१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वन्यजन्तु पीडितले पाएनन् सुविधा

कञ्चनपुर — भीमदत्त नगरपालिका १९ बाग्फाटाका छौंडा रानालाई आँगनमै बसेका बेला चितुवाले आक्रमण गर्‍यो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको चितुवाको आक्रमणबाट उनी घाइते भए । उनलाई तत्काल महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याइयो । यहाँ निको नभएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइयो । केहि दिनको उपचारपछि उनी सञ्चो भए । 

उपचारपछि राना निको त भए, तर उपचारका क्रममा लागेको खर्च अझै तिर्न सकेका छैनन् । राहतका लागि निकुञ्ज कार्यालयमा निवेदन पनि दिए । हालसम्म उनले राहत पाउन सकेका छैनन् । ‘बाह्र/तेह्र हजार जति खर्च भएको थियो, अझै तिर्नै बाँकी छ,’ छौंडाका छिमेकी जयराम रानाले भने, ‘रिनदान गरेर उपचार गरेको, अब केले तिर्नु ।’


छौंडा जस्तै वन्यजन्तुबाट खेतीबाली, घर तथा अन्य भौतिक र मानवीय क्षति भएका धेरैले राहत रकम पाउन सकेका छैनन । करिब २ सय फायलहरू तत्कालिन क्षेत्रिय वन निर्देशनालयमै हराएका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका पीडितले राहत रकम पाउन नसकेका हुन् । २०७५ कार्तिकसम्म वन्यजन्तु राहत निर्देशिकाअनुसार पीडित परिवारलाई निकुञ्ज वा वन कार्यालयको सिफारिसमा क्षेत्रिय वन निर्देशनालयबाट राहत रकम निकासा हुने गर्थ्यो । मध्यवर्ती क्षेत्रका थुप्रै फायलहरू निकुञ्ज कार्यालयले पनि क्षेत्रिय वन निर्देशनालयमा पठाएको थियो । अहिले निर्देशिका फेरिएर निकुञ्जले नै राहत दिने भएको छ ।


तर क्षेत्रिय वन निर्देशनालयमा पठाइएको २ सय फायल हराएर राहत रकम नै फ्रिज हुने अवस्था आएको शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंहले बताए । ‘दुई सय जति फायल हराएका छन्, पैसा आएर निकुञ्जमा थन्किएको छ, तर वालीनाली क्षति भएका, शारिरीक र भौतिक क्षति भएकाहरू राहतबाट बञ्चित भएका छन्,’ अध्यक्ष सिंहले भने, ‘पीडितहरू अधिकांस विपन्न छन्, कतिपयले ऋण निकालेर उपचार गरेका छन् उनीहरू उक्त रकम कहाँबाट तिर्छन ? ।’


क्षेत्रिय वन निर्देशनालय प्रदेश वन निर्देशनालयमा फेरिएसँगै उक्त ठाउँमा प्रदेश वन मन्त्रालयको कार्यालय राख्दा फायलहरू हराएको हुनसक्ने अनुमान गरिएको छ । निकुञ्ज कार्यालयले पनि फायल ल्याउँदा गणना नै नगरी ल्याएको देखिन्छ । ‘धेरै समय फायलहरू निर्देशनालयमै रहे, अहिले उक्त कार्यालय नै नरहँदा खोजी गर्न सकिने अवस्था पनि छैन,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले भने, ‘हामीहरू राहत वितरणका लागि प्रयास गरिरहेका छौं ।’


प्रमुख संरक्षण अधिकृत पौड्यालले उपभोक्ता समितिको निर्णयहरूका आधारमा विभागबाट स्विकृति लिएर राहत वितरणको प्रयास गरिने बताए । उनकाअनुसार राहतका लागि ११ लाख रकम आएको छ । उक्त रकम फ्रिज नहुने खातामा राखिएको उनले बताए ।

प्रकाशित : असार २४, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?