कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सत्तारूढकै सांसदले मागे बजेट संशोधन

नेकपाका ३९ सांसदमध्ये २५ जनाले हस्ताक्षरसहित मुख्यमन्त्रीलाई पत्र बुझाए 
अर्जुन शाह

धनगढी — आफ्नै दलका दुई तिहाइ सांसदले लिखित रूपमै बजेट संशोधनको माग गरेपछि सुदूरपश्चिम प्रदेश सरकार अप्ठेरोमा परेको छ । नेकपाका २५ सांसदले हस्ताक्षरसहितको पत्र सोमबार मुख्यमन्त्रीलाई बुझाएका हुन् । ‘पार्टीको प्रदेश कमिटीलाई पनि बोधार्थ दिएका छौं,’ एक सांसदले भने । 

सत्तारूढकै सांसदले मागे बजेट संशोधन

सुदूरपश्चिममा नेकपाको सरकार छ । दुई तिहाइ बहुमत छ । सभामुख, उपसभामुख र ८ जना मन्त्रीसहित ३९ जना पार्टीकै सांसद छन् । यसअघि कांग्रेस र राजपाका सांसदले मात्रै बजेट संशोधनका लागि सरकारलाई दबाब सिर्जना गर्दै आएका थिए । बजेट प्रस्तुत भएकै दिनदेखि प्रदेशसभा बैठक बस्न नसकेर बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।


हस्ताक्षर गर्ने सांसदहरूले बजेट असन्तुलित भएको, यथार्थपरकभन्दा जनस्तरमा विवादित योजनाहरूमा बजेट पारिएको, सांसदहरूको सुझावलाई लत्याइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले भौतिक मन्त्रालयतर्फ असन्तुलित र न्यून बजेट परेका निर्वाचन क्षेत्रहरूमा आवश्यकताअनुसार व्यवस्था गर्न, यथार्थपरक नभएका र जनस्तरमा गुनासो आएका योजना कार्यान्वयन नगर्न भनेका छन् । प्रमुख सचेतक तारा लामा तामाङ र सचेतक अक्कलबहादुर रावलको अगुवाइमा हस्ताक्षर संकलन भएको एक सांसदले बताए । तर तामाङले केही बताउन चाहेनन् ।


आफ्नै दलका सांसदको लिखित रुष्टता मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको थप टाउको दुखाइ बनेको छ । त्यसअघि सांसदले बजेट असन्तुलित रहेको भन्दै गरिरहेको टिप्पणीलाई सरकारले वास्ता गरेको थिएन । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सोमबार एक सार्वजनिक कार्यक्रममै बजेट पहुँचका आधारमा विनियोजन भएको संकेत गरेका थिए । स्रोतका अनुसार मन्त्रीहरूबीच पनि बजेटबारे समझदारी छैन ।


यता प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाको विरोधका कारण प्रदेशसभा बैठक हालसम्म बस्न सकेको छैन । सरकार र प्रतिपक्षबीच वार्ता चलिरहे पनि निष्कर्षमा पुगेको छैन । प्रतिपक्षले समावेश गर्नुपर्ने योजनाको बेग्लै सूची पेस गरेका छन् । उनीहरूबीच कुरा नमिलेकाले मंगलबारको बैठक पनि सारिएको छ । सरकार र विपक्षी दलबीचको वार्ता मंगलबारसम्म टुंगोमा पुग्न सक्ने वार्तामा संलग्न कांग्रेस सांसद भरत खडकाले बताएका थिए । तर नेकपाकै सांसद बजेटविरुद्ध खनिएपछि कांग्रेस र राजपासँगको वार्ता ओझेलमा परेको सांसद दुर्गा विकले बताइन् ।


कांग्रेस र राजपाले बजेटमा संसोधन गरी आफूहरूले प्रस्ताव गरेका योजना समावेश गर्न सरकार लचिलो हुँदै गएर सहमतिनजिक पुग्नै लागेका बेला घटनाले नयाँ मोड लिएको सांसद खडकाले बताए । ‘त्यही पनि आशा गरौं, अहिलेसम्म वार्ता सकारात्मक बाटोमा हिँडेको महसुस गरेका छौं,’ उनले भने ।

प्रकाशित : असार १७, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?