कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सुदूरपश्चिम प्रदेशसभा : अझै फुकेन गाँठो

अर्जुन शाह

धनगढी — प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलहरूको असन्तुष्टि र प्रदेशसभा बैठकमा निरन्तर अवरोधपछि बल्झिएको गाँठो अझै फुक्न सकेको छैन  । आइतबारको बैठकमा विपक्षी दलका सबै सांसद अनुपस्थित भएपछि बैठकको कारबाही अघि बढ्न नसकेर स्थगित भयो  ।

सरकार र प्रतिपक्षी दलबीच असमझदारी सुल्झाउन निरन्तर बैठक तथा छलफल चलिरहेका छन् । तर, आइतबारसम्म उनीहरू निष्कर्षमा पुग्न नसकेकै कारण बैठक चल्न सकेन । निरन्तर अवरुद्ध हुँदै आएको बैठकमा आइतबार पनि यसअघि नै निर्धारण गरिएको आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रस्तुत बजेटमाथि मन्तव्यसहित छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची थियो ।

यसै क्रममा आइतबार पनि दुबै पक्षबीच मुख्यमन्त्री कार्यालयमा लामै समय छलफल चलेको थियो । छलफल सकारात्मक भए पनि केही बाँकी रहेकाले सोमबार पुनः वार्ता गर्ने सहमति भएको थियो । यसैबीच आइतबारका लागि डाकिएको प्रदेशसभा बैठक स्थगित गर्न दुवै पक्ष राजी भएर मुख्यमन्त्रीले सभामुखलाई अनुरोध गर्ने सल्लाह भएपछि निरन्तर अवरुद्ध गर्दै आएका प्रतिपक्षी सांसद आ–आफ्नो बाटो लागेका थिए । तर, उता सभामुख अर्जुनबहादुर थापाले संसद निर्धारित समयमै सुरु गरेपछि प्रतिपक्षी पुनः बिच्किएका छन् ।

‘हामीसँगको वार्तामा एक भन्ने, काम अर्कै गर्ने ?’ कांग्रेस सांसद तथा वार्ता टोली संयोजक कर्ण मल्लले भने, ‘सत्तापक्षमै दुई धार देखियो । एकथरी पेलेरै लैजानुपर्ने मानसिकतामा रहेको बुझियो ।’ वार्तारत दुवै पक्षबीच प्रदेशसभा बैठक स्थगित गर्ने सहमति भए पनि सभामुख थापाले बैठक रोकेनन् ।


अघिल्लै दिन निर्धारित बैठकको तालिकाअनुसार सत्तारुढ दलका सांसदहरू प्रदेशसभामा पुगे । तर वार्तामा सहभागी विपक्षी सांसदहरूले आफ्ना सांसदहरूलाई बैठक नबस्ने जानकारी प्रवाह गरे । संसदमा प्रतिपक्षी दलका सांसदको कुर्सी रित्तो भयो । निर्धारित समयमै कारबाही सुरु गरेका सभामुख थापाले केही छिनमै प्रतिपक्षी सांसदहरूको अनुपस्थिति भएकाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।


लिखित नभए पनि सभा सञ्चालनका लागि एकजना मात्रै भए पनि मन्त्री र एकजना मात्रै भए पनि प्रतिपक्षी दलको सांसद उपस्थित हुनैपर्ने संसदीय अभ्यास रहेको सभामुख थापा बताउँछन् । बाहिरपट्टि सांसदहरूबीच वार्तारत दुवै पक्षले बैठक स्थगनका लागि अनुरोध गर्दागर्दै सभामुखले बैठक सञ्चालन गर्नुको कारणबारे उनीहरूबीच आपसमा टिकाटिप्पणी भए ।


सभामुख थापाले आफूलाई सरकार पक्षबाट बैठक स्थगनका लागि समयमै खबर नआएकाले बैठक सञ्चालन गर्नुपरेको बताए । ‘सांसदहरू हाजिरी लगाएर सभाकक्षभित्र पसिसकेपछि नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बैठक स्थगित गर्ने अनुरोध गर्ने जानकारी गराउनुभएको हो,’ सभामुख थापाले भने, ‘बैठक सुरु गर्नु १ घण्टाअगाडि मात्रै बैठक स्थगित गर्ने नियम हुन्छ । उहाँले ५ मिनेट अगाडि भन्नुभएकाले बैठक रोक्न सक्ने अवस्था नरहेको हो ।’ प्रदेशसभा सञ्चालन नियमावलीले आफूलाई बैठक सञ्चालन हुनु १ घण्टा अगाडि स्थगित गर्न सक्ने र आधा घण्टा पर धकेल्न सक्ने अधिकार दिएको उनले बताए ।


प्रस्तुत बजेटमा देखिएको उल्झन सुल्झाउन सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा सक्रिय छन् । प्रतिपक्षीबाट कर्ण मल्लको संयोजकत्वमा राजपाका सांसद कृष्ण चौधरीसहितको टोलीले वार्ता गरिरहेको छ । मल्लका अनुसार सरकार केही कुरामा बजेट संसोधन गर्न तयार भएको छ ।


‘टुक्रे योजनाहरू नराख्न, पश्चिम सेती अघि बढाउन, गौरवका योनजामा बजेट बढाउन आफूहरूले राख्दै आएको मागमा सरकार सकारात्मक रहेको बताएको छ,’ सांसद मल्लले भने । सरकारले आगामी वर्षका लागि २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा अर्थ विविध शीर्षकमा ६ अर्ब ५१ करोड डल्लो बजेट राखिएकोमा विपक्षी दल मात्रै हैन, सत्तारुढकै सांसदहरू पनि रुष्ट छन् । अर्कोतिर सांसदहरू आफूहरूले सिफारिस गरेका अधिकांश योजना बजेटमा नपरेको भन्दै चित्त दुखाएका छन् । दुवै पक्षका कतिपय सांसदहरूले सार्वजनिक रूपमै केही विकासे मन्त्रीहरूहरूले बदनियतले योजनाहरू तय गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : असार १६, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?