसम्म जानकारी भइसकेकाले कुपोषणको दर घटेको हो,’ मातृ बाल तथा पोषण र स्वास्थ्य परियोजनाका फिल्ड सुपरभाइजर रञ्जना अधिकारीले भनिन्, ‘विभिन्न अभियान तथा कार्यक्रमको प्रभावले हो ।’ नियमित पोषणसम्बन्धी कार्यक्रम गरिरहेकाले गर्भवती सम्मान कार्यक्रमले पनि पोषणमा सुधार ल्याएको उनको भनाइ छ ।


आमाले सन्तानको ख्याल गर्न थालेपछि कुपोषित बालबालिकाको संख्या घट्दै गइरहेको पञ्चदेवल विनायक ३ की सारा विष्ट बताउँछिन् । ‘बच्चाको स्वास्थ्य अवस्था कस्तो भन्नेमा आमाले ख्याल गर्ने तरिकामा भर पर्छ । अहिले दुर्गम गाउँमा आमाहरू आफ्नो छोराछोरीको खानपिन र स्वास्थ्यमा ख्याल राख्ने भएका छन्,’ उनले भनिन्, ‘पहिले घरैपिच्छे कुपोषित बालबालिका हुन्थे । अहिले

कतै देखिँदैनन् ।’


उनका अनुसार विकट मानिने बारला, कालेकाँडालगायत गाउँका महिला पनि बच्चालाई कुपोषण हुन नदिन पटकपटक स्वास्थ्यकर्मीको सल्लाह लिने गरेका छन् । अपर्याप्त खाना, घरायसी खाद्य असुरक्षा, अपर्याप्त स्याहार तथा खुवाउने अभ्यास नहुनु, घरको वातावरण तथा स्वास्थ्य सेवाको कमी, विभिन्न रोगको संक्रमण आदिले कुपोषण भई मान्छेको ज्यान जाने मुख्य कारण रहेकामा अहिले यो दर घटेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : असार १३, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?