२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आमालाई कोसेली

बैतडी — दशरथचन्द नगरपालिकाको वडा १० कार्यालयले हजार दिने आमालाई कोसेली बाँडेको छ । 

वडाभरिका ५० आमालाई अन्डा, आयोडिन युक्त नुन र साबुनलगायत सफाइका सामग्रीससहितको कोसेली दिइएको वडासचिव गणेशदत्त भट्टले बताए ।

हजारदिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन कोसेली वितरण गरिएको हो । सुआहारा नामक संस्थाको प्राविधिक सहयोगमा कोसेली वितरण गरिएको बताउँदै उनले भने, ‘३० हजार खर्च जुटाएर हजारदिने आमालाई कोसेली उपलब्ध गराएका हौं । यो कार्यक्रमबाट आमा र बच्चाको स्वास्थ्यमा फाइदा हुने विश्वास लिएका छौं ।’


आफ्नो वडाभित्रका बालबालिकामा कुपोषण देखिएकाले कोसेली दिने कार्यक्रम राखिएको वडाध्यक्ष गगनसिंह विष्टले बताए । आमा र बच्चाको ख्याल गर्न आमा र अभिभावकको ध्यान बढोस् भन्ने पनि उद्देश्य रहेको उनको भनाइ छ ।

वडाभित्रका बालबालिकामा कहिलेकाहीँ कडा खालको कुपोषण देखिने गरेको भए पनि संख्या भने धेरै नभएको उनको भनाइ छ । कोसेली वितरणले पोषणको अवस्थामा अझ सुधार हुने उनको विश्वास छ ।


कोसेली पाएपछि आमाहरू खुसी भएका छन् । ‘उपहारसँगै बच्चाको स्वास्थ्यमा गर्नुपर्ने ख्यालबारे पनि धेरै जानकारी भएको छ,’ हजार दिनकी आमा राजमती विष्टले भनिन्, ‘घरपरिवारका सदस्यहरूमा पनि बच्चाहरूको स्वास्थ्यप्रति सचेतना बढेको छ । पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने ज्ञान भएको छ ।’ नगरपालिकाभर यस्ता प्रकारका आमा र बच्चाको स्वास्थ्यमा फाइदा पुग्ने कार्य गरिरहेको नगर उप–प्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, ‘सबै टोलमा विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । कुनैमा कुखुरा दिएका छौं, कतै अन्डा, आयोडिनयुक्त नुन, सफाइका सामग्रीहरू वितरण गरिरहेका छौं ।’


नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा पनि सुत्केरी आमालाई थप २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको उप–प्रमुख चन्दले बताइन् । उनले सुत्केरी भएका बेला आमाहरूलाई विभेद गर्ने चलन अझै कायम रहेकाले यस्ता चलन अन्त्य गर्न सहयोगका कार्यक्रम गरिरहेको बताइन् । गर्भ रहेदेखि २ वर्षको अवधिमा शिशुको ८० प्रतिशत मानसिक विकास हुने भएकाले उक्त अवधिमा बच्चाको विशेष ख्याल गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए ।


प्रकाशित : असार १९, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?